स्वास्थ्य

सुर्खेतमा फैलँदै आँखा पाक्ने रोग

इकागज |
साउन १८, २०८० बिहीबार १५:२६ बजे

सुर्खेत- सुर्खेत लगायत कर्णालीका अन्य जिल्लाहरूमा ‘भाइरल फ्लू’ आँखा पाक्ने रोग तीव्र रूपमा फैलिँदै गएको छ । स्वास्थ्य संस्थामा उपचारमा आउने अधिकांश बिरामीहरू आँखा पाक्ने समस्या लिएर आउने गरेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।

पछिल्लो समय स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीहरूमा आँखा पाक्ने समस्या देखिएको उत्तरगंगा स्वास्थ्य चौकीमा कार्यरत अहेव जमुना भण्डारीले बताइन् । यसरी आँखा पाक्ने समस्या बालबालिकामा बढी देखिने गरेको भण्डारीले जानकारी दिइन् । स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनकाे भनाइ छ ।


'यो रोग धेरै जस्तो बालबालिकामा देखा परेको छ,’ उनले भनिन्, ‘सङ्क्रमणको सुरुआतमा आँखा बिझाउने र चिलाउने, आँखा रातो हुने, आँखामा कचेरा लाग्नुका साथै आँसु आउनु, घाममा हेर्न अप्ठेरो हुनु, आँखाको ढकनी सुन्निनु, यस रोगको लक्षण रहेका छन् ।’

यता सुर्खेत आँखा अस्पतालमा आँखा पाकेका बिरामीको संख्या बढ्दै गएको नेत्र रोग विशेषज्ञ डा.आकांक्षा रानाले जानकारी दिइन् । धेरै जस्तो एउटै घरका परिवारमा यो रोगबाट सङ्क्रमित पाइएका उनले बताइन् ।

डा. रानाका अनुसार दैनिक तीन सयदेखि छ सयसम्म बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेका छन् । 'भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि रोग निको हुने उनको भनाइ छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत मात्र होइन रुकुम पश्चिममा पनि आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी बढ्न थालेको बताए । उनका अनुसार अहिले दैनिक रूपमा २२  जना आउने गरेका छन् ।


Author

थप समाचार
x