स्वास्थ्य

पोखरामा फैलियो आँखा पाक्ने रोग, विद्यालय तीन दिन बन्द

धनबहादुर गुरुङ |
साउन २२, २०८० सोमबार २१:३० बजे

पोखरा- पछिल्लो पोखरामा आँखा पाक्ने रोगका बिरामी बढ्न थालका छन् । हिमालय आँखा अस्पतालका अनुसार पछिल्लो हप्तामात्रै १ हजार ५ सय बढी आँखा पाक्ने रोगका बिरामी अस्पताल पुगेका छन् । आइतबार मात्र सो अस्पतालमा ९ सय भन्दा बढी आँखा पाक्ने रोगका बिरामी पुगेको अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् ।  

आँखा पाक्ने समस्या बच्चालाई बढी देखिएको अस्पतालका डाइरेक्टर डा. श्रेष्ठले बताइन् । यो हप्ता अस्पताल पुगेका १ हजार ५ सय बिरामी मध्ये ९ सय भन्दा बढी बच्चा रहेको उनले सुनाइन् । ‘अहिले देशभर नै आँखा पाक्ने रोग फैलिरहेको छ,' श्रेष्ठले भनिन्, ‘पछिल्लो एक हप्तामा पोखरामा पन्ध्र सय भन्दा बढीले आँखा पाक्ने रोगको उपचार गराएका छन् । यसले प्रकोप फैलिएको देखिएको छ ।’


यो रोग जटिल नभए पनि सजग हुनुपर्ने डा. श्रेष्ठको भनाइ थियो । ‘खासै जटिल रोग नभए पनि एक हप्ता गाह्रो बनाउँछ,' उनले भनिन्, ‘यसले ज्योती नै गुम्छ भन्ने हुँदैन । यो निको हुन कम्तीमा १ हप्तादेखि २/३ हप्तासम्म समय लाग्छ ।’ यसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या हुन्छ ।

आँखा पाक्ने रोग बढी मात्रामा स्कुले विद्यार्थीमा देखिएपछि पोखरा महानगरले सजगता अपनाउन सुरु गरेको छ । यो रोगको प्रकोप देखिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालयहरू तीन दिन बन्द हुने भएका छन् । विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २४३ र सामुदायिक २०३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी जानकारी दिए । प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले सुनाए ।

उनका अनुसार पोखराका धेरै जसो विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ । पोखराका केही विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएपछि बन्द गरिसकिएको छ । ‘सोमबार हामीले १ हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयका शिक्षकहरूलाई बोलाएर सल्लाह गरेका थियौं,’ उनले भने, ‘सबैको राय बुधबार जनचेतनामूलक कार्यक्रम गर्ने र बिहीबारदेखि ३ दिन बन्द गर्ने निर्णय भयो । शनिबारसहित ४ दिन बिदा गर्दा कस्तो हुन्छ । यति गर्दा पनि फैलँदो क्रममा रह्यो भने अरु योजना बनाएर अघि बढ्ने भन्ने निर्णय भएको छ ।’

अहिले दिइएको तीन दिन बिदा अन्य बिदामा कटाउने गरी सहमति भएको उनले सुनाए । 


Author

थप समाचार
x