स्वास्थ्य

कालिकोटको सरुवा रोग अस्पताल सुर्खेत सार्ने योजनाविरुद्ध परेको रिटमा परमादेश जारी

इकागज |
साउन ३२, २०८० बिहीबार १२:५२ बजे

काठमाडौँ– कालिकोटको एकमात्रै सरुवा रोग अस्पताललाई सुर्खेत सार्ने कर्णाली प्रदेश सरकारको योजनाविरुद्ध उच्च अदालत जुम्लामा परेको रिटमा परमादेश जारी भएको छ । उच्च अदालत जुम्लाले १५ दिनभित्र लिखित जवाफ पेस गर्न कर्णाली सरकारका नाममा आदेश जारी गरेको हो । 

न्याय प्रशासन ऐन २०७३ को दफा ८ अन्तर्गत रहेर दर्ता गराइएको रिट निवेदनमाथि बुधबार न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासद्वारा जारी आदेशमा निवेदनमा माग भएअनुसार के कसो–भएको हो ? परमादेश जारी गर्नुपर्ने हो वा होइन ? आदेश जारी गर्नु नपर्ने भए आधार र प्रमाण के छ ? कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतमार्फत जवाफ दिन प्रदेश सरकार मन्त्रिपरिषदलाई भनिएको छ ।


अस्पताल सुर्खेतमा सार्ने योजनाविरुद्ध कालिकोटका स्थानीय युवा तथा अभियन्ता हिक्मतजंग मल्लले कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय र सामाजिक विकास मन्त्रालयलाई विपक्षी बनाएर मंगलबार उच्च अदालतमा रिट दर्ता गराएका थिए । अदालतले परमादेशले अपर कर्णालीका पाँचसहित सुदूरपश्चिमका अछाम र बाजुराका जनतालाई ठूलो राहत मिलेको उनले बताए । 

चे फोर्स नेपाल, कर्णाली प्रदेशका बिग्रेडियरसमेत रहेका मल्लले अस्पतालको बजेट कटौती गरेर अन्तै सार्ने सरकारको योजना अस्वाभाविक मात्र नभएर संविधानले ग्यारेन्टी गरेको स्वास्थ्यको हकविरुद्धसमेत रहेको बताउँदै आएका छन् । सरकारको उक्त योजना संघीयताको मर्मविपरीत रहेको पनि उनले जिकिर गरे । 

‘सुर्खेतमा अहिले नै जिल्लादेखि प्रदेश स्तरीयसम्मका अस्पताल छन् । कालिकोट जिल्लाकै एउटा मात्र सरुवा अस्पतालका रूपमा रहेको यो पनि उतै पनि सार्ने योजना बनाइएको छ,’ उनले इकाजगसँग भने, ‘सबै कुरा सुर्खेतमा बन्नुपर्ने कुरा त संघीयताको मर्मविपरीत हो ।’

अस्पताल नसार्न उनको अगुवाइमा कालिकोटमा हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो । 

यो मुद्दामा फैसला कालिकोटको पक्षमा आउने पनि उनले विश्वास लिएका छन् ।

 


Author

थप समाचार
x