स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्याे- पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी

इकागज |
कात्तिक १३, २०८० सोमबार २२:३ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङराेगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङराेगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताएका हुन् । उनका अनुसार बालबालिका, प्रजनन समूहका वयस्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ । सिसा एक प्रकारको रसायन हो, जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ । 


मानिसलाई आवश्यकताभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उनले बताए । रङराेगन (पेन्टर्स), सौन्दर्यका साधन (लिपिस्टिक, गाजल), रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधिमा समेत लेड (सिसा) पाइने गरेको उनले जानकारी दिए । लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ । 

सरकारले लेड (सिसा) को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह पनि मनाएको छ । सिसा बिजुलीको तेल, शृङ्गारका सामग्री घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ । यस्तै आयुर्वेदिक औषधि भन्दै झोल औषधिमा पनि बढी सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । 

लेड (सिसा) को विषले मानिसकाे मस्तिष्क, स्नायु र मानिसको व्यवहार असामान्य बनाउने गर्दछ । यसैगरी सिकाइ र सुनाइमा पनि मन्द विकास गराउँछ । सिसाको मात्रा शरीरमा बढी भएको अवस्थामा बच्चा र युवालाई पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत हुने, रक्त अल्पता हुने, झनक्क रिसाउने, मिर्गौला बिग्रने, एकान्त बस्ने जस्ता लक्षण देखिने गर्दछ । 

विश्व स्वास्थ्य सङ्गठनले मानव स्वास्थ्यका लागि १० विषाक्त रसायनमध्ये एक रसायन सिसा हो भनेको छ । सरकारले रङको मात्रा ९० पिपिभन्दा कम हुनुपर्दछ भनेर मापदण्ड बनाए पनि अनुगमन नहुँदा बढी मात्रामा सिसाको प्रयोग हुने गरेको पाइएकाे छ । रासस


Author

थप समाचार
x