स्वास्थ्य

किन बीपी प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिए ?

इकागज |
कात्तिक २०, २०८० सोमबार १४:२५ बजे

काठमाडौँ- तीन बुँदे सहमति भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत चिकित्सकहरू सोमबारबाट काममा फर्कने समेत सहमत भएका छन् ।

वृत्ति विकासको माग राख्दै आन्दोलनरत शिक्षकसँग प्रतिष्ठान पदाधिकारीको वार्तामा तीन बुँदे सहमति भएको छ ।


पदाधिकारी र चिकित्सकबीच भएको वार्तामा ०७२ पुस २० र ०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापन बमोजिम आवश्यक प्रक्रिया पुर्‍याई टुङ्ग्याउने सहमति भएको छ ।

यस्तै अन्तर्वार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तर्वार्ता आगामी ०८० पुस ०२ गतेदेखि सुरु गरी पुस १५ गते सम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।

वार्तामा दुवै विज्ञापनको एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा प्रतिष्ठान व्यवस्थापनले शिक्षक समाज, समाजको सदस्य र कुनै शिक्षकप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत सम्पूर्ण पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिदेखि स्थगन गरी आ-आफ्नो कार्यमा सहभागी हुने उल्लेख छ ।

सहमति पत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा, रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य ज्ञानेन्द्रबहादुर मल्ल र प्राडा स्मृति कार्कीले हस्ताक्षर गरेका छन् ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले सहमति कार्यान्वयन हुनु पर्ने बताए ।

प्रतिष्ठानमा विगत ७ वर्षदेखि शिक्षकको पदोन्नति हुन सकेको छैन भने कर्मचारी १५ वर्षदेखि पदोन्नति हुन सकेको छैन । वृत्ति विकास नभएको भन्दै दुई महिना अघि त्यहाँ कार्यरत १७७ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए ।

 


Author

थप समाचार
x