स्वास्थ्य

सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

इकागज |
मंसिर ७, २०८० बिहीबार २१:५७ बजे

सांकेतिक तस्बिर

खोटाङ- सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्ष दिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ । प्रतिष्ठानले गत शनिबार (मङ्सिर २ गते) देखि लागू हुने गरी विसं २०८१ मङ्सिर २ गतेसम्म नगरपालिकाका सबै पाठेघर खस्ने समस्या भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिने भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्विपक्षीय सम्झौता भएको छ । नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाको पहिचान गरेर अस्पतालसम्म पुर्याउने तथा अस्पतालमा लाग्ने परीक्षण, शल्यक्रिया, औषधि र खानाको व्यवस्था प्रतिष्ठानले गर्ने द्विपक्षीय सम्झौतापत्रमा उल्लेख छ । 


नगरपालिकाबाट पाठेघर खस्ने समस्या भएका ३७ महिलालाई शल्यक्रियाका लागि बनेपा पुर्याइएको मौकामा नगरपालिका र प्रतिष्ठानबीचमा पाठेघर खसेका महिलाको निःशुल्क उपचारका लागि नौ बुँदे सम्झौता गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए । पाठेघर खस्ने समस्या भएका एक जना बिरामीलाई जिल्ला बाहिर लगेर स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधोपचार, खाना र यातायात गरी ७० देखि ७५ हजार रुपैयाँ खर्च लाग्छ । 

'नगरपालिकाका तर्फबाट वडा वडामा पाठेघर खस्ने समस्याको पहिचानका लागि शिविर आयोजना गरेर पाठेघरसम्बन्धी समस्या पहिचान गर्ने, शल्यक्रियाका लागि अस्पताल जानेआउने क्रममा बिरामी र कुरुवालाई लाग्ने दोहोरो यातायात खर्च व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ,' उनले भने, 'प्रतिष्ठानका तर्फबाट शल्यक्रिया शुल्क, बिरामी भर्ना, ल्याब परीक्षण, औषधिलगायत अस्पतालको सम्पूर्ण खर्च व्यवस्था गर्ने, भर्ना भएका बिरामी र एक जना कुरुवालाई बिहान–बेलुकाको खानाबापतको खर्च दिने, आवश्यक प्राविधिक सल्लाह प्रदान गर्ने सम्झौता गरिएको छ ।'

नगरपालिकाले सिफारिस गरेका २० जना स्वास्थ्यकर्मीलाई अस्पतालले पाठेघर खस्ने समस्या पहिचानसम्बन्धी तालिम दिने, आगामी फागुन–चैतमा दिक्तेलमा आवश्यक उपकरणसहितका १५ जना विज्ञ टोली ल्याएर पाठेघर खस्ने समस्याको निःशुल्क परीक्षण गर्ने, कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोरीलाई पाठेघर खस्ने समस्याबाट जोगिन अपनाउनुपर्ने सावधानीको विषयमा प्रशिक्षित गराउने सम्झौता भएको छ । 

गत मङ्सिर २ गते नगरपालिकाबाट शिर मेमोरियल लगिएका पाठेघर खसेका ३७ बिरामीमध्ये १७ जनाको शल्यक्रिया भइसकेको छ । पाठेघर खस्ने समस्या भएका ६२ मध्ये ३७ जनामात्र अस्पताल जान तयार भएको  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिएका छन् । कतिपय बिरामीको शल्यक्रिया नगरी थेरापी गर्दा नै रोग निको हुने अस्पतालले जानकारी दिएको नगरपालिकाले जनाएको छ । कतिपयलाई भने श्वासप्रश्वास, फोक्सो, मुटु, उच्च रक्तचापलगायतको समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिए ।

दश स्थानीय तह रहेको जिल्लामा पाठेघर खस्ने समस्यालाई महिलाले लाज र सरम मानेर लुकाउने गरेको पाइएको छ । जिल्लामा यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । रासस


Author

थप समाचार
x