स्वास्थ्य

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गर्छौं : स्वास्थ्यमन्त्री

इकागज |
मंसिर ९, २०८० शनिबार १७:२३ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् ।

शनिबार काठमाडौँमा राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइ नहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन् । उनले  मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउँदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


मन्त्री बस्नेतले विपन्नको उपचार निःशुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यता अनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा प्रशंसा गरे । चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जानुपर्ने अवस्थालाई कम गर्न आफूले १०० देखि ३०० शय्यासम्मका अस्पतालले नर्सिङ र प्यारामेडिक्स तथा ३०० शय्याभन्दा माथिमा अस्पतालले एमविविएस र विशेषज्ञ चिकित्सकको पढाइ सञ्चालन गर्न पाउने गरी कानुन परिवर्तन गर्न पहल गरिरहेको उनले बताए ।

गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारले ओपिडी सेवा लिएको, १७ हजार ५०० ले आकस्मिक सेवा लिएको र ६ हजार ९०० मेजर अप्रेसन गरिएको जनाइएको छ । समारोहमा विभिन्न खेलकुदका विजयी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो भने ट्रमा सेन्टरका संस्थापक निर्देशक प्रा.डा.अशोकरत्न बज्राचार्य र पूर्व निर्देशक डा. प्रमोद उपाध्यायलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x