स्वास्थ्य

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण हुँदै

इकागज |
बैशाख २, २०८१ आइतबार २१:० बजे

काठमाडौँ- नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख २१ र २२ गते दुई दिन काठमाडौँमा हुँदैछ । सञ्चारकर्मीहरूको समूह त्रिकल प्रोडक्सनको आयोजनामा “स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’’ भन्ने नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा त्रिकाल प्रोडक्सनको आयोजनामा हुन लागेको सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामूहिक कार्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य लिइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्नेछ । यसका लागि स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं सरोकारवालाहरू, स्वास्थ्यकर्मीहरू र आम नागरिकलाई छलफलका लागि साझामञ्च प्रदान गर्नेछ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्र लगत्तै नेपालको जनस्वास्थ्यमा जलवायु परिवर्तनको असर,नेपालमा दिगो स्वास्थ्यको लागि जीवनशैलीको परिदृश्य र पुनर्मूल्यांकनको आवश्यकता कति र बहसमा नेपालको चिकित्सा शिक्षा गरी ३ वटा विषयमा विज्ञहरूसँग छलफल हुनेछन् । 'मेरो स्वास्थ्य मेरो अधिकार' भन्ने विश्व स्वास्थ्य सँगठनको यस वर्षको नारा अनुसारै सम्मेलनको दोस्रो दिन आम नागरिकको चासोको विषय स्वास्थ्य व्यवसाय वा सेवा, यस्तै सरकारले सबैको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको चुनौती र अवसरका विषयमा सम्मेलनमा छलफल हुनेछ । बढ्दो सूचना प्रविधि र स्वास्थ्य पर्यटनको अवसरका साथै नसर्ने रोग र क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्या एवं विपद्ले निम्त्याउने स्वास्थ्य चुनौतीसँगको लडाइँमा सेवाग्राहीको भोगाई एवं सरकारको नीति तथा योजनाका सम्बन्धमा विज्ञहरूबीच छलफल हुनेछ ।


प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा सुरु हुने उद्घाटन सत्रमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायदेखि आम चासोलाई समेट्ने सरकारी तथा गैरसरकारी निकायको सहभागिता रहने छ । सम्मेलनका अवसरमा  विभिन्न विषयगत छलफल र त्यसपश्चात उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसँग देशको स्वास्थ्य अवस्था र मन्त्रालयको योजनाका साथै सम्मेलनमा उठेका महत्वपूर्ण प्रश्नको जवाफसहितको अन्तर्वार्ता समेत हुनेछ ।

स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रूपमा सञ्चालित नेपाल स्वास्थ्य सम्मेलनले समाजका सबै क्षेत्रलाई एउटै मञ्चमा उभ्याउँदै प्रभावकारी बहस सञ्चालन गर्दै आएको छ । यसअघि कोभिड महामारिका बीच स्वास्थ्य सजगता अपनाउँदै त्रिकाल प्रोडक्सनले नेपाल स्वास्थ्य सम्मेलन २०२१, परिणाममुखी ढंगबाट सम्पन्न गरेको थियो ।  पृष्ठभूमि वा पेशा जस्तोसुकै भए पनि देशको स्वास्थ्य क्षेत्र सुधारका लागि प्रत्येक नेपालीको दायित्व र जिम्मेवारी अनुसार सम्मेलन स्वस्थ नेपालका लागि राष्ट्रिय आह्वानका रूपमा अगाडि बढ्ने विश्वास लिइएको छ ।

सम्मेलनबाट प्राप्त सुझावको प्रतिवेदन तयार गरी सरोकारवाला निकायहरूलाई पेस गरिनेछ । साथै स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ । नेपाल स्वास्थ्य सम्मेलनको पहिलो सँस्करण २०७७ साल चैत्रमा काठमाडौँमा सम्पन्न भएको थियो ।


Author

थप समाचार
x