स्वास्थ्य

'यस्तै भइरहे दुई महिनापछि नेपालमा कोभिड तेस्रो लहर आउँछ'

अतिन आचार्य |
साउन ४, २०७८ सोमबार ११:२ बजे

काठमाडौँ- यतिखेर मुलुकभरकै सबैभन्दा बढी भिड हुने ठाउँ कोभिड- १९ विरुद्धको खोप केन्द्र र बजारमा देखिन्छ । सबैलाई कोभिडविरुद्धको खोप लगाउन हत्तारो भएकाले र दैनिक आवश्यक सामाग्रीको आवश्यकताले पनि सर्वसाधारणलाई बजार जान बाध्य बनाएको छ । खोपप्रति मानिसको विश्वास यस कारण पनि छ खोपले कोभिडबाट सुरक्षित राख्छ ।

नेपालमा पछिल्लो समय कोभिडविरुद्धको खोप लगाउने कार्यले तीव्रतासमेत पाएको छ । सरकारले खोप लगाउनेको बढी भिडभाड भएकाले खोप केन्द्र बढाउनसमेत निर्देशन दिइसकेको छ । निषेधाज्ञा खुलेसँगै बजारमा मानिसको चहलपहल बढेको र भौतिक दूरी कायम नगरेको जनस्वास्थ्यको मापदण्डसमेत पालना गरेको देखिँदैन ।


आइतबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मुलुकभर भेरोसेलको पहिलो र दोस्रो गरी १८ लाख ३९ हजार ८७७ जनाले खोप लगाइसेका छन् । पहिलो मात्रा ११ लाख ७० हजार ७३० र दोस्रो मात्रा ६ लाख ६९ हजार १७४ जनाले खोप लगाएका छन् ।

त्यसैगरी कोभिसिल्डको दुवै डोज पूरा गर्नेहरू ४ लाख ६० हजार ७३४ र पहिलो मात्रा लगाएकाहरू १३ लाख ६७ हजार ७५० जना छन् । सरकारले छिमेकी मुलुक भारतबाट कोभिसिल्ड खोप आयात गर्न नसक्दा पनि दोस्रो खोप लगाउनबाट वञ्‍चित भएका छन् ।

काठमाडौँ उपत्यकालगायत मुलुकभरका मानिसले कोभिडविरुद्धको चिनियाँ खोप लगाउन थालेका छन् । केही सातादेखि यता छिमेकी राष्ट्र चीनबाट भेरोसेल खोप आयात हुन थालेको छ । खोप लगाउन थालेपछि मानिसमा आत्मविश्वास बढेको देखिन्छ । खोप लगाएको दुई सातादेखि मात्र शरीरमा 'एन्टीबडी' बन्‍ने गर्छ । खोप लगाउँदा पाखुरामा मास्क र चिउँडोमा मास्क लगाएको देख्‍न सकिन्छ । खोप लगाइसकेपछि पूर्ण रुपमा शरीरबाट कोभिड परास्त भएको जस्तो देखिएको छ । खोप केन्द्रमा बढी भिडभाड भएकाले संक्रमण फैलने उत्तिकै जोखिम बढेको छ ।

काठमाडौँ उपत्यकालगायत मुलुकभर केही दिनदेखि यता संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । सहरी क्षेत्रभन्दा पनि ग्रामीण भेगमा कोभिड देखिन थालेको छ । खुला सीमाबाट प्रवेश गरेका मानिसहरू क्वारेन्टाइनमा नबसी आआफ्ना घर जाँदा कोभिडको जोखिम बढ्दै गएको हो ।

कोभिडबाट सुरक्षित रहन खोप मात्र पनि भरपर्दो माध्यम नभएको चिकित्सकहरूले बताउन थालेका छन् । भौतिक दूरी र स्वास्थ्यको मापदण्ड पालना अनिवार्य शर्त रहेको छ । यसअघि कोभिडविरुद्धको खोप लगाएकालाई पनि कोभिड देखिएको थियो ।

'भिडभाड बढीरहे कोभिडको तेस्रो लहर'

पछिल्लो समय नेपालमा कोभिड परीक्षणको दायरा घटेको छ । विदेश जाने मानिसले मात्र कोभिड परीक्षण गरीरहेको इपीडीमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बासुदेव पाण्डे बताउँछन् । सरकारले पूर्ण रूपमा कोभिड परीक्षण घटाएको उनले बताए ।

'बाटो र बजारमा बढेको भिडभाडले मुलुकमा कोभिड सकिएको जस्तो देखिन्छ,' उनी भन्छन्,' मुलुकमा पुनः तेस्रो लहर आउन सक्ने संकेत गरेको छ । कोभिड फैलन नदिन सरकार र नागरिक दुवै सचेत हुनुपर्छ ।'

भाइरसको मात्रा कति फैलिएको छ त्यसको परीक्षण मासमा गरिनुर्ने पाण्डेको तर्क छ । कोभिडको हटस्पट भएको क्षेत्रमा परीक्षणलाई तीव्रता दिनलाई उनले सुझाव दिएका छन् ।

'लक्षित समूहका मानिसलाई खोप लगाउनुपर्छ,' डा. पाण्डे भन्छन्,'टार्गेट गरेका मानिसलाई खोप लगाउन सकेको छैन ।' खोप लगाउन जोखिम उमेर समूहका मानिसलाई पहिलो प्राथमिकतामा राख्‍नुपर्ने उनको भनाइ छ । खोप लगाउँदैमा कोभिड हटेर नजाने उनले बताए । खोपले शरीरमा एन्टीबडी निर्माण गर्ने उनले बताए ।

डा.पाण्डेले अनुदानमा पाउने खोपको मात्र भर पर्न नहुने बताए । पाकिस्तान, जापान र भारतलगायतका विभिन्‍न देशले खोप उत्पादन गरिरहेको सन्दर्भलाई जोड्दै उनी भन्छन्,' विभिन्‍न देशबाट खोप निर्माण गर्ने सामग्री ल्याएर खोप बनाउनुपर्छ । नेपालमा यसअघि पनि 'रेबिज' विरुद्धको खोप बनाइएको थियो ।' प्रविधि र जनशक्ति ल्याएर खोप निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

'कोभिड नियन्त्रणमा कडाइ गर्नुपर्छ'

कोभिड नियन्त्रणक लागि खुला नीतिलाई कडाइ गरिनुपर्ने भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले बताए । संक्रमणदरको संख्या चारदेखि पाँच हजारमा तल झर्नसाथ नियन्त्रणमा आएको भनेर उत्साहित नहुनुपर्ने उनको भनाइ छ ।

'कोभिडविरुद्ध प्रभावकारी कदम चाल्न पुनः निषेधाज्ञा लगाइ अति आवश्यक क्षेत्रलाई खुला गरिनुपर्छ,' डा. मरासिनीले भने,' काम गरी खानेलाई सहज वातावरण बनाइ कडाइ गरिनुपर्छ ।'

परीक्षणको दायर बढाएर आइसोलेट गर्न डा. मरासिनीले सुझाव दिए । नेपालभित्र लामो दूरीको यात्रा गर्दा कोभिड परीक्षण गरेर जानुपर्ने उनले बताए । परीक्षण नगरी जाने प्रवृत्तिले ग्रामीण भेगमा संक्रमण फैलन त्रास बढिरहेको उनले थप प्रस्ट पारे ।

भाइरोलोजिस्ट मरासिनीले चाडपर्वको समय आएकाले दुई महिनापछि तेस्रो लहर आउन सक्ने चेतावनी दिए । उनले राजनीतिक दलको गतिविधि नियन्त्रण गर्न नसक्दा र खोप लगाउने ठाउँमै भिड हुँदा कोभिड फैलने सक्नेआशंका व्यक्त गरे ।

'स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरौँ'

पछिल्लो समय सरकारले कोभिड अध्यादेश जारी गरेपछि स्वास्थ्य मन्त्रालयले सहजै काम गर्न नपाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी बताउँछन् । खोप लगाउनेदेखि सामान्य काम मात्र मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।

खोप लगाउँदैमा कोभिडको जोखिम हराएर नजाने डा. अधिकारी बताउँछन् । भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने उनको भनाइ छ । कोभिड घटेर निषेधाज्ञा खुकुलो नभएको र अहिले पनि कोभिडको जोखिम उत्तिकै रहेको उनको भनाइ छ । राजनीतिक दल तथा स्वयम नागरिक आफैँ जिम्मेवार हुनलाई उनले सुझाव दिए ।

'सर्वसाधारण तथा जिम्मेवार नागरिकले जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ,' डा. अधिकारी भन्छन्,' धेरै संख्यामा मानिसहरू खोप लगाउन बाँकी रहेका छन् ।' उनले मन्त्रालयले सबै नागरिकलाई खोप लगाउने योजना बनाएको पनि बताए । खरिद गरेको खोप पनि आयात हुने क्रम जारी छ । पहिलो डोज लगाएका मानिसलाई दोस्रो डोज लगाउनलाई सरकारले प्राथमिकतामा राखेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x