स्वास्थ्य

रुसी खोप स्पुतनिकको उत्पादन भियतनाममा पनि सुरु

इकागज |
साउन ६, २०७८ बुधबार १८:० बजे

काठमाडौँ- भियतनाममा पनि कोभिड-१९ विरुद्धको खोप स्पुतनिक-भीको उत्पादन सुरु भएको छ । रुसले विकास गरेको स्पुतनिक खोप भियतनाममा सरकारी औषधी कम्पनी भाबियोटेकले उत्पादन गर्न थालेको हो । उसले पहिलो खेपको उत्पादन भइसकेको बताएको छ । 

भाबियोटेक र रुसको सार्वभौम लगानी कोष (आरडीआईएफ) ले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै स्पुतनिकको उत्पादन सुरु गरिएको बताइएको छ । पहिलो खेपमा उत्पादित खोप गुणस्तर नियन्त्रणका लागि रुस पठाइनेछ । रुसी खोप स्पतनिक गमालेय सेन्टरले विकास गरेको हो भने त्यसका लागि आवश्यक लगानी आरडीआईएफको छ । 


‘आरडीआईएफ र भाबियोटेकबीचको सहकार्यमा भियतनाममा पनि स्पुतनिकको उत्पादन सुरु गरिएको हो । खोप विकास र उत्पादनमा प्रयोग भएको प्रविधि भियतनासँग बाँडिनेछ जसकारण थप ठूलो मात्रामा खोप उत्पादन गर्न सकियोस,’ आरडीआईएफका कार्यकारी अधिृकत क्रिल डिमिट्रिएभले भनेका छन् । 

उता भाबियोटेकका अध्यक्ष डाट टुुआन डुले भियतनाममा उत्पादन सुरु भएको स्पुतनिक खोप त्यहाँका लागि मात्र होइन अन्य मुलुकका लागि पनि सस्तो दर र सहजरुपमा उपलब्ध हुने बताएका छन् । 

पछिल्लो समय भियतनाममा कोभिड संक्रमणमा पर्नेको संख्या बढिरहेको छ । करिब १० करोड जनसंख्या भएको भियतनाममा लकडाउन छ । र, कुल जनसंख्याको एक तिहाई नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । कोभिड संक्रमितको संख्या अत्याधिक भए पनि भियतनामले खोप कार्यक्रम भने प्रभावकारी ढङ्गमा अघि बढाउन सकेको छैन । सोमबारसम्म करिब ४३ लाख डोज खोप मात्रै लगाइएको छ । 

यस्तोमा भियतनामले रुसी खोपको सहायता लिन खोजेको हो । गत अगस्टमै लगाउन सुरु गरिएको स्पुतनिक खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । सुरुमा स्पुतनिकको प्रभावकारितामथि शंका गरिए पनि बेलायतको मेडिकल जर्नल दी लान्सेटले स्पुतनिक प्रभावकारी रहेको बताएपछि रुसी खोपको विश्वसनियता बढेको हो ।  

आरडीआईएफले भारतलगायतका कयौँ मुलुकसँग खोप उत्पादनका लागि समझदारी गरेको छ । दुई डोज लगाउन पर्ने स्पुतनिकलाई ६८ मुलुकले प्रयोगका लागि अनुमति दिइसकेका छन् । 

रोयटर्स र एएफपीको सहयोगमा 


Author

थप समाचार
x