स्वास्थ्य

देशभर एचआईभी संक्रमित तीस हजार बढी, बालबालिका मात्रै १,२२१

एचआईभी संक्रमण नियन्त्रणमा प्रगति शून्य

अतिन आचार्य |
भदौ २१, २०७८ सोमबार १९:३९ बजे

काठमाडौँ- दुई वर्षयता संसारभर कोभिड-१९ का संक्रमित बढीरहेका छन् । पछिल्लो समय विभिन्‍न रोगले महामारीकाे भयानक रुप लिन थालेका छन् । कुनै समय भयानक रहेको एचआईभी संक्रमणका कारण धेरैले ज्यान गुमाएका थिए ।

एचआईभी रोग नियन्त्रण गर्न विभिन्‍न मुलुकले रणनीति अपनाए पनि अहिलेसम्म रोकथाम हुन सकेको छैन । नेपालमा यसको मृत्युदर घटे पनि यो रोग अहिलेसम्म नियन्त्रण हुन नसक्दा वर्षेनी हजारौँ एचआईभी संक्रमित देखापर्ने गरेका छन् । पछिल्लो केही वर्ष यताको सरकारी तथ्यांक विश्लेषण गर्दा संख्या घटे पनि त्यसलाई आशाजनक रुपमा लिन सक्ने अवस्था छैन ।


पहिले-पहिले वयस्क उमेरका मानिसहरूमा एचआईभी देखिए पनि अहिले भने बालबालिकामासमेत संक्रमित हुन थालेका छन् । १५ वर्ष मुनिका १ हजार २२१ बालबालिका एचआईभी संक्रमित छन् ।

तीन वर्षमा १ लाख ३ हजार ५९८ एचआईभी परीक्षण गरिएको थियो जसमध्ये देशभर ३० हजार ३०० एचआइभी संक्रमित रहेका छन् । महिला १३ हजार ९८६ र पुरुष १६ हजार ३१४ जना एचआईभी संक्रमित रहेका हुन् ।

वयस्क उमेरका मानिस संक्रमणबाट सुरक्षित रहे पनि बालबालिकामा एचआईभी संक्रमित वर्षेनी बढ्दै गइरहेका छन् । सन् २०१९ मा १ हजार ३०६, सन् २०१८ मा १ हजार २७३ र सन् २०१७ मा १ हजार २९० जना बालबालिकामा एचआईभी पुष्टि भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

१५ वर्षमाथिका पुरुष ९ हजार ५७२,१५ वर्ष माथिका महिला ८ हजार ८२९, तेस्रो लिङगी २०५ र १५ वर्ष मुनिका बालबालिका १ हजार २२१ जना छन् । देशभर अहिले २० हजार एचआईभी संक्रमित उपचाररत छन् । एचआईभी पुष्‍टि भएपछि निरन्तर औषधि सेवन गर्नुपर्ने यौन रोग नियन्त्रण केन्द्रका प्रमुख डा. सुधा देवकोटाले बताइन् । महालेखा परीक्षणको प्रतिवेदनअनुसार संक्रमितको संख्यामा थपघट रहेको उनले जानकारी दिए । 'हालसम्म एक लाख भन्दा बढी संक्रमितको परीक्षण गरिसकेको छ,' उनले भनिन ।

समय-समयमा संक्रमितले औषधिको सेवन नगर्दा पनि संख्या बढिरहेको देवकोटाले जानकारी दिइन् । उपचारको समयमा रहँदा पनि संक्रमितले नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मृत्युदर बढ्ने र संख्या बढिरहेको उनको भनाइ छ ।

बीचमा उपचार रोक्दा पनि संक्रमितलाई समस्या हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार आफूलाई बेवास्ता गरेको कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको छ ।

एचआइभी कसरी सर्छ ?

यौन सम्पर्क गर्दा हुने साना प्रत्यक्ष नदेखिन घाउहरुबाट पनि एक अर्कामा एचआइभी सर्न सक्दछ । यौन सम्पर्क गर्दा निस्कने पुरुषहरुको वीर्य र महिलाहरुको योनीभित्रको रसको माध्यमबाट पनि एचआइभी सर्दछ । संक्रमित रगत, शारीरिक अंग तथा तन्तुहरू लिएमा वा अरूले प्रयोग गरेको सूई तथा सिरिञ्ज साटासाट गरी प्रयोग गरेमा एचआइभी सर्न सक्दछ । एचआइभी संक्रमित भएको महिलाबाट गर्भावस्थामा बच्चा जन्मने बेलामा र आमाको दूधबाट बच्चालाई एचआइभी सर्न सक्दछ ।

नेपालमा एचआईभी संक्रमितको उपचार यसरी गरिएको छः

एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) भनेको एचआइभी संक्रमित व्यक्तिलाई गरिने उपचार पद्धति हो । यस उपचार पद्धतिमा एचआइभी विरुद्ध प्रभावकारी रुपमा कार्य गर्ने विभिन्न समूहका कम से कम तीन किसिमका औषधिहरुको प्रयोग गरिन्छ । यो उपचार पद्धतिले शरीरमा एचआइभीको प्रगतिलाई रोकी, शरीरको प्रतिरक्षा प्रणालीलाई ह्रास हुनबाट जोगाउँछ । यसरी एआरटीको प्रयोगले एचआइभी संक्रमितमा हुने संक्रमणबाट जोगाउनुका साथै यसबाट हुने मृत्युलाई घटाउँदछ । सामान्य अर्थमा एआरटीले एचआइभी संक्रमितको आयु लम्ब्याउनुका साथै उनीहरुको जीवन स्तरमा समेत सकारात्मक परिवर्तन ल्याउँदछ ।

नेपालमा तल दिइएका औषधिहरु उपलब्ध छन् । लामिभुडिन, अवकाभिर, जाइडोभुडिन, डोलुटेग्राभिर, इफाभिरेन्ज, इमिट्रिसिटाविन, नेभिरापीन, टेनोफोभिर, लोपिनाभिर र रिटोनाभिर जस्ता औषधि संक्रमितलाई दिने गरिएको छ ।

एक दशकमा ९. ४५ गुणाले बढयो संक्रमित

२०६६ मा संक्रमतको संख्या तीन हजार ९६८ थियो । एक दशकमा ९ दशमलव ४५ गुणाले संक्रमितको संख्या बढेको छ । त्यसैगरी ३७ हजार ५१६ संक्रमित थपिएका हुन् । सन् २०३० सम्ममा एचआईभी उन्मुलन गर्ने भए पनि अहिले बढेको संक्रमितको संख्याले उन्मुलन गर्न कठिन देखिएको महालेखा परीक्षकको प्रतिवेदनले ‌औल्याएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ३१ हजार २० एचआईभी संक्रमित थिए । २०७५/०७६ ३५ हजार ६२ र २०७६/ ०७७ मा ३७ हजार ५१६ जना रहेका छन् । बालबालिका पनि संक्रमित बढ्दै गएको तथ्यांकले उल्लेख गरेको छ ।

विश्‍वबाट एचआईभीको अन्‍त्य गर्न विभिन्न मुलुकले रणनीति अपनाउँदै आएका छन् । नेपालले पनि सन् २०१६ देखि २०२१ सम्म रोकथाम तथा उपचार गर्न रणनीति बनाएको छ । एड्सका कारण ८९५ जनाको मृत्यु भइसकेको छ ।

सरकारको योजना अनुसार सन् २०२० सम्ममा एचआइभी संक्रमित व्यक्तिमध्ये ९० प्रतिशतले एचआईभी परीक्षण गर्ने गरेका छन् । ९० प्रतिशत संक्रमितले औषधि सेवन गर्ने गरेका छन् ।

एआरभी औषधि उपचार प्राप्‍त गर्ने र एआरभीले ९० संक्रमितको शरीरमा रहेको ९० प्रतिशत भाइरसलाई निस्तेज गर्ने गर्छ । नेपालमा पहिलो संक्रमित सन् १९८८ मा भेटिएको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x