स्वास्थ्य

वीपी प्रतिष्‍ठानका पदाधिकारी हटाउन प्रधानमन्त्री देउवालाई समितिले बुझायो प्रतिवेदन

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १६:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तीनजना पदाधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष छानबिन समितिले सिफारिस गरेको छ । प्रतिष्‍ठानमा भएको विकृति र भ्रष्‍टाचारको अध्ययन गर्न सरकारले तीन साताअघि समिति बनाएको थियो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको छानबिन समितिले शुक्रबार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति समेत रहेका शेरबहादुर देउवालाई सिफारिससहित प्रतिवेदन बुझाएको हो । 


प्रतिष्ठानका पदाधिकारी भ्रष्टाचारमा संलग्‍न भएपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुले पदाधिकारी बर्खास्तीको माग गर्दै आन्दोलन थालेका थिए । केही महिनादेखि प्रतिष्‍ठानका स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।

प्रतिष्‍ठानमा सेवा अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा धरानका मेयर तिलक राई र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल सदस्य रहेको छानबिन समिति गठन गरेका थिए । 

छानबिन समितिले प्रतिष्ठानमा गएर स्थलगत अध्ययन गरी शुक्रबार प्रतिवेदन बुझाएको स्वास्थ्यमन्त्री खतिवडाले बताए । छानबिन समितिले गरेको अनुसन्धान र पदाधिकारीसँग लिएको बयानका आधार मानेर प्रतिवेदन तयार पारिएको मन्त्री खतिवडाले बताएका छन् । 

'समितिले स्थानीय तथा आन्दोलनरत दुवै पक्षसँग वार्ता गरेको थियो,' खतिवडाले भने,' सिनेटको बैठक बसी थप प्रक्रियाको बारेमा निर्णय हुन्छ ।'

प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान संचालन गर्न नसकेको र पदीय मर्यादा विपरीत काम गरेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिले समेत उनीहरुलाई तत्काल कारबाही गर्न यस अगाडि नै सिफारिस गरेको थियो । 

 


Author

थप समाचार
x