स्वास्थ्य

प्रसूतिगृहमा ६ महिनामा ३ सय ६३ नवजात शिशु र चार आमाको मृत्यु

अतिन आचार्य |
मंसिर २, २०७८ बिहीबार १०:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- सबै नवजात शिशु स्वस्थ जन्मदैनन् । जन्मेका सबै स्वस्थ र जीवित पनि हुँदैनन् । स्वस्थ्य जन्मेका धेरै शिशुहरू लामो समयसम्म बाँच्छन् भने केही विविध रोगका कारण जन्मेको छोटो अवधिमै मृत्यु हुने गर्छ ।

पछिल्लो ६ महिनामा देशभरकै सबैभन्दा बढी प्रसूति गराउने थापाथलीस्थित प्रसूति गृह अस्पतालमा वैशाखदेखि असोजसम्ममा आमाको पेटभित्रै नजन्मदै २३७ नवजात शिशुको मृत्यु भएको छ । १२५ बालक र ११२ जना नवजात बालिकाको मृत्यु भएको हो ।


अस्पतालमा आमाले बच्चालाई जन्म दिए पनि शिशुको मृत्यु हुने क्रम रोकिएको छैन । स्वस्थ आमाबाट जन्मेका केही समयमा शिशुहरूको मृत्यु हुने गरेको अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ६ महिनामा १ सय २६ नवजात शिशुको मृत्यु भएको छ । ६९ शिशु बालक र ५७ नवजात बालिका शिशुको मृत्यु भएको हो ।

धेरै आमाहरूको गर्भमा रहँदा बच्चाको मृत्यु हुनुलाई अज्ञात रोग तथा आमाको स्वास्थ्यलाई जिम्मेवारी मानिने गरिएको अस्पतालकी नर्सिङ प्रमुख आशालक्ष्मी प्रजापति बताउँछिन् । समय नपुगी बच्चाको जन्मनु र मृत्यु हुनुमा आमाको स्वास्थ्यमा समस्या हुन सक्ने उनले बताइन् । आमाको स्वास्थ्य अवस्था राम्रो भएमा स्वस्थ्य बच्चा जन्मन सक्‍ने उनको भनाइ छ । आमाको उच्च रक्तचाप वृद्धि हुँदा बच्चाको मृत्यु हुने गरेको छ ।

१७ वर्षभन्दा तलका र ३५ वर्ष माथिका आमाहरूबाट जन्मेका बच्चाको मृत्यु बढी हुने समस्या रहेको प्रजापतिले बताइन् । गर्भावस्थामा आमाले औषधि सेवन गर्दा पनि बच्चा रोगी जन्मने र चाँडै मृत्यु हुने गरेको उनले जानकारी दिइन् । गर्भमा बच्चा रहेको समयमा उनले आमाले खानपिनमा बढी ध्यान दिनुपर्ने धारणा राखिन् ।

दीर्घरोगी भएका आमाहरूबाट जन्मेका बच्चाहरू स्वस्थ्य नहुने उनले बताइन् । 'समयावधिभित्र बच्चाहरू परिपक्‍व नभइ जन्मेका शिशुहरू जिवित हुदैनन्,'उनले भनिन,' मुटु रोगी, मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घ रोगी आमाबाट जन्मेका बच्चाहरूको पेटबाट तथा जन्मनसाथ मृत्यु हुने गरेको छ ।'

उनका अनुसार ४० हप्ताभन्दा बढी बच्चा पेटमा रहनु हुदैन । डेलिभरी हुनुपर्ने समय नाघेपछि बच्चाले पेटभित्र दिशा खान थाल्‍छन् । पानीको फोका पनि फुटन थाल्छ । यस्तो अवस्थामा पेटभित्र बच्चाको मृत्यु हुन्छ ।

बच्चालाई स्वस्थ जन्म दिनका लागि दिउँसो ८ देखि १० पटका सम्म चलेको नचलेको आमाले विचार गर्नुपर्ने प्रजापतिले बताइन् । गर्भवती महिलाले पानीको फोका फुटेपछि अस्पतालमा परीक्षणका लागि तुरुन्त जानलाई सुझाव दिइन् । पेटमा बच्चा भएका बेला आमालाई रिंगटा लागेमा टाउको दुखेमा परीक्षण गरिहाल्नुपर्ने उनको भनाइ छ ।

काठमाडौँ उपत्यकामा मात्र सबैभन्दा बढी प्रसूति गृहमा बच्चा जन्माइने गरेको छ । अन्य अस्पतालको  ४८ प्रतिशत बढी आमाले प्रसूति गृहमा बच्‍चा जन्माउने गरेका प्रजापतिले बताइन्। अस्पतालमा २४ घण्टामा ६२ जना आमाले बच्चा पाउने गरेको उनले सुनाइन् ।

प्रसूति गृहमा मुलुकमा कोभिड संक्रमणको संख्या कम भएपछि सुत्केरी गराउन आउनेको संख्या बढदै गएको छ । अस्पतालमा आएर वर्षमा २२ हजार आमाले बच्चा जन्माउने गरेका छन् । गत वर्ष मात्र हेलिकोप्‍टरबाट ३९ जना सुत्केरीको उद्धार गरी अस्पतालबाट सुविधा लिएका थिए । उद्धार गरिएका आमाबाट जन्मेका अधिकांश बच्चाहरू स्वस्थ नरहेको उनले प्रस्‍ट पारिन । स्वास्थ्य अवस्था गम्भिर भएपछि उद्धार गर्ने आमाहरूबाट जन्मने शिशुहरूको स्वास्थ्य अवस्था राम्रो नहुने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा २० देखि २९ वर्ष उमेर समूहका बढी आमाहरूले बच्चा जन्माउने गरेका छन् । असोजमा मात्र कुल २ हजार २ सय ७० आमाले बच्‍चा जन्माएका थिए ।  वैशाखदेखि असोजसम्ममा विभिन्‍न उमेर समूह गरी १० हजार ९७३ आमाले बच्चालाई जन्माएका थिए । ४० देखि ५० वर्ष उमेर समूहका आमाहरूले कमै मात्रामा सन्तानलाई जन्म दिने गरेको तथ्यांकमा उल्लेख छ ।

असोज महिनामा मात्र चार जना आमाको मृत्यु भएको थियो । ती मध्ये एक २६ वर्षीय आमाको पोष्ट कोभिडका कारण भएको थियो भने उनको पहिलो सन्तान थियो । ३५ वर्षीय महिलाको भने गाइनो समस्याका कारण मृत्यु भएको थियो । दुई सन्तानको आमाले गर्भपतन गरिएको कारण स्वास्थ्य समस्या भएकाले मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरी मृत्यु भएका अन्य दुई २८ र २९ वर्षीय आमाको मृत्युको कारण पोष्‍टमार्टमको रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x