इकागज स्कुल/कोभिड-१९
यी १२ प्रश्नोत्तर जसले तपाईंलाई कोभिड खोपबारे छर्लंग बनाउनेछ
काठमाडौँ : कोभिड-१९ विरुद्धको १० लाख डोज खोप बिहीबार काठमाडौँ आइपुग्यो । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।
नेपालमा कोभिडको खोप आएसँगै आम नागरिकमा एक किसिमको जिज्ञासा उत्पन्न भएको छ । यसपालिको इकागज स्कुलमा सम्बन्धित विज्ञसँग कुराकानी गरेर कोभिडविरुद्धको खोपसम्बन्धी जिज्ञासा मेटाउने कोसिस गरिएको छ ।
नेपालमा कोभिड-१९ विरुद्धको भ्याक्सिन आएको हो ?
हो । बिहीबार अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड र कोभ्याक्स खोप भारतले नेपाललाई दिएको हो ।
यो खोप सरकारले किनेर ल्याएको हो कि अनुदानमा पाएको ?
भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको हो ।
सुरुमा यो खोप कसले लगाउँछ ?
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप पहिलो चरणमा फ्रन्टलाइनर अर्थात्, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलाई दिइन्छ ।
नर्वेमा खोप लगाएर मान्छे मरे भन्ने सुनिन्छ कतै हाम्रोमा पनि त्यस्तै हुने त होइन ?
केही दिनअघि नर्वेमा कोभिडविरुद्धको खोप लगाएर मानिसको मृत्यु भएको खबर साँचो हो । नर्वेको घटनाले धेरैलाई तर्साएको छ । तर, एक ठाउँमा भयो भन्दैमा सबैतिर त्यस्तो नहुन सक्छ । खोप धेरै अध्ययन र अनुसन्धान गरेर बनाइएको हुन्छ । यसको काम मान्छे मार्ने होइन, बचाउने हो । कोभिड-१९ ले अझै तर्साउन छाडेको छैन । कोभिड-१९ विरुद्धको यो खोप हामीलाई थप क्षति नपुगोस् भनेर ल्याइएको हो ।
यो खोप सशुल्क हो कि निःशुल्क ?
अनुदानमा आएको भएर अहिलेसम्म निःशुल्क भनिएको छ । सरकारले करिब ४० प्रतिशतलाई निःशुल्क खोपको तयारी गरेको छ । त्यसबाहेक ३२ प्रतिशतलाई भोलिका दिनमा सरकारले के गर्छ भन्न सकिन्न । नेपालमा खोप लगाउनुपर्ने संख्या ७२ प्रतिशतमात्र छ । १४ वर्षमुनिका र गर्भवती महिलाको हकमा खोप दिन नमिल्ने भएकाले खोप दिन मिल्ने संख्या ७२ प्रतिशत तोकिएको हो ।
यो खोप कसले लगाउन मिल्छ, कसले मिल्दैन ?
अहिले ल्याइएको खोप १८ वर्षमाथिकाले लगाउन मिल्छ । तर विश्वमा प्रयोग भएको अन्य खोप १४ वर्षमाथिकाले लगाउनू भनिएको छ । किनभने, १४ वर्ष मुनिकोमा यो खोप परीक्षण गरिएको छैन । गर्भवती महिलालाई पनि नलगाउनू भनिएको छ । त्यस्तै, रगतसम्बन्धी समस्या भएका जस्तैः रक्तश्राव हुने, रगत पातलो हुने औषधी खाइरहेकाहरूलाई पनि नलगाउनू भनिएको छ । साथै खोपसम्बन्धी एलर्जी भएकाहरूले पनि चिकित्सकको सल्लाह लिनुपर्छ ।
दीर्घरोगीले लगाउनु हुन्छ कि हुँदैन ?
लगाउनै नमिल्ने भन्ने छैन । व्यक्तिको स्वास्थ्य स्थिति हेरेर निर्धारण हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कति छ त्यसमा भर पर्छ । एकपटक स्वास्थ्यकर्मीसँग सल्लाह लिएर र आफ्नो स्वास्थ्य परीक्षण गरेर मात्र लगाउँदा बेस हुन्छ ।
कोभिड-१९ लागेर निको भइसकेकाले खोप लगाउनुपर्छ कि पर्दैन ?
कोभिड लागेर संक्रमणमुक्त भइसकेकाले पनि खोप लगाउनुपर्छ । किनभने, संक्रमणमुक्त भइसकेकाहरूमा रोग प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने यकिन छैन । त्यसैले, लगाउँदा राम्रो ।
खोप लगाएपछि फेरि कहिल्यै कोभिड-१९ हुँदैन, हो ?
यो खोपले कति महिना वा वर्षसम्म हामीलाई रक्षा गर्छ थाहा छैन । किनभने, यो अध्ययनकै विषय हो । लगाएर नहेरी अहिले नै भन्न सक्ने अवस्था छैन । ‘फ्लू’को भ्याक्सिन हरेक वर्ष लगाउने गरिन्छ । तर, कोभिडको भ्याक्सिनले कति समयसम्म काम गर्छ भन्न सक्ने अवस्था छैन ।
आइसोलेसनमा बस्छु तर, खोप लगाउँदिनँ भन्न पाइन्छ कि पाइदैन ?
भ्याक्सिनबाट भागेर हुँदैन । संक्रमणमुक्त भइसकेकाहरूलाई पनि खोप लगाउनू भनिएको छ । त्यसैले डराएर हुँदैन । जोखिम समूहका सबैले भ्याक्सिन लगाउनुपर्छ ।
नेपालीहरूलाई परीक्षण गर्ने भाँडो त बनाइएको होइन नि ? यो खोप कत्तिको सुरक्षित छ त ?
यो एक प्रकारको परीक्षण नै हो । यसको प्रभावकारिता कति हुन्छ र केकस्ता समस्या देखिन्छ, खोप लगाएपछि मात्र थाहा हुन्छ । समग्रमा यो खोपको प्रभावकारिता ७० प्रतिशत मानिएको छ । लाखौँ मानिसले लगाएपछि मात्र यसको थप प्रभावकारिता थाहा हुन्छ । तर, धेरै अध्ययन अनुसन्धानपछि ल्याइएको हुनाले कोभिडविरुद्धको खोपलाई नकारात्मक रूपमा लिनु हुँदैन । सानोतिनो साइड इफेक्ट जुनसुकै भ्याक्सिनको हुन्छ ।
खोप लगाएपछि मास्क, स्यानिटाइजर नलगाई निर्धक्क हिँड्न मिल्छ ?
मिल्दैन । धेरैभन्दा धेरै व्यक्तिले खोप नलगाएसम्म निर्धक्क हुने अवस्था छैन । हामीले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न छाड्नु हुँदैन । किनभने, वैज्ञानिकहरूले नै खोप आयो भन्दैमा जथाभावी नगर्नू भनिरहेका छन् । (प्रस्तुति : सृजना खड्का)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया