स्वास्थ्य

‘घोपा क्याम्प’ बचाउन सुदनको अथक लडाइँ

सुरेन्द्र बजगाईं |
चैत २९, २०७८ मंगलबार ७:३७ बजे

काठमाडौँ- सुदन गुरुङ केही दिनअघि व्यक्तिगत कामको सिलसिलामा झापा पुगेका थिए,  सामाजिक अभियान्ता गुरुङलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानबाट फोन आयो । 

बिरामीको आर्थिक अवस्था कमजोर भएको र दुर्घटनाको कारण अवस्था गम्भीर भएको ती व्यक्तिले उनलाई सुनाए । यो सुने पछि उनी तत्काल झापाबाट धरान हानिए ।


उनी अस्पताल पुग्दा बिरामी इमर्जेन्सी भुईँमा थिए । उनी मात्रै हैन वार्डमा अरु बिरामी पनि भुईँमा नै थिए । वार्डमा भेन्टिलेटर समेत थिएन ।अस्पतालको यो दुर्गति देखेर उनी अचम्ममा परे । त्यसको भोलिपल्ट नै उनले अस्पतालका एक डाक्टरलाई आफूहरूले कोभिडको बेलामा सहयोग गरेको र त्यहाँ पनि अत्यावश्यक सामग्री सहयोग गर्न सक्ने बताए ।

तर डाक्टरको प्रतिक्रिया उनले सोचे भन्दा फरक थियो । ‘तपाईँले अस्पतालको लागि सामान त दिनुहोला । तर त्यो सामान यहाँको प्रशासनले बेचिदिन्छ’ ती डाक्टरले भने ‘यस अघि पनि पटक पटक यस्तो भएको छ । यो अस्पतालको यो दुर्गति यस्तो हुनुमा यहाँको प्रशासनको गैरजिम्मेबारीपन हो । यहाँको अनियमितता हो ।’

ती डाक्टरको कुरा सुनेर गुरुङ छक्क परे । र त्यो अस्पतालमा पहिले पनि अवस्था सुधारको लागि पटक पटक आन्दोलन भएको कुरा थाहा पाए । ती आन्दोलन पश्चात छानबिन समिति बनेको र प्रधानमन्त्रीकोमा समेत प्रतिवेदन पुगेको थाहा पाए । उनले प्रतिष्‍ठान बिग्रनुको कारण खोज्न थाले । समितिले बनाएको प्रतिवेदन अध्ययन गरे ।

प्रतिवेदनमा अस्पतालको तल देखि माथि सम्म नै भ्रष्टाचार र अनियमितता भएको उल्लेख छ । वर्षमा १२ पटकसम्म पटके खरिद गरेको समेत पाइएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

कोभिडको बेलामा गुणस्तर हीन अक्सिजन प्लान्ट जडान हुँदा बिरामीको ज्यान गुमाए । कमिसनको लागि गुणस्तरहीन अक्सिजन प्लान्ट किन्दा त्यस्तो घटना भएको समेत उक्त प्रतिवेदनमा उल्लेख छ ।

‘अस्पतालमा बिरामीले भिडियो एक्स–रे गर्न महिनौँ कुर्नु पर्ने अवस्था छ । अझ आइसियु भाग्यमानी बिरामीले मात्रै पाउँछन् । अस्पतालमा  भेन्टिलेटर सम्म पर्याप्त मात्रामा छैनन्’ सुदन भन्छन्, ‘ अस्पतालबाट उत्पादन हुने फोहोर समेत जङ्गलमा फाल्ने र जलाउने गरेको पाइयो । अस्पतालले त धरानका मानिसको उपचार गर्नुको साटो झनै बिरामी पो बनाउँदै रहेछ ।’

उनले अस्पतालको यो दुर्गति हुनुमा निर्देशकको गल्ती भेटे । सबै समस्याको समाधान फेरी अर्को अन्तिम आन्दोलन देखे । पूर्वका मानिस जुरमुराए भने मात्रै प्रतिष्‍ठान बाँच्ने देखे र आन्दोलन सुरु भयो ‘भेस घोपा क्याम्प’ ।

आन्दोलन सुरु भएको आज १२ दिन भयो  बित्यो । झण्डै दुई हप्ता  देखि घोपा बचाउन पुगेका युवाहरूलाई धरानका स्थानीयले साथ दिएका छन् । सयौँ मानिसहरू बाटोमा उत्रिएका छन् । उनीहरू दिउँसो २ घण्टा बाटोमा उत्रिन्छन् । मौन आन्दोलन गर्छन् । आफूले आन्दोलन गरेको स्थान सरसफाइ गर्छन् र फर्कन्छन् ।

कुनै समय ब्रिटिसले स्थानीयको उपचारको लागि भनेर क्याम्प बनाएका थिए । जसलाई घोपा क्याम्प भनेर चिनिन्थ्यो । क्याम्प विस्तार हुँदै सिङ्गो पूर्वलाई उपचार गर्दै आएको थियो । तर, अहिले भने अस्पताल आफै बिरामी भएको गुरुङको बुझाइ छ ।

दुई हप्ता हुन लाग्दा पनि कुनै सुनुवाइ नभएकाले आफूहरू केही निराश भएको उनी बताउँछन् ।

‘म एक निराश नेपाली युवा हुँ’ गुरुङले सामाजिक संजालनमा एक भिडियो नै सार्वजनिक गर्दै भनेका छन्, ‘यहाँको बेथिति, धुसखोरी, देशको समस्या देखेर म लगायतका युवा निराश भएका छौ । तर, निराश भएर बस्नु भन्दा आवाज उठाउन आवश्यक छ ।’

अस्पतालबाट दैनिक औसत २५ सय बिरामीले सेवा प्राप्‍त गर्दै आएका छन् । १८ सय भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत छन् । अस्पतालको लापरबाहीका कारण उनीहरूको जीवन सँग नै खेलबाड भएको गुरुङको बुझाइ छ ।

गुरुङ कै शब्दमा भन्दा ‘अस्पतालको लागि पर्याप्त मात्रामा पूर्वाधार छ । तर यहाँ यति विधि घुसखोरी छ कि जाबो एउटा स्प्रिटको ठाउँमा पानीमा मसी हालेर दिइएको छ । यो त घुसखोरीको पराकाष्ठा हो ।’

यसअघि पटक पटक आन्दोलन हुँदा सरकार मौन छ । यही मौनता चिर्न धराने युवाहरूलाई एकजुट हुन हामीले आह्वान गरेका हौ । हामी आन्दोलन मात्रै गरेर बसेका छैनौ । स्कुल, कलेज र स्थानीयको घरघरमा पुगेर अस्पतालको महत्त्व र प्रशासनले गरेको अनियमितताबारे बुझउदै आएको गुरुङ बताउँछन् ।

सधैँ आन्दोलन, हात लाग्यो शून्य

अहिलेको आन्दोलन प्रतिष्ठान सुधारको माग राख्दै भएको पहिलो आन्दोलन हैन । २०७० सालदेखि नै प्रतिष्ठानभित्र व्याप्त अनियमितता छानबिन हुनुपर्ने भन्दै विभिन्न चरणका आन्दोलन हुँदै आएको छ । ती आन्दोलनहरू वार्ता र सम्झौतामा टुङ्गिँदै आए पनि सम्झौता अनुसारको काम भएको छैन ।

गत असारमा प्रतिष्ठानका विद्यार्थीले ‘प्रतिष्ठान शुद्धीकरण अभियान’ विरोध प्रदर्शन सुरु गरेका थिए । प्रतिष्ठानमा कार्यरत पदाधिकारीहरूको लापरबाही, कारबाही विरुद्ध तथा  अनियमितता बढेकाले सम्पूर्ण विद्यार्थी तथा चिकित्सकहरू आन्दोलनमा सरिक भएका थिए । 

त्यति बेला प्रधानमन्त्री शेरबहादुर देउवा सम्म उक्त आन्दोलनको कुरा पुगेको थियो । गत असोजमा प्रधानमन्त्री देउवाले प्रतिष्ठानमा भएको विकृति र भ्रष्टाचारको अध्ययन गर्न समिति बनाएको थियो ।

उक्त समितिमा स्वास्थ्यमन्त्री विरोध खतिवडा संयोजक थिए । उक्त समितिले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति समेत रहेका शेरबहादुर देउवालाई सिफारिससहित प्रतिवेदन बुझाएको थियो ।

छानबिन समितिले प्रतिष्ठानमा गएर स्थलगत अध्ययन गरी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । उक्त प्रतिवेदनमा प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान सञ्चालन गर्न नसकेको र पदीय मर्यादा विपरीत काम गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न यस अगाडि नै सिफारिस गरेको थियो ।

गत कार्तिकमा स्वास्थ्य मन्त्री खतिवडाले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै सात दिन भित्र समस्या समाधान हुने बताएका थिए । तर ५ महिना बितिसक्दा पनि केही सुधार नभए पछि फेरी आन्दोलन चर्किएको हो ।

उक्त प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितता भयो भनेर ६ वटा प्रतिवेदन नै तयार भए । ती प्रतिवेदनहरू दुई स्वास्थ्य मन्त्री , प्रधानमन्त्री कार्यालयका दुई सचिवको नेतृत्वमा ४ वटा प्रतिवेदन तयार भए । यस्तै चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले तयार पारेका दुई वटा प्रतिवेदन तयार भएका थिए ।

कहिले के भयो

चार वर्ष अर्थात् ०७५ भदौमा प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव केदार बहादुर अधिकारीको संयोजकत्वको छानबिन टोलीले नीतिगत र आर्थिक अनियमितता ठहर गरेको थियो ।

त्यसको एक वर्ष पछि तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वको टोलीले  उक्त प्रतिष्ठानमा देखिएको बेथिति र भ्रष्टाचार बारे छानबिन गरेका थिए । तर मन्त्री स्तरीय समितिले छानबिन समितिको प्रतिवेदनको समेत काम भएको थिएन ।

०७८ साउनमा प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव वैकुण्ठ अर्यालको संयोजकत्वको कार्यदलले प्रतिष्ठान सुधारका लागि पुस सम्मको समय सीमा निर्धारण  गर्‍यो ।

त्यसको एक महिना पछि चिकित्सा शिक्षा आयोगका सदस्य जगदीशप्रसाद अग्रवालको नेतृत्वमा फेरी अध्ययन टोली गठन भयो । उक्त अध्ययन टोलीले चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार पदाधिकारी नियुक्त गर्न सुझाव दियो ।

भदौमा नै नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष नारायणविक्रम थापाको नेतृत्वमा एक अध्ययन टोली बनेको थियो । उक्त टोलीले पनि प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तार  खस्किएको ठहर गर्‍यो ।

गत कात्तिकमा स्वास्थ्य मन्त्री तथा सहकुलपति विरोध खतिवडाको संयोजकमा फेरी अर्को छानबिन समिति बन्यो । त्यो समितिले त्यहाँका पदाधिकारीलाई कारबाहीको सिफारिस गर्दै सिनेट बैठकको माग गर्‍यो ।

स्वास्थ्य क्षेत्रको बेथिति सरकार मौन

आन्दोलनमा उत्रिएका युवाहरू आँखा अगाडि नै यती विधि अनियमितता हुँदा पनि उक्त अस्पतालबारे सरकार चुप छ । छानबिन समिति बताउँछ तर त्यसले बनाएको प्रतिवेदनका सुझाव लागु गर्नमा पहल गर्दैन ।

अझ अहिले त सरकार चुनावी माहौलमा उत्रिएको छ । तर झन्डै एक चौथाइ जनताको उपचार गर्ने अस्पताल बचाउन पहल नगरेको गुरुङ बताउछन् ।‘चुनाव भन्दा पनि जनताको ज्यान महत्त्वपूर्ण होला नि’ गुरुङ भन्छन्, ‘ सरकारले चुनावमा मात्रै हैन जनताको ज्यान बचाउन पनि लाग्नु पर्छ ।’

कोरोना महामारीले नेपालको स्वास्थ्य क्षेत्र कति दयनीय छ भनेर देखाएको छ । तर उनीहरू भने सरकार भने स्थानीय चुनावले आफूहरूको ध्यान बिथोल्छ कि भन्नेमा छन् ।

अब आउने स्थानीय जनप्रतिनिधिको मुख्य एक एजेन्डा पनि स्वास्थ्य पनि हो  । त्यसैले यस क्षेत्रको मुद्धालाई पनि आफ्नो सम्झेर अगाडि बढ्नु पर्ने उनीहरूको बुझाई छ ।

‘अन्त त घुसखोरी गरे–गरे, ज्यान बचाउने स्वास्थ्य क्षेत्रमा त नगरे हुने नि । अस्पतालको व्यवस्थापन राम्रो बनाउनको लागि त सरकारले नै पहल गर्नु पर्ने हो । अस्पताल प्रशासनले सुशासन कायम गर्नु पर्ने हो । तर उनीहरू पैसाकै पछि लागेका छन्’ उनी भन्छन्, ‘अस्पतालको अवस्था सुधार नहुँदा कति धेरैको ज्यान गुमेको छ । तर यति हुँदा पनि अस्पतालको नेतृत्व लिएका मानिसहरू पैसाकै पछाडि कुदेका छन् ।’

यस्तै बेथितिको विरुद्ध यत्रो दिन देखि आन्दोलन गर्दा कुनै सुनुवाइ भएको छैन । आफूले यत्रो आवाज उठाउँदा समेत युवाहरूलाई बेवास्ता गरेको उनको आरोप छ । उनी धरानवासीले एक जुट भएर आवाज उठाउँदा नसुन्नाले सम्पूर्ण धरानलाई नै हेपेको गुरुङको बुझाई छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा समेत घुस खोरी हुँदा उपचार नै नपाएर मर्ने अवस्था आएको छ । त्यसैले गुरुङ धरानमा भएको स्वास्थ्य क्षेत्रमा भएको बेथिति विरुद्ध भएको आन्दोलनलाई देशव्यापी बनाउनु पर्ने गुरुङ बताउछन् ।

अब देशव्यापी आन्दोलन हुन्छ

पटक पटक आन्दोलन र वार्ता हुँदै सहमतिमा टुङ्गिएको आन्दोलन धरानमा मात्रै सीमित थियो । तर अहिले भने अभियान्ताहरुले देशव्यापीरुपमा आन्दोलनलाई जारी राखेका छन् ।

धरानमा मात्रै आन्दोलन गर्दा अस्पतालको स्वास्थ्य क्षेत्र सुधार नभएकोले उक्त आन्दोलन काठमाडौँ लगायतका देशका मुख्य स्थानहरूमा पनि गरिएकाे हाे । ६ दिनदेखि काठमाडौँको माइतीघरमा पनि शान्तिपूर्ण  आन्दोलनको कार्यक्रम हुदै आएको छ  ।

‘दिनको २ घण्टा समय मात्रै दिएको हुने शान्तिपूर्ण आन्दोलनले देशको स्वास्थ्य क्षेत्रमा सुधार आउँछ भने किन नआउने’ उनी भन्छन्, ‘हामी सबैको जीवन सँग जोडिएकाले हामी सबैलाई उक्त आन्दोलनमा सहभागी हुन आह्वान गर्छौ ।’


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x