घटना-दुर्घटना

बैतडीमा घाँटी रेटेर युवतीको हत्या, एक बालिका घाइते

इकागज |
मंसिर १४, २०७९ बुधबार १८:३ बजे

कैलाली । बैतडीमा एक युवतीको घाँटीमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ । एक बालिका घाइते अवस्थामा फेला परेकी छन् । पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

उनको शव शिवनाथ गाउँपालिकाको ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाँटी रेटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी पञ्चेश्वर ४ कै १५ वर्षीया नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी हुन् । घाइते नेहालाई उपचारका लागि धनगढी रेफर गरिएको छ ।


उनको पनि घाँटीको रुद्रघण्टीमाथिको भाग धारिलो हतियार प्रयोग गरि काटिएको हुनाले बोल्न सक्ने स्थितिमा नरहेको बताइएको छ । उनलाई उपचारका लागि धनगढी लगिएको छ । माया र नेहा मंगलबार कपडा सिउन भनी घरबाट गएका र राति अबेरसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा माया मृत अवस्थामा भेटिएकी र नेहा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x