घटना-दुर्घटना

सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

इकागज |
चैत ११, २०७९ शनिबार २१:१६ बजे

फाइल फोटो

बागलुङ - एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइएको हो ।

शुक्रबार दिउँसोदेखि सुत्केरी व्यथा लागेर लामो समयसम्म सुत्केरी हुन नसकेपछि पुनलाई पोखरा पुर्‍याइएको हो । शनिबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको समन्वयमा हेलिकोप्टरमार्फत पोखरा पु¥याइएको र हाल पुनको उपचार भइरहेको गलकोट नगर अस्पतालका डा राजेश पौडेलले जानकारी दिए । 
 
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार उनको उद्धार गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए । 


पुनको रिघा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि गलकोट नगर अस्पताल सिफारिस गरिएको थियो । अवस्था थप जटिल बनेपछि आकस्मिकरूपमा उपचारका लागि पोखरा पठाइएको र अहिले पुनको शल्यक्रिया गरी बच्चा जन्माएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । रासस


Author

थप समाचार
x