घटना-दुर्घटना

हेलिकप्टर दुर्घटनाका घाइतेहरूलाई मेडिसिटीमा ल्याइयो (तस्बिरहरू)

अनुज बज्राचार्य |
बैशाख २२, २०८० शुक्रबार १६:५५ बजे

काठमाडौं– संखुवासभाको भोटखोला गाउँपालिका–४ सिथ्रुङमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरुलाई काठमाडौं ल्याइएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा घाइतेहरुलाई ल्याइएको हो ।

क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते थिए। तीमध्ये क्याप्टेन पौडेल गम्भीर घाइते छन् ।


क्याप्टेन पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर राजधानी ल्याइएको हो भने घाइते विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा ल्याउँदै गर्दा ५० वर्षीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र गोदारले इकागजलाई जानकारी दिए ।

सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । हेलिकप्टरको पंखा भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाइलट सुरेन्द्र पौडेल र हेलिकप्टरमै सवार भविन गुरुङ गम्भीर घाइते थिए ।

हेलिकप्टरमा रहेका छिरिङ भोटे भने हामफाल्ने क्रममा घाइते भएको जनाइएको छ । भोटे सिम्रिक एयरकै स्थानीय कर्मचारी रहेको जनाइएको छ । त्यहाँ निर्माणाधीन अपर अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेर जाने क्रममा साढे १ बजे हेलिकप्टर दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ ।​


 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x