घटना-दुर्घटना

बैतडीमा दुईजना मृत फेला

इकागज |
कात्तिक २८, २०८० मंगलबार १९:१३ बजे

फाइल तस्बिर

बैतडी- बैतडीमा आज दुई जना मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् । 

सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 


मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करिब पाँच मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

यस्तै सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर दुई सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x