घटना-दुर्घटना

काठमाडौँमा बेग्लाबेग्लै घटनामा दुईको मृत्यु

इकागज |
फागुन २०, २०८० आइतबार २१:६ बजे

काठमाडौँ- काठमाडौँका दुई ठाउँँमा आज भएका बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ धुम्बाराही चोकमा बसको ठक्करबाट दोलखा गौरीशङ्कर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको मृत्यु भएको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसैगरी, काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे चोक डेरा गरी बस्ने ४३ वर्षीय सुजन गुरुङ आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न भागमा भएका घटनामा १० जनाको मृत्यु भएको छ । पाँच जना मृत फेला परेका र पाँच जनाको दुर्घटनामा परी ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी, ललितपुर महानरपालिका–४ एकान्तकुनास्थित खनाल पोल्ट्रीबाट नगद रु चार लाख र एक थान मोबाइल आज चोरी भएको छ ।


Author

थप समाचार
x