घटना-दुर्घटना

नर्स हत्या प्रकरणमा संलग्न रहेका प्रेमी होटलमा झुण्डिएको अवस्थामा भेटिए

इकागज |
चैत ५, २०८० सोमबार १०:३५ बजे

काठमाडाैँ - माेरङ​काे विराटनगरमा एक स्टाफ नर्स हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी झुण्डिएको अवस्थामा फेला परेका छन् । नोवेल टिचिङ अस्पतालकी स्टाफ नर्स चन्द्रिमाकुमारी दासको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका हुन् । 

अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स दास चार दिनअघि मृत फेला परेकी थिइन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । खोजीमा प्रहरी सक्रिय भएकै बेला दाससमेत मृत भेटिएका छन् ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी विराटनगर– ४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा फेला परेका छन् । 

सिराहको फुल्काहकट्टी नगरपालिकाकी बासिन्दा नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरामा बस्थिन् । उनको हत्या भएको अवस्थामा शव शुक्रबार दिउँसो कोठामै फेला परेको थियो ।
 
हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा  लागेको थियो । तर, उनी आफैँ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनले प्रयोग गर्ने मोबाइलको लोकेसन नोबेल अस्पताल आसपास नै देखिएको र ट्रयाक गर्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी जनाएको छ । 

प्रहरी होटेल फाइनमा पुग्दा ढोका बन्द भेटिएको र फोरेर हेर्दा दास झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x