पूर्वाधार

लागत साझेदारीमा सडक ढलान

इकागज |
साउन १५, २०७९ आइतबार १८:१६ बजे

लमजुङ- बेसीशहर नगरपालिका वडा नम्बर ८ आलेमुल–बुद्ध मेमोरियल गेट सडक लागत साझेदारीमा ढलान गरिएको छ । बेसीशहर नगरपालिकाको ६० र स्थानीयको ४० प्रतिशत लागत साझेदारीमा ७२ मिटर सडक ढलान गरिएको हो ।

सडक ढलानका लागि कुल १४ लाख २१ हजार ८ सय ६३ रुपैयाँ खर्च भएकोमा नगरपालिकाको ६० प्रतिशत अर्थात् ८ लाख ५३ हजार १ सय ३ रुपैयाँ र स्थानीयको ४० प्रतिशत अर्थात् ६ लाख ६८ हजार ७ सय ३५ रुपैयाँ खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम लामाले बताए । सडकको चौडाइ ४ मिटर र लम्बाइ ७२ मिटर रहेको छ ।


सडक निर्माण सम्पन्न भएसँगै आइतबार बेसीशहर नगरपालिकाका कार्यवाहक नगरप्रमुख पद्मा गुरुङले उद्घाटन गर्दै विकासको पहिलो पूर्वाधार सडक रहेको बताए। कार्यवाहक नगरप्रमुख गुरुङले स्थानीय तह एक्लैले विकास र समृद्धि ल्याउन नसक्ने भएकाले त्यसमा स्थानीयबासीको पनि सहभागिता हुनुपर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष पवित्रा रानाले लामो समयदेखिको सडक ढलान प्रयास सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता समिति र स्थानीयबासीलाई धन्यवाद दिए। सो अवसरमा उनले आगामी दिनमा पनि जनप्रतिनिधि र स्थाीयबासी सँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

सडक ढलानपछि माथिल्लो क्षेत्रमा आवतजावत गर्ने र स्थानीयबासिन्दा तथा बुद्ध मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई सहज भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम लामाले बताए ।

 


Author

थप समाचार
x