पूर्वाधार

निर्माणको काम ८४ प्रतिशत सकियो

विमानस्थल सञ्‍चालन मिति धकेलिँदै

महानगर, नेपाल आयल निगम, सिँचाइ कार्यालयको ढिलासुस्तीले एअरपोर्ट सञ्‍चालन मिति धकेलियो, नयाँ वर्षमा आन्तरिक उडान भर्ने लक्ष्य

अनिष भट्टराई |
असोज १४, २०७८ बिहीबार ११:१२ बजे

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत सकिएको छ । विमानस्थल निर्माणमा अहिले प्राविधिक कामहरू भइरहेका छन् । विमानस्थल निर्माण आयोजना प्रमुख विनस मुनकर्मीका अनुसार अहिले नेभिगेसन, मेटेरोलोजिकल तथा सर्भेलेन्सको कामहरू भइरहेका छन् । विमानस्थलको घेराबार गर्ने काम पनि अहिले चलिरहेको छ । टर्मिनल, ह्याङ्गरसँगै १४ भवनको निर्माण सकिएको छ । अब काम बाँकी छ त विद्युत जडानको । 

विमानस्थलमा अहिले १८५ चिनियाँ र २३० नेपालीले काम गरिरहेका छन् । असारसम्म निर्माण कार्य सकिने भनिएको यस विमानस्थलको निर्माण अवधि २०२२ जुलाइ १०  (२०७९ असार २६) सम्म बढाइएको छ । विमानस्थल हाताको काम तीव्र गतिमा बढिरहँदा बाहिरका काम भने भएका छैनन् । महानगर, सिंचाइ डिभिजन कार्यालय र नेपाल आयल निगमको ढिलासुस्तीका कारण विमानस्थल सञ्चालनको समय अझै लम्बिने देखिन्छ । 


विमानस्थल पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने भए पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । सरकारी वनको पुरक वातावरणीय प्रभाव मूल्यांकन ( इआइए) गर्नुपर्ने बाध्यता रहेपछि झनै ढिलाइ भएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । यसका लागि सुरुमा त्यहाँका रुखहरूको लगत संकलन गर्नुपर्नेमा डिभिजन वन कार्यालयले कोभिड देखाउँदै काम ढिला गरेको आरोप विमानस्थल आयोजनाको छ । लगत संकलन र पुरक इआइएका लागि अहिले अध्ययनकै चरणमा छ । ‘कानुनी अड्चनका कारण पनि विमानस्थल सञ्चालनमा ढिलाइ हुन सक्छ,’ मुनकर्मीले भने । 

विमानस्थलभित्र आयल डिपो निर्माणमा नेपाल आयल निगम पनि ढिलासुस्ती गरिरहेको छ । विमानस्थल आयोजना प्रमुख मुनकर्मीका अनुसार आयल निगमलाई पटकपटक पत्राचार गरेपनि डिपो निर्माणको कामलाई अघि बढाइएको छैन । डिपो निर्माणका लागि विमानस्थलले जग्गा छुट्याएको छ । विमानस्थलले २ वर्षदेखि पत्राचार गरिरहेपनि निगम भने बल्ल टेण्डर प्रक्रियामा गएको छ । ‘२ वर्षबाट लगातार पत्राचार, फोन सम्पर्क गर्‍यौँ, बल्ल डिजाइनिङ, ड्रइङको काम सकेर टेण्डरमा गएका छौं भन्नुहुन्छ, मन्त्रालयस्तरबाट निर्देशन दिनुपर्‍यो,’ मुनकर्मीले भने । 

विमानस्थल सञ्चालन गर्न नजिकैको ल्यान्डफिल साइटलाई हटाउनुपर्ने हुन्छ । विमानस्थलबाट २ किलोमिटरको दूरीमा ल्यान्डफिल साइट भएकाले विमानस्थल सञ्चालनमा आइहाले पनि विमान चरासँग ठोक्किन सक्ने खतरा अर्थात् बर्ड हाजार्ड हुने मुनकर्मी बताउँछन् । ल्यान्डफिल हटाउन विमानस्थल आयोजना कार्यालयले महानगरलाई पटकपटक पत्राचार गरेपनि काम भने हुन सकेको छैन । 

आइकाओ एसिया प्यासिफिक वन्यजन्तु तथा चरा नियन्त्रण कार्यक्रमका अध्यक्ष तथा नागरिक उड्यन प्राधिकरण प्रालिका निर्देशकसहितको टोलीले रङ्गेडाँडामा ल्यान्डफिल साइट बनाउन सकिने प्रतिवेदन दिएको थियो । तर महानगर भने प्रतिवेदन बेवास्ता गर्दै अहिलेसम्म पनि ठाउँ खोजी गरिरहेको बताउँछ । ‘अर्को ठाउँ खोजी गरेका छौं, त्यसको प्रतिवेदन आउन बाँकी छ,’ महानगरका इन्जिनियर सुरेन्द्र पौडेल भन्छन् । 

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वीभागमा बर्सेनि पहिरो खस्छ । पानीको निकास व्यवस्थित नहुँदा बाढी पनि जाने गरेको छ । गएको असार अन्तिम साता पोखरा १४ मझेरीपाटनमा बाढी आयो । साधना मार्गका २५ घर डुबानमा पर्ने खतरा थियो, बीचमै ढल फुटेर पानी अन्यत्र बगेपछि खतरा टर्‍यो ।

यहाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर उत्तर मनिपाल अस्पताल, काहुँखोलादेखि ५ सय हेक्टर जग्गाबाट बग्ने पानी र नाला आउँछ । पानी एकीकृत भई विमानस्थलमै प्रवेश गर्छ । यसले निर्माणाधीन विमानस्थल र स्थानीय दुवै मारमा छन् ।  विमानस्थल निर्माणमा सिँचाइको व्यवस्थापन एउटा गम्भीर समस्याको रूपमा देखिएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । 

ड्रेनेज व्यवस्थित गराउने सन्दर्भमा २०७६ पुस २६ मै सिँचाइ डिभिजन कार्यालयसँग विमानस्थल आयोजना कार्यालयको सहमति भएको थियो । जसअनुसार परिवर्तन टोलबाट औद्योगिक क्षेत्र कदम मार्ग हुँदै विमानस्थलको पश्चिमतर्फको सिमानामा बनेको डाइभर्सन क्यानल (वैकल्पिक नहर)सम्म आवश्यक क्षमता बढाइ दक्षिणी नहर सुचारु गर्नुपर्नेछ । साथै परिवर्तन टोलबाट पुरानो नहर विमानस्थलको सिमानामा पुगेपछि बनेको कुलो सञ्चालन गरेर विमानस्थलको दक्षिणपूर्वी कुनासम्म प्राविधिक रुपमा पानी सञ्चालन गर्न सकिने स्थानसम्म पुर्‍याएर बाँकी नहर सुचारु गर्न पनि सिंचाइ विकास डिभिजन कार्यालयले विकल्प तयार गरेको थियो । यो विकल्प अनुसार नहर व्यवस्थापन गर्न ३४ करोड भार पर्ने प्रतिवेदनमा उल्लेख छ । ‘सिँचाइ कार्यालयले अहिले बजेटको समस्या देखाएको छ, सरकारले बजेट व्यवस्था गरेर यो समस्या हल गर्न लाग्नुपर्‍यो,’ मुनकर्मीले सुझाए । 

विमानस्थलले जग्गा अधिग्रहण गर्दा सुरुमा ३ अर्ब ८८ करोड खर्च भएको र नयाँ जग्गा अधिग्रहणमा ७९ करोड रुपैयाँ खर्च भएको विमानस्थल आयोजना कार्यालयले जानकारी दिएको छ । निर्माणाधीन कम्पनी चाइना सिएमसी इन्जिनियरिङलाई १६ अर्ब बढीको भुक्तानी आयोजनाले बुझाएको छ । विमानस्थल निर्माणका लािग २०३२ सालबाट अधिग्रहण सुरु गरिएको थियो । अहिलेसम्म ३१ सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको छ । ९९ प्रतिशत जग्गा अधिग्रहण पूरा भइसकेको विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

नयाँ वर्षमा आन्तरिक उडान ? 
नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराका प्रमुख विक्रम गौतमले नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भर्ने महत्वाकांक्षी योजना सारेका छन् । पहिलो चरणमा सुरक्षा र सुविधालाई राम्रो बनाउनु पर्ने र मध्यमकालीन लक्ष्यमा नयाँ वर्षका दिन आन्तरिक उडान भर्ने योजना सारे । ‘म महत्वाकांक्षी व्यक्ति हुँ र अहिले सिफारिस गर्ने पोजिसनमा छु । नयाँ वर्षका दिन आन्तरिक उडान भरौं न, पहिला विमानस्थलको सेफ्टि, सेक्युरिटी र फ्यासिलिटी राम्रो बनाऔं,’ उनले भने । 

मुख्यमन्त्रीले गरे अवलोकन 
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोलीले बुधबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेको छ । मन्त्रीहरु कुमार खड्का, रामजी बराल, विन्दुकुमार थापा र मणिभद्र शर्मा कँडेल सम्मिलित टोलीले विमानस्थल अवलोकन गरेका हुन् । 

विमानस्थल अवलोकन पछि बोल्दै मुख्यमन्त्री पोखरेलले विमानस्थल सञ्चालनमा प्रदेश सरकार गम्भीर ढंगले हेरेको बताए । विमानस्थलमा नहरको व्यवस्थापन गरेर विमानस्थललाई लामो समयसम्म बचाउने गरी काम गरिनुपर्ने उनको तर्क थियो । विमानस्थल सञ्चालनमा आउने प्राविधिक पक्ष भन्दा पनि पहिला भौतिक पक्षको काम सकाउनु पर्ने मुख्यमन्त्री पोखरेलले बताए । नहर व्यवस्थापनका लागि अनसमान गरिएको ३४ करोड रुपैयाँको व्यवस्थापन गर्न संघ सरकारसँग आफूहरूले पहल गर्ने र केही सहयोग प्रदेश सरकारले नै गर्ने बताए ।


Author

थप समाचार
x