पूर्वाधार

नारूगौडा-जालेबगर सडक पुन: सन्‍चालनमा नआउँदा बझाङमा खाद्यान्‍न र औषधि अभाव

दीपक उपाध्याय |
कात्तिक १७, २०७८ बुधबार १३:४९ बजे

कैलाली - गत असोज ३१ गतेदेखि लगातार परेको बर्षाका कारण कात्तिक ३ गतेदेखि बझाङ अबरुद्ध बझाङ जोड्ने जयपृथ्वी राजमार्गको नारूगौडा-जालेबगर सडक खण्ड पुन: सन्‍चालन हुन नसक्दा बझाङमा खाद्यान्नलगायत औषधिको अभाव हुन थालेको छ । बर्षाले जयपृथ्वी राजमार्गको केदारस्यु गाउँपालिका १ नारूगाड र छबिसपाथिभेरा गाउँपालिकाको जालेबगर सडक खण्ड करिब एकसय ५० मिटर बगाउँदा बैतडी भएर बझाङ पुग्ने सडक अबरुद्ध भएको हो ।


केदारस्यु गाउँपालिकाक अध्यक्ष ईन्द्रबहादुर भण्डारीले सडक अबरुद्ध हुँदा निकै सास्ती भएको बताए । उनले सडकनै बाढीले बगाएपछि नयाँ ट्र्याक खोल्ने काम भैरहेको बताउदै चट्टानी पहाडका कारण निकै समस्या भैरहेको बताए । उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले सडक अबरुद्ध हुँदा बजारमा खाद्यान्नलगायतका सामाग्री अभाव हुनुका साथै कालो बजारीसमेत भैरहेको बताए ।

उनले सडक सुचारु गर्न ढिलाई गरे बझाङ सदरमुकाममा धेरै बस्तुको अभाव भई हाहाकार हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे । सडक छिटोभन्दा छिटो पुन: सुरु गर्न  जिल्ला प्रशासन कार्यालय बझाङलाई ज्ञापनपत्र बुझाएको बताउदै अध्यक्ष सुर्मेलीले प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।

सडक डिभिजन कार्यालयले जिलेटिन प्रयोग गरेर चट्टान फोड्ने र भत्किएको सडकको माथिल्लो भाग भएर ट्र्याक खोल्ने काम भैरहेको जनाएको छ । बझाङ सडक खण्डका इन्जिनियर बर्ख कठायतले पुरै चट्टान भएका कारण सडको ट्र्याक खोल्न निकै गाह्रो भैरहेको बताए । उनले जिलेटिन प्रयोग गरेर चट्टान फोड्ने काम भैरहेको बताउदै करिब हप्तादिन भित्रमा अस्थायी रुपमा ट्र्याक खोलिने बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x