वार्ता

'चुनावमा एजेण्डा छरेजस्तो हुन्‍न काम गर्न, समय लाग्न सक्छ' (अन्तर्वार्ता)

निम्‍न वर्गलाई स्वास्थ्य, खानेपानी तथा विद्युत् नि:शुल्क गराउने योजना छ

सरिता दाहाल |
जेठ २०, २०७९ शुक्रबार १९:५८ बजे

११ मध्ये हेटौंडा एक मात्र महिला नेतृत्व पाएको उपमहानगरपालिका हो । जसको नेतृत्व मीनाकुमारी लामाले गरेकी छन् । यसअघि एक कार्यकाल उपप्रमुखको जिम्मेवारी निभाइसकेकी लामालाई यसपालि हेटौंडाबासीले प्रमुखको जिम्मेवारी दिएका छन् । लामासँग अबकाे पाँच वर्षे योजनाबारे इकागजकर्मी सरिता दाहालले गरेको कुराकानी:

पहिले उपमेयर हुनुहुन्थ्यो, अहिले मेयर बन्नुभयो । यहाँसम्म आइपुग्न कस्ता चुनौती सामना गर्नुभयो ?


हेटौंडावासीप्रति एकदम आभारी छु । उहाँहरूकै कारण आज म यहाँ छु ।

जहाँसम्म चुनौतीको कुरा छ । यो त जहाँ पनि हुन्छ, जहिले पनि हुन्छ । अस्ति घर धान्दै गर्दा पनि केही समस्या र चुनौती थिए, हिजो उपमहानगरको उपप्रमुख हुँदा पनि थिए र आज नगरप्रमुख हुँदा झन् नहुने कुरै भएन । सबै कुरालाई व्यवस्थापन गर्दै सुल्टाउँदै अघि बढ्ने हो । हेटौंडाबासीसँग मैले उपप्रमुखको भूमिकामा रहेर ५ वर्ष काम गर्दा गरेको सहकार्य, मेरो क्षमता र दक्षताले नै आज मलाई थप जिम्मेवारी दिनुभएको हो । 

महिला भएकै कारण केही अतिरिक्त चुनौती सामना गर्नुपर्‍यो कि ?

महिलाले गर्न सक्दैन भन्ने सोच अब छैन । अहिलेको समाज भनेको छोरीलाई समान अवसर र शिक्षा दिएर समान दौडमा सहभागी गराउने र जिताउने सोच बोकेर हिँडेको समाज हो । हेटौंडाबासीले यसको प्रमाणित गरिदिनु भएको छ । महिलाको प्रतिष्पर्धा पुरुषसँग हुँदा हार्छ कि भन्ने डर धेरैमा थियो, तर म अडिग थिए । जुन डरलाई हेटौंडामा मतदाताहरूले केही हैन भनेर देखाइदिनु पनि भयो । छोरीले पनि सक्छ, गर्छ भनेर ममाथि विश्वास गरेर मत दिनुभयो । म नगरप्रमुखको पदमा रहँदा उहाँहरूको अपेक्षा मर्न दिनेछैन । सिकाइ सबैभन्दा बलियो आधार हो । म उपप्रमुख भएर जे सिके आज म मेयर हुनसक्नुको मुख्य खुड्किलो, आधार त्यही हो । 

धेरैको कुरा आउँछ, महिलालाई घर व्यवहार धान्नुपर्दा पछि परेको बारेमा । जति पनि महिलाहरू सफल हुनुभयो उहाँहरूले पनि आफ्नो घरव्यवहार सम्हालेरै बाहिर पनि सफल हुनुभएको छ । घर व्यवहार भनेको व्यवस्थित गर्ने कुरा हो । यसको पनि एउटा सीप हुनुपर्छ । मैले पनि घरलाई एउटा सिस्टममा बसाएर आएको हुँ । बालबच्चाको व्यवस्थापन र परिवारको सदस्यलाई विश्वास दिलाउन सक्नुपर्छ ।

परिवारको सहयोग पाउने अवस्था आफैंले सिर्जना गर्नुपर्छ । आफूले घर परिवारप्रतिको विश्वास र सहयोग पाउन सकियो भने योभन्दा बलियो आधार अरु केही हुनै सक्दैन । श्रीमानकै कारण बालबच्चाको कारण म गर्न सक्दिन भनेर सोच्ने मानसिकता झिकेर फाल्नुपर्छ । आफूले आँट गरेर घर बिगारेर हैन, व्यवस्थापन गरेर निस्कँदा सफलता पाउन सकिन्छ ।

अबको ५ वर्षमा हेटौंडा उपमहानगर कस्तो बनाउनु हुन्छ ?

हिजो म नगरको उपप्रमुख हुँदा पनि धेरै काम भएका थिएँ । हिजो मैले कुनै दल/गठबन्धनको प्रतिनिधित्व गरेर चुनाव लडेँ । चुनावी प्रक्रिया अनुसार मतदाताहरूले पनि भोटिङ गर्नुभयो । नतिजामा म अगाडि आएँ । तर अब म कुनै दलको हैन, म सिङ्गो हेटौंडाको अभिभावक हुँ । मैले कसैलाई काखा र कसैलाई पाखा गरेर हैन, नगरको आवश्यकतालाई हेरेर काम गर्ने हो, मैले यसै गर्ने छु ।

चुनौती अस्ति घर धान्दा र हिजो उपप्रमुख हुँदा पनि थिए, आज नगरप्रमुख हुँदा नहुने कुरै भएन

जनप्रतिनिधि हुन धेरै गाह्रो छ, त्यो भन्दा गाह्रो उहाँहरूको इच्छालाई सम्बोधन गर्नु छ । सबै उम्मेदवार जित्नकै लागि मैदानमा उत्रिएका बेला सबैले आ-आफ्नो एजेण्डा बजारमा छरे, त्यो एजेण्डा बजारमा छरे जस्तो हुन्न काम गर्न । काम गर्दै जाँदा विधि र प्रक्रिया अनुसार अघि बढ्नुपर्ने हुन्छ । समय लाग्न सक्छ । मैले पनि गठबन्धनले उठाएका योजनाहरू पूरा गर्छु भनेको छु । गर्छु पनि । केही काम सुरु भैसकेका छन् । सानै समस्याको कारण नगरपालिकाको सेवा लिनका लागि एक कल समस्या भनेर हामीले नगरपालिकामा काम सुरु गरिसकेका छौँ । 

गरिब परिवारको लागि स्वास्थ्य बीमाको कार्यक्रमबारे निर्णय भइसकेको छ । सडकको बीचमा राखिएका पोलहरू हटाउन विद्युत प्राधिकरणसँग कुरा अघि बढेको छ । अब चाँडै आगामी आर्थिक वर्षको लागि बजेट कार्यक्रम सार्वजनिक हुँदैछ । ठूला योजना तथा कार्यक्रमहरू बजेट कार्यक्रम पछि सुरु हुनेछन् ।

अबको ५ वर्ष उपमहानगरलाई कस्तो बनाउने भन्ने सवालमा मेरो केही प्राथमिकता योजनाहरू छन् । समग्रमा हेटौंडाको चौतर्फी विकास अबको एजेण्डा हो । हेटौंडा सुन्दर र हरियाली सहर हो । अहिले हेटौंडा प्रदेशको राजधानीसमेत भएको छ । सातै प्रदेशको राजधानी रहेको सहरमध्ये अब्बल सिटीको रुपमा यसलाई विकास गर्नुछ । हामीले विकास निर्माणका धेरै काम गरिरहँदा महिला, बालबालिका, लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिकको क्षेत्रमा पनि काम गर्नुपर्नेछ । युवा, कृषक तथा उत्पादनशील क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने हुन्छ; यसका लागि हामी योजनाबद्ध ढंगले काम गर्नेछौं ।

प्रमुख र उपप्रमुख हुनुमा धेरै फरक छ । मैले उपप्रमुख हुँदा पनि काम नगरेको भने होइन । स्थानीय स्वायत्त ऐन २०७४ ले व्यवस्था गरेअनुसार न्यायिक समिति, राजस्व, अनुगमन तथा संघसंस्थासँगका समन्वयका विषयहरू थिए । उपमेयर हुँदा कानुन निर्माण गर्नुपर्ने जिम्मेवारी पनि थियो । मैले उपमेयर हुँदा सम्पूर्ण क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाएको थिएँ ।

हेटौंडा बजारको पहिचान गराउने स्मार्ट सिटी निर्माण, बृहत बसपार्क निर्माणलगायतका अघिल्ला योजनाहरूलाई पूर्णता दिन बाँकी छ । हेटौंडा प्रदेशको राजधानी भएकाले त्यसलाई सुहाउने गरी विकास निर्माण गर्नु जरुरी छ । हेटौंडाबासीको आवश्यकतालाई मनन् गर्दै उहाँहरूको सल्लाह र सुझावलाई समेटेर हामी अघि बढ्नुपर्ने छ । हामी त्यसै अनुसारको योजनाहरू बनाउँने छौ । भौतिक पूर्वाधारको विकाससँगसँगै खानेपानी, स्वास्थ, शिक्षा र सामाजिक विकासमा पनि काम गर्नुछ।

मेरो कार्यकालमा हेटौंडामा कम्तिमा एउटा प्रसूति अस्पताल बनाउने, वडा वडाको शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्यकर्मीसहित व्यवस्थित गराउने,स्वास्थ्य सेवा, खानेपानी तथा विद्युत सेवामा निम्नवर्गका व्यक्तिका लागि निशुल्क गराउने योजनाहरू छन् ।

स्वास्थ्य सेवामा हेटौंडा फेरि पछाडि पर्न थालेको गुनासो जनताको छ, नगरप्रमुखको के भूमिका हुन्छ यसमा ?

हो, हेटौंडाको स्वास्थ्य अवस्थाको अलि गम्भीर छ । व्यक्तिको बाँच्न पाउने अधिकारको पनि सम्मान हुनुपर्छ । सर्वसुलभ अधिकार संविधानले दिएको हक पनि हो । तर हेटौंडामा यसको अवस्था नाजुक नै छ । यो विषयलाई ध्यानमा राख्दै मैले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर यो क्षेत्रलाई सुधार्ने मेरो पहिलो योजना बनाएको छु ।

सरकारी अस्पताललाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न आवश्यक पर्ने वातावरण तयार पार्न मेरो पहल हुनेछ । यो जनताको प्रत्यक्ष चासोको विषय हो । हेटौंडा अस्पतालको स्तर वृद्धिसँगै मेरो पाँचवर्षे कार्यकालमा हेटौंडाभित्र महिला प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने हाम्रो योजना छ ।

प्रदेश र संघीय सरकारसँगको सहकार्यमा हामीले स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिनेछौँ । स्वास्थ्य क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई समेत हामी प्रोत्साहन गर्नेछौं । प्रत्येक वडामा एम्बुलेन्सको व्यवस्था गर्नेछौं । वडामा रहेको स्वास्थ्य क्लिनिकमा विशेषज्ञ डाक्टरसहित सुविधा सम्पन्न बनाउने गरी काम गर्नेछौं ।

महिला तथा आम युवाको लागि पनि केही कार्यक्रम छ कि ?

म महिला भएको कारण पनि महिलाको सशक्तीकरण मेरो जिम्मेवारी नै हो । महिलाद्वारा महिलाको सशक्तीकरण भन्ने अभियान नै सुरु गर्नेछु । नगरको उपप्रमुख हुँदा गठन भएको महिला जागरण समूहमार्फत नै हामीले महिला क्षेत्रको लागि काम गर्न सक्नेछौँ । 

यसै गरी युवाहरूलाई स्वरोजगार बनाउन मेरो भूमिका रहनेछ । हेटौंडाको माटोलाई उत्पादनसँग जोड्न हामीले युवा शक्तिलाई अगाडि बढाउनै पर्छ । हामीले कृषि होस् वा अन्य उत्पादनशील क्षेत्रमा काम गर्ने जनशक्ति तयार गर्न जरुरी रहेको छ । त्यो युवाबाट मात्रै सम्भव हुन्छ । यस विषयमा म जानकार पनि छु । हामीले युवा लक्षित विशेष कार्यक्रम ल्याउँछौं । उनीहरूलाई स्वरोजगारको माध्यमबाट आत्मनिर्भर बनाउने प्रयास मेरो रहनेछ ।

यसैगरी हेटौंडा नगरलाई बाल मैत्री नगर घोषणा गर्ने कुराहरू, यहाँका किसानको समृद्धिका सवालहरू, युवाको क्षमता विकास, राष्ट्रिय अन्तराष्ट्रिय स्तरको खेल क्षेत्रको विकास महिलाको आकर्षण बढाउनु छ । पूर्वाधार विकासमा हामीले तन मन धन लगाउँछौ भने अब सामाजिक क्षेत्रको विकासको लागि पनि ध्यान दिनुपर्छ।

नगरकार्यपालिकाको पहिलो बैठक नै २ पटक स्थागित भैसक्यो, किन विवादमा आउनुभयो ? 

त्यस्तो विवादको विषय छैन । केही साथीहरूले दलको आस्था बोकेर नगरको सवाललाई ध्यान नदिनु भएको कारण समस्या भएको हो । हामीले विवादमा आउनु पर्ने केही काम गरेका छैनौं । आफ्नो बहुमतको दम्भ बोकेर नगरकार्यपालिकामा घमण्ड गर्नु राम्रो हैन । यो विषय सुल्झाउने छौ । सानातिना कुरामा अल्झेर नगरको विकास रोक्नु हुँदैन । साथीहरूलाई पनि म यही भन्न चाहन्छु ।
 


Author

थप समाचार
x