वार्ता

'गठबन्धन पराजयको मानसिकताबाट आत्तिएको छ'

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १८:४६ बजे

निर्वाचनको मिति नजिकिँदै छ । राजनैतिक दलहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली सत्तारूढ दलहरू गठबन्धन बनाएर चुनावी मैदानमा छन् भने विपक्षमा नेकपा एमालेले पनि बाँकी दलहरूलाई समेटेर निश्चित ठाउँमा तालमेल गरेको छ । एमालेले चुनावी अभियान कसरी गरिरहेको छ ? प्रस्तुत छ उपमहासचिव विष्णु रिमालसँग गरिएको चुनावी सम्वाद :

देशभरको चुनावी माहोल कस्तो पाउनुभएको छ ?


अहिले हामी निर्वाचन प्रचाको अन्तिम चरणमा छौँ । देशभरी एमालेको परिस्थिति राम्रो छ । राम्रोको अर्थ के हो भने विगतमा गठबन्धनले क्षति पुर्‍याउँछ र गठबन्धनका अगाडि एमालेले केही पनि गर्न सक्दैन भन्ने सत्यहरू अहिले आफैँ नै एमाले माथि गयो भन्नेमा पुगेका छन् । त्यो हिसाबले हेर्दा हाम्रो पार्टीमा मनोबल बढेर गएको छ । धरातलीय यथार्थ पनि के छ भने गठबन्धनका मानिसहरूले आफ्नो जित्नुपर्ने कारणको न्यायोचित जवाफ दिन सकिरहेका छैनन् । जनताहरूले सोधिरहेका छन्, अब तपाईको नेता को हो ? गन्तव्य के हो ? विषय के हो ? उहाँहरूसँग त्यो एजेण्डा छैन । फरक–फरक पार्टी मिलेर गठबन्धन बनेको कारणले गर्दा उहाँहरूको फरक–फरक जवाफ छन् । कतिपय ठाउँमा ठिक जवाफ दिँदा गठबन्धनमा दरार आउने भएकाले उहाँहरू जवाफ दिनसक्ने तहमा हुनुहुन्न । त्यो स्थितिले हामीलाई लाभ पनि भएको छ । किनभने एमालेले आफ्नो नेता अगाडि सारेको छ । एमालेले एजेण्डा सारेको छ । अझ सरल भाषामा त हामीले पाँच वर्ष एमालेले गर्छ भनेर २० वटा ग्यारेन्टी नै अगाडि सारेका छौँ । जुन हाम्रो घोषणापत्रको संक्षेपीकरण जस्तै नै हो । त्यो हिसाबले सारमा भन्दा अहिले हामी अगाडि छौँ । र अगाडि बढी नै रहेका छौँ । यदि बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भने पनि अहिले गठबन्धनमा रहेको शक्तिहरूको पारो ओरालो लाग्ने र एमालेको पारो उकालो लाग्ने यो हिसाबले गइरहेको मैले देख्छु ।

एमाले पछि पर्दै त छैन ? बाहिर आएको तथ्यांकलाई लिएर तपाईहरूको विश्लेषण के हो ?

पहिलो कुरा बाहिर आएको भनिएको तथ्यांक आफैँमा नक्कली छ । किनभने सर्वेक्षण गर्नै पाइँदैन । सर्वेक्षण गर्ने भरपर्दा संस्थाहरूले पनि आफ्नो सर्वेक्षणको प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन् । अब सरकारका संयन्त्रले गरेका कुनै त्यस्तो सूचना छन् भने पनि ती संस्थाहरूले बाहिर ल्याउन पाउँदैनन् । गृहमन्त्री स्वयमलेसमेत राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनि नक्कली अंकहरू बाहिर ल्याएको मैले सुनेको छु । मेरो आफ्नो बुझाइमा मैले सत्तामा रहँदा र सरकारमा रहँदा भएका कामको अनुभवको आधारमा त्यस्ता संस्थाका कुनै पनि सूचना सेयरिङ हुँदैनन् । बाहिर सर्कुलर गर्न पनि पाइने होइन । त्यो त आचारसंहिताको कुरो पनि थियो । गठबन्धनका साथीहरू पराजयको मानसिकताबाट आत्तिनुभएको छ । विभिन्न ठाउँमा हिंसा पनि बढिरहेको छ । केही मानिसहरू घाइते भइरहेका छन् ।
केही दिनदेखि आक्रमणमा उत्रिएको छ गठबन्धन । अर्को दलको प्रचार टिममाथि आक्रमण गर्ने, अर्काको कार्यक्रममा जान नदिने र नक्कली सूचना बाहिर ल्याउने भनेको स्वतः आफैँमा के बुझ्नुपर्छ हामीले भने यो पराजयको कारणले हतास मनस्थितिले आएको कुराहरू बुझ्नुपर्छ । त्यसकारणले जे तथ्य, तथ्यांकहरू बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् । म चुनौती नै दिनसक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त । 

पार्टी कमिटीहरू कसरी परिचालित भइरहेका छन् ?    

प्रचार, परिचालनको हिसाबले एमाले पछाडि छैन । पहिलेको भन्दा पृथक प्रचार छ । अहिले हामी पोष्टर टाँस्न पाउँदैनौँ । जुलुस निकाल्न पाउँदैनौँ । घरदैलोमा पनि सीमित संख्यामा मात्रै जानुपर्छ । २५ को संख्या तोकेको छ । १० वटाभन्दा बढी झण्डा बोक्न पाइदैनँ । यो आचारसंहिताको कारणले गर्दाखेरी पहिलेको जस्तो ठूलो संख्यामा जाने रौनक देखिँदैन । पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएनकि भन्ने लाग्नु स्वभाविक नै हो । हामीले आमसभाको माध्यम तोकिएको ठाउँमा मात्रै जुन कमिटीहरूले आवश्यक ठान्नुभएको छ, त्यो ठाउँमा मात्रै गरेका छौँ । जहाँ अध्यक्ष पुग्न सक्नुभएन र उहाँहरूलाई ठूलो सभा गर्न मन लाग्यो त्यो ठाउँमा मात्रै हामीले ४० ठाउँ छानेका थियौँ त्यसमध्ये निश्चित ठाउँमा अहिले अध्यक्ष गइरहनुभएको छ । 

त्यसकारणले जहाँ जहाँ अध्यक्ष जानुभयो जनसागर उर्लिएको नै हामी पाउँछौँ । त्यो हिसाबले राम्रै देखिन्छ । बढी हामीले सामाजिक सञ्जाल प्रयोग गरेका छौँ । वैकल्पिक माध्यमहरू प्रयोग गरेका छौँ । केही अनलाइनमा विज्ञापन गर्‍यौँ । सामाजिक सञ्जालमा स्वतःस्फुर्त रुपमा एमालेको प्रचार व्यापक नै गइरहेको छ । मतदाताहरूले कसरी मत हाल्ने ? आफ्नो नम्बर कहाँ छ ? लिस्ट पाएको छ कि छैन घरमा ? हामी पहिले प्रत्येक मतदाताको नाम लेख्थ्यौँ र घरघरमा गएर तपाईको यति नम्बरमा छ भन्थ्यौँ । अब तीन/चार दिन बाँकी छ । ती दिनमा पूर्णता आउला । 

गठबन्धनको चुनाव प्रचारलाई कसरी लिनुभएको छ ?

हामी हाम्रो पार्टी समर्थकलाई मात्रै होइन आम मतदातालाई के भनिरहेका छौँ भने अहिले गठबन्धन सबैखालको हतकण्डा प्रयोग गर्न पनि उद्यत रहनसक्छ । यसमा शतर्क रहनुस् भनेका छौँ । बिहानीले दिन बताउँछ भनेको जस्तै केही ठाउँमा भएका हिंसाले यो चुनाव हिंसारहित होला कि नहोला भन्ने शंका उत्पन्न भएको छ । हामीले यसमा शतर्क हुनुस् भनेका छौँ । स्रोत, साधनको दुरुपयोग गर्नुहुँदैन । सत्तामा रहने बढी शतर्क हुनुपर्छ । कि आचारसंहिता नै बनाउनु हुँदैन । बनेको आचारसंहितालाई प्रभावकारी ढंगले पालना गर्नुपर्छ । 

न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x