राउटे समुदाय गाउँपालिकाको पहिचान हुन् : अध्यक्ष वली
कर्णाली प्रदेशको दैलेखस्थित गुराँस गाउँपालिका, जसले राउटे उत्थानका कार्यक्रम सञ्चालन गरेको छ । गुराँस रोजगार कार्यक्रममार्फत बेरोजगार युवाहरूलाई रोजगारका कार्यक्रम सञ्चालन गरेको छ, जसका कारण कोभिड महामारीको समयमा पनि विकास निर्माणका काम सुचारु भइरहेका छन् भने युवाहरूको पनि रोजगारी गुमेन । गाउँपालिकाका अध्यक्ष खेमराज वलीसँग समसामयिक विषयमा सुर्खेतस्थित इकागजकर्मी लक्ष्मी भण्डारीले गरेको कुराकानी :
गुराँस गाउँपालिकाले कस्ता कार्यक्रम तथा योजनाहरू सञ्चालन गरेको छ ?
गुराँस गाउँपालिकाले सडक निर्माण, विद्युतीकरण निर्माणलगायत पूर्वाधारका काम भइरहेका छन् । गाउँपालिकाको रानीमत्ता भन्ने ठाउँमा गुराँस अस्पताल सञ्चालन गरेका छौँ । गाउँपालिकामा सडक निर्माण, गुराँस चक्रपथ, विद्युतीकरण, यहाँका सबै स्वास्थ्य कार्यालय लगायतका पूर्वाधार निर्माण काम चलिरहेको छ ।
यो कोभिडमा के गरिरहनु भएको छ ?
कोभिडका कारण रोजगारी गुमाएका युवाहरूका लागि साझेदारीहरू संस्थासँग समन्वय गरेर कार्यक्रम ल्याएको छ र पालिकाको आफ्नै तर्फबाट रोजगार र स्वरोजगारका कार्यक्रम सुचारु गरेको छ । प्रधानमन्त्री–रोजगार, मुख्यमन्त्री–रोजगार र गुराँस कार्यदल जस्ता रोजगार कार्यक्रमबाट पालिकाका एक हजार तीन सय बढी लाभान्वित भएका छन् । स्वरोजगारका क्षेत्रमा साझेदार संस्थाहरू र गाउँपालिकाका कृषि शाखा पशुपंक्षी शाखा र लघु–उद्यम शाखाको तर्फबाट यो वर्ष मात्र करिब नौ सय बढी युवाहरू स्वरोजगार भएका छन् । कोभिडका कारण समस्याग्रस्त व्यक्तिहरूका निम्ति निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेका छौँ । गुराँस अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गरेका छौँ । कोभिडबाट धेरै अशक्त भएकालाई बाहिर पठाउनुपरेमा हामीले एम्बुलेन्स सेवा र निःशुल्क उपचारका लागि आवश्यक खर्चको व्यवस्था गरेका छौँ ।
गुराँस रोजगार कार्यक्रम सञ्चालन गर्नुभएको छ त्यसले कस्तो खालको प्रभाव पारेको छ ?
गाउँपालिकामा आर्थिक वर्ष २०७४/०७५ बाटै हामीले बेरोजगार युवाहरूको तथ्यांक संकलन गरेका थियौँ । त्यसमा करिव २ हजार आठ सय जना बेरोजगार भेटिएका थिए । उनीहरूमध्ये पनि गरिब, असहाय, पछाडि परेका वर्ग, काम गर्न सक्ने र सीप भएका व्यक्तिहरूको मापदण्ड बनाएर ८० जना व्यक्तिहरूलाई कार्यदलमा समावेश गरेका थियौँ । पछिल्लो समय यसलाई निरन्तरता दिएका छौ । हाल पनि एक सय ६० युवाहरू गुराँस कार्यदलमा हुनुहुन्छ । जसको गुराँस रोजगार नामाकरण गरेका छौँ । उहाँहरू आफ्नै गाउँमा काम गर्नुहुन्छ र त्यसले गर्दा जिविकोपार्जनमा सजिलो भएको छ । दोस्रो कुरा जुन कार्यदल परिचालन गरी गाउँका सडक, खानेपानीका योजना र सिँचाई करिब एउटा वडामा १५ भन्दा बढी योजना मर्मतका काम भएका छन् । सानातिना मर्मत सम्भारका काम र व्यवस्थित सडक बनाउने काम हुँदैछ । हामीले यसरी सुरु गरेको कार्यक्रमपछि कर्णालीका अरु ठाउँमा लागू भएको छ । त्यसपछि प्रधानमन्त्री-रोजगार र मुख्यमन्त्री–रोजगारका कार्यक्रम पनि आएका हुन् ।
कोभिडको महामारीमा पनि विकास निर्माणका काम नियमित सञ्चालन गर्नुभएको थियो, कसरी सम्भव भयो ?
हाम्रो गाउँपालिकामा कोभिडको त्यति धेरै प्रभाव देखिएन । सामान्य संक्रमित देखिएपनि जटिल खालका संक्रमित कमै मात्रामा देखिए । त्यसो भए पनि हामीले भौतिक दुरी कायम गर्दै, स्वास्थ्यका मापदण्ड पालना गर्दै विकासका काम रोकेनौँ । स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकासका गतिविधि पनि रोकेनौँ, जसका कारण गाउँपालिकामा कुनै पनि युवाहरूको रोजगार गुमेन । अर्काे त, गतवर्ष महामारीको समयमा राहत वितरण गरेका थियौँ । त्यही सिकाईबाट राहत भन्दा पनि उनीहरूलाई रोजगारी दिनु नै उपयुक्त लाग्यो ।
तपाईँहरूले फिरन्ते राउटे उत्थान कार्यक्रम पनि गर्नुभएको थियो, त्यो कुन अवस्थामा छ ?
राउटे समुदायलाई हामीले २०७४ असार ३० मा परिचय–पत्र उपलब्ध गराएका थियौँ । उहाँहरूसँग समन्वय गरी सामान्य प्रशासन मन्त्रालयसँग पनि समन्वय गरेर हाम्रो एमआइएस प्रणालीमा इन्ट्री गरेर गुराँसका नागरिकका रुपमा लिएका छौँ । राउटे भनेको पहिचान हो भनी गाउँपालिकालाई राज्यले हेर्ने दृष्टिकोण पनि थप आर्थिक स्रोतका साथ बढेको छ । राज्यले बजेट मापन गर्दा जनसंख्या, भूगोल, आर्थिक क्षमता, पहिचान र सामथ्र्य यी पाँच आधारलाई मानी दिने गर्छ । तीमध्ये गाउँपालिकाको पहिचान भनेको राउटे समुदाय हुन् । त्यसकारण दैलेखका ११ स्थानीय तहमध्ये दुई वटा नगरपालिका पछि हाम्रोमा धेरै बजेट आउँछ । दोस्रो कुरा, हाम्रा नागरिकहरू बसाईँ–सराइंँको क्रममा वा घुमन्ते रुपमा जिल्लामा जाने गर्नुहुन्छ । उहाँहरू जहाँ भएपनि उहाँहरूको खानपान, समस्या, सामाजिक सुरक्षा भत्ताका विषयमा विशेष गरेर हाम्रो गाउँपालिकाको सामाजिक शाखाले समन्वय गर्छ । हामीसँग साझेदारी गरेर साझेदारी संस्थाहरूले पनि गर्नुहुन्छ । हामी स्वयं वडा नम्वर आठको कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण दुई तीन महिनाका बीचमा उहाँहरू जहाँ हुनुहुन्छ, त्यही गएर वितरण गर्दै आएका छौँ । गाउँपालिकाबाट राउटे जहाँ गएपनि उहाँहरू घुमन्ते भएपनि हाम्रा नागरिक हुन् । हाम्रो जनता हो त्यसैका आधारमा गाउँपालिकाले आफ्नो काम अघि बढाएको छ ।
आगामी वर्षको लागि कस्ता खालका योजना ल्याउने तयारी छ ?
हामी गाउँपालिका विशेष गरेर पहिलो वर्षदेखि नै सामाजिक सुरक्षाका कार्यक्रम अघि बढाएका छौँ । जीवन सुरक्षा कोष कार्यक्रम व्यवस्थित गरेर लैजनुपर्छ । गाउँपालिकामा जन्मिएका सबै नागरिकहरूले राज्यबाट १० हजार उपलब्ध गराउँछौँ । उहाँहरूको निरन्तर चक्रीय ब्याजको आधारमा उहाँहरूको रकम सहकारीमा जम्मा भएको छ । २० वर्षपछि सहकारीबाट पाउनुहुन्छ । यस्तै आमाबुवा नभएका एकदमै पीडित परिवारका जोखिममा रहेका बालबालिकालाई २५ हजार उपलब्ध गराउँछौँ । जीवनमा एकपटक राज्यले सहयोग गर्ने हो भन्ने हाम्रो नीति हो, त्यसैका आधारमा जीवन सुरक्षा कोष र जोखिम बालबालिका सुरक्षा कार्यक्रम सञ्चालन गरेका छौँ । यसैगरी साझेदारी व्यवसाय, पनि सुरु गरेका छौँ । एम्बुलेन्स सेवा ५० प्रतिशत छूटमा पनि सुचारु गरेका छौँ । ती कार्यक्रम नियमित रुपमा अघि बढ्छ । सडक र अस्पताल स्तरोन्नति गर्ने गरी १५ शैयाको अस्पतालको सुचारु गर्ने योजना बनाएका छौँ । टोलका बाटो व्यवस्थित गर्ने योजना छ । तेस्रो लिंगी भएकाहरूलाई सहयोग गर्ने खालका योजना ल्याउँदैछौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया