वार्ता

संविधान दिवस: दमननाथ ढुंगानालाई तीन प्रश्न

संविधान संशोधनको विकल्प छैन

इकागज |
असोज ३, २०७८ आइतबार ८:१८ बजे

पूर्व सभामुख एवं संविधानविद् दमननाथ ढुंगाना राजनीतिक दलहरूले संविधानलाई केवल सत्ताको भर्‍याङ बनाएको र संविधान कार्यान्वयनप्रति प्रतिवद्ध र इमानदार नदेखिएको बताउँछन् । संविधानलाई जीवन्त र दीगो बनाउन कार्यान्वयनको यो अवधिको अनुभवका आधारमा यसमा समसामयिक संशोधन आवश्यक रहेको उनको भनाई छ । ढुंगानासँग इकागजले गरेको संक्षिप्त कुराकानी : 

वर्तमान संविधानको कार्यान्वयनको गतिबारे के भन्नुहुन्छ ?


संविधान निर्माण गर्न संविधान सभाले सात–आठ वर्ष लगायो । संविधान जारी भएको पनि अहिले छ बर्ष पूरा हृंदैछ । विभिन्न समुदायको राजनीतिक मुद्दा राम्ररी सम्बोधन गरी देशमा अधिकतम राष्ट्रिय सहमतिको वातावरण बनाउनु संविधान सभाको मुख्य उद्देश्य हुन्छ । त्यस्ता कमी कमजोरी निर्वाचन पछि कार्यान्वयन चरणमा पनि एउटा हदसम्म पूर्ति गरेर संविधानको प्रभावकारिता आम जनतामा बोध गराउन सकिन्थ्यो । संविधानलाइ  सिर्फ सत्ताको खुड्किलो सम्झिइयो । संविधानप्रति आस्था भएन । हुनुपर्ने काम झनै भएनन् ।

यहाँको भनाइको मतलब यो संविधान पनि दीगो हुन नसक्ने भयो ?

प्रतिनिधि सभा विघटनपछि देशमा दुइवटा धार वा मत प्रष्टै देखियो । एक थरी अग्रगामी परिवर्तन सबै उल्टाउन चाहने; अर्काथरी यसै संविधानको आधारशीला वा जग कायम राखी पुनर्लेखन वा संशोधन मार्पmत् अघि बढ्न चाहने । संवैधाननिक अस्थिरता सिर्जित राजनीतिक अस्थिरता धान्न सक्ने स्थितिमा अब हाम्रो देश छैन । गरिबीको भारी र छिमेकीको ठाकठूक बोकेर, हामी कतिन्जेल अस्थिर भइरहने ? यसै संविधानको आधारशीला भित्र रहेर संविधानमा अग्रगमन सहितको  निरन्तरता सबैभन्दा वुद्धिमानी हुन्छ ।

संविधान संशोधनका लागि प्रतिनिधि सभामा दुई तिहाई बहुमत चाहिन्छ, निकट भविष्यमा त्यो सम्भावना देख्नुहुन्छ त ?

यो सबै मुख्य रूपमा हाम्रा दलहरूमैं निर्भर गर्ने कुरा हुन् । ठूला संघर्ष र बलिदानका प्रतीक हाम्रा दलहरू आफैंले ल्याएको परिवर्तनप्रति प्रतिवद्ध/ इमान्दार देखिइरहेका छैनन् । अव पनि हाम्रा दलहरू स्वार्थ र संकीर्णताको दलदलबाट निस्कन सक्दैनन् भने हामी डुब्दैछौं भन्ठाने भयो । देशमैं उज्वल भविष्यको आशा गर्ने तन्नेरीहरूले सबभन्दा राम्ररी  बुझ्नुपर्ने र कम्मर कस्नुपर्ने मुख्य विषय यही हो । समस्या झागिंदैछन्, समाधान साँघुरिदैंछन् । घाउ बल्झाउने होइन, लोकतान्त्रिक प्रकृया बाटै समस्या सुल्झाउने नेतृत्व आज देशलाइ चाहिएको छ ।


Author

थप समाचार
x