वार्ता

सन्दर्भ: विश्‍व क्यान्सर दिवस

क्यान्सरका ९०% केसहरूकाे नेपालमै उपचार हुन्छ

कमल धिताल |
माघ २१, २०७८ शुक्रबार १२:१४ बजे

आज फेब्रुअरी ४, विश्‍व क्यान्सर दिवस । नेपालमा पनि आज क्यान्सरसम्बन्धी विभिन्‍न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । यसै सन्दर्भमा वीर अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर विवेक आचार्यसँग इकागजका कमल धितालले गरेको कारकानी:

अहिले क्यान्सर जुनसुकै उमेर समूहमा देखिन थालेको छ यसको कारण के होला?


क्यान्सर सबै उमेर समूहलाई हुनसक्छ । विशेष उमेर समूहलाई मात्र हुने भन्ने होइन । पहिला पनि हुन्थ्यो । मानिसमा क्यान्सरप्रति सचेतना तथा सूचनाले गर्दा पनि मानिसहरूमा जाँच गराउनेहरू पनि बढेका छन् । क्यान्सरप्रति सचेतता बढेर पनि परीक्षण गर्दा संख्यामत्क रूपमा धेरै देखिएको हो ।जस्तो चुरोट खैनी रक्सी लगायतका सेवनले भने बढी क्यान्सरको सम्भावना बढी हुने हुन्छ । कतिपयलाई जन्मजात क्यान्सर पनि देखिन्छ । अहिले मानिसहरूको खानपान रहनसहन आदिले गर्दा अझै यसमा बढी देखिएको हो ।

क्यान्सरलाई विभिन्न स्टेजमा वर्गीकरण गरिएको पाइन्छ । कुन स्टेजको चाँही निको हुन्छ ?

क्यान्सरलाई समान्यतया ४ स्टेजमा विभाजन गरिएको छ । कुनै दुर्लभ अवस्थामा भने यसलाई ५ स्टेजसम्म पनि विभाजन गरिएको पाइन्छ । पहिलो स्टेजको भनेको सुरुवाती चरण हो यसमा जहाँबाट क्यान्सर सुरु भएको त्यहाँमात्र हुन्छ । दोस्रो स्टेजमा यसको साइज केही ठूलो हुन्छ । तेस्रो स्टेजलाई हामी 'लिम्स नोड्स' भन्छौँ यो भनेको कहिलेकाँही हाम्रो घाँटीमा आउने सानो गिर्खालाई बुझ्न सक्छौँ । सामान्यतय लिम्स नोड्सको माध्यामबाट क्यान्सर सर्ने गर्छ । लिम्स नोड्ससम्म पुगेको स्थितिमा यसलाई स्टेज थ्री भन्ने गरिन्छ । चौथो स्टेजमा एक अंगमा भएको क्यान्सर अर्को भागमा गएर बस्ने गरेको हुन्छ । जस्तो फोक्सोमा भएको क्यान्सर लिभरमा गएर बस्छ यस्तो स्थितिलाई चौथो स्टेज भनेर बुझ्‍न सकिन्छ ।

क्यान्सर रोगको लक्षण कसरी थाहा पाउने?

सामान्यतया क्यान्सरको लक्षण थाहा पाउन कठिन हुन्छ । जस्तो कुनै व्यक्तिलाई फोक्सोको क्यान्सर हुँदा तथा निमोनिया हुँदा पनि देखिने समस्याहरू छाती दुख्‍ने ज्वरो आउने मिल्न जान्छ । क्यान्सर हुँदा समान्यत ज्वरो आउने हुँदैन । त्यस्तै ब्रेनको क्यान्सर हुँदा टाउको दुख्‍ने वाकवाकी लाग्ने जस्ता लक्षणहरू देखा पर्छन् । यसमा जहाँ क्यान्सर हुन्छ त्यहाँ ठाउँमा लक्षण देखिने हुन्छ । सबै क्यान्सरको एउटै लक्षण भन्ने हुँदैन । ब्रेस्ट क्यानसर हुँदा त्यहाँ गाठो भेटिन सक्छ । यो धेरै ठूलो भएपछि घाउ हुने हन्छ । कुनै क्यान्सर एडभान्स स्टेजमा पुगेछिमात्र थाहा हुन्छ ।

बिरामीहरूमा क्यान्सर लागेको भन्ने बित्तिकै अब बाँच्दिन भन्ने मानसिकतामा हाल कमी आएको हो ?

हाल मानिसहरूमा क्यान्सर भैसकेपछि आत्तिने तथा अब बाँच्दिन भन्ने मानसिकतामा कमी आएको छ । मानिसमा चेतनास्तर तथा सूचना लगायतले पनि आत्तिने कम छन् । कतिपय सेलिब्रेटीहरूलाई पनि क्यान्सर भएको छ र उहाँहरू निको भएको पनि देखिएको हुँदा मानिसमा क्यान्सर लाग्दा उपचार गर्नुपर्छ ।  उपचारपछि यो निको हुनसक्छ भन्ने परेको छ । हुनपनि हो, अर्ली स्टेजमा नै क्यान्सर पत्ता लागेमा उपचारले निको हुन्छ । स्टेज थ्री पनि ५० प्रतिशत निको हुन्छ भने चौथो स्टेजपनि ५/६ प्रतिशतसम्म निको हुन्छ। आजभोलि मानिसहरू उपचार गर्‍यो भने क्यान्सर निको हुन्छ भनेर उपचार गर्न आउन थालेका छन् ।

नेपालमा क्यान्सर उपचार सस्तो वा महंगो के छ ?

क्यान्सरको उपचारको कुरा गर्दा तपाईं कुन अस्पताल जानुहुन्छ भन्ने हो । तपाईं निजी अस्पतालमा जानुहुन्छ भने पक्कैपनि तपाईलाई महंगो पर्न जान्छ । तपाईं सरकारी अस्पतालमा जानुहुन्छ भने तपाईंलाई उपचार खर्च धान्ने नसक्ने भन्ने हुँदैन । सरकारी अस्पतालमा उपचार गर्दा तपाईंसँग पैसा छैन भनेपनि सरकारले १ लाखसम्मको नि:शुल्क उपचार गर्दिन्छ । उपचार खर्च धान्नै नसक्ने बिरामीहरू वीर अस्पताल आउनुभए हुन्छ । यसमा कतिपय च्यारिटी (परोपकार)का औषधीहरू प्रयोग गरेर विपन्नहरूको हामीले उपचार गरिरहेका हुन्छौँ ।

कतिपय नेता तथा मानिसहरू नेपालमा उपचार नगरेर विदेशमा उपचार गर्न जान्छन सबै प्रकारको क्यान्सरको उपचार नेपालमा नहुने हो र?

विदेशमै पनि कतिपय अस्पातालमा सबै उपचार नपाउने हुनसक्छ । किनभने क्यान्सर भनेको टाउकोदेखि खुट्टासम्म जहाँपनि हुनसक्ने भयो । ठूलो नाम चलेका बाहेक सबै क्यान्सरको उपचार एउटै अस्पतालमा नहुनसक्छ यसले गर्दा पनि होला । हाल ९० प्रतिशतभन्दा माथि नै नेपालमा उपचार हुन्छ । साह्रै जटिल सर्जरी तथा नेपालमा गर्ने नसक्ने ठूलो हो भने भिन्दै कुरा होला होइन भने ९० प्रतिशत केस त हामी यही उपचार गर्न सक्षम छौँ ।

नेपालमा क्यान्सर उपचारमा सबैभन्दा बढी भक्तपुर र भरतपुर क्यान्सर अस्पतालको नाम चर्चामा आउछ अन्यमा नहुने हो र?

सर्वप्रथम क्यान्सरको उपचार सुरु भएको नै वीर अस्पतालबाट भएको हो । हाल वीरमा विग्रिएको मेसिनके सट्टा भर्खरै नयाँ आएको छ अब केही समयमा यहाँ पनि उपचार सुरु हुन्छ । भक्तपुर र भरतपुर भने विशेषत क्यान्सरकै लागि बनेको हुँदा पनि बढी चर्चा भएको हो। वीर, टिचिङ जनरल अस्पताल भएको हुँदा यहाँ क्यान्सर तथा अन्य रोगको पनि उपचार हुन्छ ।

क्यान्सर फैलिसकेपछि मात्रै अस्पताल पुग्ने गरेको देखिन्छ किन होला ?

क्यान्सर अन्य रोग जस्तो सुरुमा पत्ता लगाउन अलि गाह्रो हुन्छ । उपचारमा आउने बेलासम्म क्यान्सर फैलिसकेको हुनसक्छ, धेरैजसो केसमा फैलिसकेको हुन्छ । यसले गर्दा पनि प्राय: बिरामीहरू फैलिसकेपछि आउने गरेको पाइन्छ । यसमा सचेत हुन जरुरी छ । जस्तो धुमपान गर्नेहरूले मेरो फोक्सो कस्तो छ भनेर परीक्षण गर्नुपर्‍यो किनभने उनीहरूमा फोक्सो क्यान्सरको सम्भावना बढ्यो नि त। त्यस्तै महिलाहरूमा ४५ वर्षपछि ब्रेस्ट क्यान्सरको सम्भावना बढी हुन्छ । यस्तोमा महिलाहरूले ब्रेस्टमा गाँठो आएको छ कि छैन् भनेर परिक्षण गर्नुपर्छ । त्यस्तै परिवारमा क्यान्सर छ भने युवा अवस्थामै गएर डाक्टर भेट्नु राम्रो हुन्छ ।

क्यान्सर वंशाणुगत पर्ने सर्ने रोग हो ?

क्यान्सरको वंशाणुगत सम्भावना ५ देखि १० प्रतिशत हुन्छन् । वंशाणुगत भनेको बा-आमामा हुँदा छोराछोरीलाई पनि हुने हो । क्यान्सर भनेको जेनेटिक डिजिज हो । यो भनेको डिएनएमा हुने जीनमा म्युटेसन भएर जेनेटिक भनिएको हो । वंशाणुगत रूपमा हुने भनेको ५ देखि १० प्रतिशत मात्रै हो ।

सामान्यरूपमा क्यान्सरलाई कसरी बुझ्‍ने ?

हाम्रो शरीरमा भएको कोषिकाहरूबाट बनेका हुन्छन्।  प्रत्येक दिन पुरानो कोष मर्ने र नयाँ कोष जन्मने हुन्छ । यसमा कुनै सेल क्यान्सर सेलमा परिवर्तन हुन्छ । यसले चाहिनेभन्दा बढी सेल बनाउन थाल्छ । शरीरभित्र अनियन्त्रित रूपमा सेलहरू बढ्दै जाने र यसले शरीरको सो भाग काम नलाग्ने बनाइदिन्छ । यो शरीरको एक अंगबाट अर्को अंगमा सर्छ । जस्तो यो ब्रेनमा गएर ब्रेनको ड्यामेज गर्न थाल्छ र यसबाट ब्लिडिङ हुन थाल्छ र मानिसको मृत्युसम्म हुन्छ ।

क्यान्सरबाट बच्‍न के कुरामा ध्यान दिनुपर्छ ?

क्यान्सरबाट बच्न हामीले केही कुरामा ध्यान दिनुपर्छ । जस्तो रेडिएसनबाट तथा केमिकल्सहरूबाट बच्नुपर्‍यो । खानपानमा विशेष ध्यान दिनुपर्‍यो । हाइट अनुसारको तौल राख्नुपर्छ बढी तौल राख्दा पनि क्यान्सरको सम्भावना बढी रहन्छ । सबैभन्दा महत्वपूर्ण भनेको चुरोट तथा सूर्ती खानै भएन । चुरोट खाँदा क्यान्सर हुने सम्भावना एकदमै बढी हुन्छ । शरीरलाई चलायमान र दैनिक व्यायम गर्ने गर्नाले क्यान्सरको सम्भावना निकै कम हुन्छ । साथै विषादीयुक्त खानेकुराको प्रयोग बन्द तथा सन्तुलित भोजनले क्यान्सरको सम्भावना निकै कम गर्छ ।

रेडियसन भन्नाले मोबाइलको रेडियसनले पनि क्यान्सरको सम्भावना हुन्छ ?

मोबाइल सुरुमा आउँदा यसबाट ब्रेन क्यान्सर धेरै भएको चर्चा पनि भएको थियो । मोबाइलको रेडियसनले ब्रेन क्यान्सर भएको भन्ने कुरा मोबाइल कम्पनीले मान्दै मानेन तर मोबाइलहरू प्रयोगमा आएपछि ब्रेन ट्युमरको समस्या भने बढेको छ । यसमा हो होइन भनेर निश्चित गर्न सकिएको छैन् तर तथ्यांकमा ब्रेन ट्युमर चाँही बढेको छ । त्यस्तै घाममा धेरै बस्नाले यसबाट आउने नकारात्मक किरण एवं रेडियसन धेरै भएको क्षेत्रमा पनि जाँदा पनि क्यान्सरको सम्भावना बढी हुन्छ । बढीमात्रामा सिटी स्क्यान गर्ने जस्ता कारण पनि क्यान्सरको सम्भावना बढी हुन्छ ।

विश्व क्यान्सर दिवस मनाइरहँदा नेपालले यसबाट के सिक्ने ?

मुख्य कुरा भनेको हामीले क्यान्सर लाग्नबाट कसरी बच्ने महत्वपूर्ण कुरा त्यो हो । किनभने 'प्रिभेन्सन इज बेटर देन क्योर’ भनिन्छ । यसका लागि सन्तुलित जीवन जिउने व्यायाम गर्ने । विषादीरहित खानेकुराको प्रयोग गर्नुपर्छ । त्यस्तै उमेर बढ्दै गएपछि क्यान्सर हुने सम्भावना बढ्दै जान्छ यसका लागि बेला-बेला परिक्षण गर्ने । महिलाहरूमा ४५ वर्षपछि ब्रेस्ट क्यान्सरबढी हुने सम्भावना हन्छ यसको लागि स्ट्रेनिङ गर्ने त्यस्तै पाठेघरको मुखको क्यान्सर भएको छ वा छैन् भनेर परिक्षण गर्नुपर्छ । आन्द्रा क्यान्सर बढी हुने हुन्छ । परिवारमा क्यान्सर छ भने डाक्टरलाई भेट्ने गर्नुपर्छ । यसरी केही साधारण कुरामा ध्यान दिनुभयो भने क्यान्सर छ भने पनि अर्ली स्टेजमा हुँदा उपचार गर्दा निको हुन्छ ।

महिलाहरूमा ४५ वर्षपछि बढी हुन्छ भन्नुभयो पुरुषको हकमा चाँही त्यस्तो केही छ ?

पुरुषहरूमा बढी आन्द्राको क्यान्सरको सम्भावना हुन्छ । ५० वर्ष भएपछि कलोनस्कोप गरेर हेर्ने गर्नुपर्छ यो प्रत्येक १० वर्षमा गरिन्छ । चुरोट तथा सूर्ती खानेले त बेला-बेला गर्नुपर्छ ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x