वार्ता

जनताको दैलोमा पुगेर सेवा दिएको थिएँ, यसपालि नजित्‍ने त कुरै छैन (अन्तर्वार्ता)

इकागज |
बैशाख १९, २०७९ सोमबार १३:३३ बजे

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेबाट चरिबहादुर तामाङ वडाध्यक्षका उम्मेदवार छन् । पाँच वर्ष वडाध्यक्षका रुपमा काम गरिसकेका तामाङ यो पटक पनि उम्मेदवार बनेका छन् । पाँच वर्षे कार्यकालमा गरेका काम, गाउँको समस्या र भावी योजनाबारे इकागजले गरेको कुराकानीको सम्पादित अंश :

फेरि तपाईको उम्मेदवारी किन ?
विगतमा अधुरा रहेका कार्य पूरा गर्नुछ । पाँच वर्षको अनुभवलाई जनतामाझ शसक्तरूपमा लैजान र विकास निर्माणका अधुरा कामहरू पूरा गर्न नै मैले उम्‍मेदवारी दिएको हुँ । जनताबीचमा अझ सहज र सेवा प्रवाह गर्न बाँकी रहेकाले त्यसलाई पूरा गर्नुछ । 


तपाईंका चुनावी एजेण्डा के-के छन् ?
गाउँघरमा बसेका किसान समुदाय र वर्गलाई समृद्ध बनाउने र सुखी बनाउनुछ । व्यवसायिक कृषि प्रणालीलाई व्यवस्थित गर्न बाँकी छ । शिक्षा, स्वास्थ्य क्षेत्र अझ मजबुत र सुव्यवस्थित ढंगले सेवा प्रवाह गर्नुछ ।

अघिल्लो निर्वाचनभन्दा फरक एजेण्डा केही छ ?
अघिल्लो निर्वाचनमा खासगरी सामान्य गतिविधिहरू विकास निर्माण र सुरुवातको चरण थियो । अहिलेको डिप्लोमा भने जस्तो हो । हामीले हिजो आधारभूत कामहरू गर्‍यौँ । अब डिप्लोमा जस्तो ठूलाआयोजनाहरू, विकास निर्माणका कामहरू गर्छौँ । सडक कालोपत्रे गर्न, पदमार्ग बनाउन बाँकी नै छ । पर्यटकीय क्षेत्र बनाउने गरी अगाडि बढेका छौँ । 

अघिल्लो चुनावका प्रतिबद्धता कति पूरा गर्नुभयो ?
अघिल्लो चुनावमा गरेको प्रतिबद्धता लगभग सबै बुँदाअनुसार काम गरेका छौँ । ९० प्रतिशत प्रतिबद्धताअनुसार काम गरेका छौँ । हामीले भनेका दुई वटा बुँदा चाहिँ सुरुवाती प्रक्रियामा छन् । करिडोर सञ्‍चालन गर्छौँ भनेका थियौँ । म्याग्‍नेसाइड सञ्‍चालनका निम्ति प्रक्रियामा अगाडि बढेको छ । बिग्रेका औजारहरू मर्त हुँदैछ । उद्योगका काम प्रक्रियागत ढंगले अगाडि बढेको छ । 

पाँच वर्षअघि वडामा केके समस्या थिए ?
कतिपय ठाउँमा बिजुली बत्ती, गोरेटो बाटो, खानेपानी धारा थिएन । यी सबै कामहरू हामीले सम्पन्‍न गर्‍यौँ । अहिले अलिकति ठूला काम गर्नुपर्ने देखिन्छ । 

कति समस्या समाधान भए  ?
अधिकांश समस्या समाधान भयो । समस्याहरू त नयाँ-नयाँ आउँदै गर्दा रहेछन् । सबै कुराहरू समाधान गरेका छौँ । अब ठूलो योजना मात्रै बाँकी छन् ।

खास गाउँमा जनताले विकास कस्तो चाहने रहेछन् ?
गाउँको जनताले बत्ती, धारो बाटोघाटो चाहने रहेछन् । गाउँमा स्वास्थ र शिक्षा जनताका माग देखिन्छ । बाढी पहिरो बस्ती संरक्षण जनताका माग देखिन्छन् । यी सबै माग पूरा गरेका छौँ । 

चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
जित्नेमा म शत प्रतिशत विश्वस्त छु । किनभने हामी निर्वाचित भएपछि धेरै काम गरेका छौँ । घरदैलोमा गएर सेवा दिएका छौँ । जनताका काम गरेका छौँ । राजनीतिक जीवन बिताएको हुनाले २४ घण्टा जनताकै काम गर्‍यौँ । संवाद गरेर आवश्यकता अनुसार सेवा प्रवाह गरेका छौँ । अहिले प्रतिस्पर्धामा उत्रिएका साथीहरू पनि त्यो ढंगका देखिनुहुन्‍न । किनभने व्यवसायिक साथीहरू हुनुहन्छ । अन्यत्र व्यवसाय गर्नुहुन्छ । म यहीँको स्थानीय, जनतासँगै बस्छु । यसकारण म जित्नेमा विश्वस्त छु । 

वडाबासीले तपाईलाई नै किन भोट दिने ?
अघिल्लो पटक वाचा गरेका काम पूरा गरेका छौँ । प्रत्येक टोलमा बाटो निर्माण गरेका छौँ । एक घर एक खानेपानी धारा निर्माण गरेका छौँ । खेतखेतमा ट्याक्‍टरले खनजोत गर्न सक्‍ने बनाएका छौँ । अब यो गाउँमा ठूला विकास निर्माणका आयोजनाहरू सञ्‍चालन गर्नुछ । त्यो अरुबाट सम्‍भव छैन । यहाँ मेरो नै आवश्‍यक रहेकाले जनताले मलाई नै जिताउँछन् ।


Author

थप समाचार
x