राजनीति

यसकारण पार्टी फूटको दोष प्रचण्ड-ओलीलाई दिन चाहँदैनन् उपेन्द्र यादव

इकागज |
बैशाख २७, २०८१ बिहीबार १०:१ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छाड्ने साहस गर्न सकेनन् ।


उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कुप्रचार गरेर पार्टी विभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्नेबारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफुहरू सरकारमै रहेको बताउँदै नयाँ दल गठनको प्रक्रिया असंवैधानिक रहेको जिकिर गरे । उनले यसका लागि अदालत जाने पनि बताए ।

तर सत्ता समीकरणकै प्रमुख दलका नेताहरूको अग्रसरतामा आफ्नो पार्टी विभाजित भएपछि उपेन्द्रका आगामी दिन सत्ता सहकार्यको हिसाबले सहज देखिएको छैन ।

उनी अमेरिका भ्रमणमा रहेको बेला यता दल बिभाजन गरेर हतार हतार प्रमाण पत्रसमेत दिइएको अवस्थामा उनी फर्किएपछि सरकारबाट अलग हुन्छन् भन्ने अनुमानको विपरित हुने सरकारमै रहने र आफु अर्को गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिइरहे ।

प्रतिनिधिसभामा १२ सांसद भएको जसपा नेपालका ७ जना सांसदसहित अशोक राईले जसपा गठन गरेपछि उपेन्द्रको संसद्‌मा हैसियत कमजोर बनेको छ । उनले आफू विदेश भ्रमणमा गएका बेला नयाँ समीकरण बनाउने हल्ला चलाएर विभाजन गरिएको आरोप लगाए । 

राई नेतृत्वले प्रतिनिधिसभाका ७ सांसद लिएर गएपनि मधेश प्रदेशमा भने उपेन्द्र यादवकै पकड देखिने भएको छ । मधेश प्रदेशबाट वीरगन्ज महानगरका मेयर राजेश सिंह राई नेतृत्वमा गएका छन् भने प्रदेशसभाका सांसदले भने अहिलेसम्म उपेन्द्र यादवलाई नै साथ दिएको देखिन्छ ।

उपेन्द्रले केन्द्रमा हैसियत घटे पनि मधेश प्रदेशमा आफ्नो पकड कायम राख्नसमेत अलिकति डिफेन्सिभ देखिएको विश्लेषण गरिएको छ । केन्द्रमा सत्ताबाट हट्नासाथ मधेश प्रदेशको सरकर समेत जाने सक्ने भएकाले उनले ठोस निर्णय लिन समय लिएको बुझ्न सकिन्छ । १०७ सदस्यीय मधेश प्रदेशमा जसपा नेपालका १९ सांसद छन् ।

मधेशको प्रदेश सभामा जसपा नेपाल तेस्रो ठूलो दल हो । अहिले एमाले-माओवादीसहितको गठबन्धनमा जसपाले सरकारको नेतृत्व गरिरहेको र केन्द्रमा सरकार छाड्ने बित्तिकै मधेशको सरकार ढल्ने देखिन्छ ।

जसपा नेपालले कांग्रेससँग गठबन्धन गरेपनि बहुमत पुर्‍याउन जनमत पार्टी वा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्दछ । मधेशमा जनमत पार्टी र जसपा नेपाल आमने सामने रहेकाले तत्काल एक ठाउँमा आउने सम्भावना देखिँदैन । सोहि कारणले पनि उपेन्द्र यादव डिफेन्सिभ देखिएका छन् । 

जसपा फुट प्रकरणमा सत्ता समीकरणका शीर्ष नेताहरूको भूमिका लुकेको छैन । यो उपेन्द्र यादवले राम्रोसँग बुझेका छन् । तर मधेशको नेतृत्व गुमाउने डर उपेन्द्रमा देखिएको छ । अबका दिनमा उनले केन्द्रको सत्ता छाड्नुपर्ने अवस्थामा कांग्रेससँग हात मिलाएर जनमत र लोसपासमेतलाई साथ लिने प्रयास गर्ने गर्नुपर्ने देखिन्छ । उनले भनेको न्यायिक लडाईं आफ्नो ठाउँमा छ र यो प्रक्रिया तुरुन्त नतिजा दिने किसिमको देखिँदैन । त्यसैले उपेन्द्र यादवले तत्काल के गर्ने स्पष्ट नभएको अवस्थामा अदालत जान्छौं, हामी सरकारमै छौं भनेर नयाँ रणनीति बनाउने समय लिएको बुझिन्छ ।

जसपा नेपाल फुटाएर माधव नेपालको बार्गेनिङ पावर घटाउनेदेखि जसपा नेपाललाई साइजमा ल्याएर सम्भावित समीकरण फुट्नबाट जोगाएको छैन, कांग्रेसले बनाउन खोजेको वैकल्पिक समीकरणको सम्भावनालाई समेत तुहाइदिएको छ ।

यस्तो अवस्थामा उपेन्द्र यादवले कस्तो निर्णय लिन्छन् र आफ्नो राजनीतिक भविष्य बचाउछन् भन्ने सबैको चासोको विषय बनेको छ ।


Author

थप समाचार
x