वार्ता

अन्तर्वार्ता

माओवादीलाई हराउन होइन, आफैँ चुनाव जित्‍न स्वतन्त्रबाट उठेँ

'गलत कुरालाई बुवा-आमा, श्रीमती या पार्टी जो सुकैले भने पनि मान्दिनँ'

जीवन कुँवर |
बैशाख २२, २०७९ बिहीबार ७:५९ बजे

सिन्धुपाल्‍चोकको भोटेकोशी गाउँपालिका-२ मा पाँच वर्ष वडाध्यक्ष भएर दीपेन्द्रकुमार श्रेष्ठले जनताको सेवा गरे । जनताले तिरेको कर जनताकै लागि सही सदुपयोग हुनपर्छ भनेर लागेका श्रेष्ठले भोटेकोशी गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा उम्‍मेदवारी दिएका छन् । सामाजिक, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा धेरै सहयोग गरेका उनको नाम यस क्षेत्रमा चर्चामा छ । वडा नम्‍बर २ को वडाध्यक्ष हुँदा श्रेष्ठले तलबभत्ता नलिएर उक्त रकम स्वास्थ्यमा खर्चिए । उनले सुत्केरी महिलालाई पोषण भत्ता पाँच हजार दिने अभियान पनि चलाए । स्वतन्त्र उम्मेदवार श्रेष्ठले चुनावमा लालटिन चिह्न पाएका छन् । उनीसँग चुनावी अजेन्डा र भावी राजनीतिबारे इकागकर्मी जीवन कुँवरले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्रबाट पालिका अध्यक्षमा उम्‍मेदवारी दिनुभयो । तपाईंको उम्मेदवारी किन ? 
दलहरूको हालीमुहाली भयो । कार्यकर्ताले चुनेकाभन्दा पनि नेताका गोजीबाट टिकट दिइयो । नयाँ अभियानसहित दलहरूका लागि सन्देश दिन स्वतन्त्रबाट उम्मेदवारी दिएँ ।


नयाँ अभियान भन्‍नाले ?
हामी स्वतन्त्र भएर लड्‍न सक्छौँ । भोटेकोशी गाउँपालिका बनाउन हामी सक्षम छौँ । हामी स्थानीय लेभलमा हुन्छौँ । यहाँ कुनै सोर्सफोर्सको आवश्यकता पर्दैन भनेर हामी लागि परेका छौँ । हामी जनतासँग जोडिएर काम गर्छौँ । सिस्टमनुसार पालिका चलाउँछौँ । 

तपाईंको अजेन्डा केके छन् ?
मुख्यत यहाँ दिर्घरोगीहरूलाई वार्षिक १ लाख रुपैयाँ दिने । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषिलगायत क्षेत्रका विज्ञसँग छलफल गरेर अगाडी बढ्‍ने छौँ । स्वास्थ्यका लागि यहाँ एउटा एम्बुलेन्सको जरुरत छ । अलि राम्रो खालको गाउँघर पुग्‍न सक्‍ने एम्बुलेन्स किन्नका लागि ८०/९० लाख पर्छ होला त्यो किनेर यहाँको जनता विरामी हुँदा निशुल्क रुपमा अस्पताल लैजान्छौँ । यहाँका अतिविपन्न परिवारहरूलाई हाइड्रोपावरको सेयर नि:शुल्क दिलाउन लागि पर्छौँ । यदि सेयरका लागि अतिविपन्न परिवारले पैसा नै हाल्नु पर्‍यो भने कार्यविधि बनाएर पालिकाले पैसा हाल्छ । युवाहरूको लागि एउटा खेलकुद मैदान आवश्यक छ ।

ताकि त्यो 'मिनि स्टेडियम' टाइपको हुनेछ । त्यहाँ फुटबल, बास्केटबल, ब्याटमिन्टन र भलिबललगायत खेल्न सकिनेछ । त्यो 'मिनि स्टेडियम' अलि व्यवस्थित हुनेछ । तातोपानी नाकाको व्यापार व्यवस्थित गर्न लाग्‍नेछु । यहाँ व्यापारी, भन्‍सार र लोडरहरूबीच सम्‍बन्ध त्यति राम्रो छैन । त्यसलाई समन्वयकारी भूमिका निर्वाह गरेर व्यापारलाई व्यवस्थित गर्नुछ । जनतालाई नागरिकता, मालपोतलगायत विभिन्‍न कर तिर्नुपर्ने अवस्था छ त्यसलाई अन्य स्रोतबाट पैसा हालेर भए पनि जनतालाई निशुल्क गर्छु ।

यसअघि पाँच वर्ष वडाध्यक्ष भएर काम गर्नुभयो । अघिल्‍लो चुनावमा जनता सामू गरिएको वाचा कति पूरा गर्नुभयो ?
म वडानम्बर २ को वडाध्यक्ष हुँदा मैले चुनावमा जनता सामू गरेको करिब ८० प्रतिशत वाचा पूरा गरेँ । २० प्रतिशत विविध कारणले गर्दा पूरा गर्न सकिनँ । बाँकी वाचाहरू अब पालिका अध्यक्ष जितेर गर्नेछु । 

यसअघि वडामा नेतृत्व गर्नुभयो । अहिले पालिका ताक्नुभएको छ । किन ?
मैले पाँ वर्षमा वडामा काम गरिरहँदा के लाग्यो भने हामी जस्तो युवाहरू तलतिर ओर्लिने होइन माथितिर उक्लिनुपर्छ । फेरि म वडाध्यक्षमा होइन पालिकामा हाँक्नुपर्छ भन्ने सोचेँ । अर्कोत मेरो सोचाइ के छ भने एउटै व्यक्ति फेरि दोहोरिनु हुँदैन भन्‍ने हो ।

चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ । जित्ने आधार के के हुन् ?
मैले चुनाव जित्‍ने आधार धेरै छन् । मैले यो ठाउँमा २१ वर्ष समाजसेवा गरेँ । २१ वर्ष समाजसेवा गरिरहँदा १० वर्ष राजनीति गरेँ । अहिले स्वतन्त्रबाट पालिका अध्यक्षमा उम्मेदवार दिएको छु । भोटेकोशीमा मैले जति समाजसेवा गरेँ यहाँका जनताले देखेका छन्, भोगेका छन् र हेरेका छन् । चाहे भूकम्‍प होस् वा बाढीपहिरो या कोरोना महामारी नै किन नहोस् । मैले यहाँका जनतालाई संस्थागत र व्यक्तिगत धेरै सहयोग गरेको छु । त्यतिबेला जनताको दु:खमा साथ दिएको छु । उहाँहरूको दु:खमा जतिसकेको मल्हम लगाएको छ । मलाई विश्वास छ यहाँका जनताहरूले ति दिन सम्‍झेर नै मलाई जिताउने छन् ।

दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारलाई जित्‍न सजिलो छ र ?
राजनीतिक दलहरूले राम्रो काम गरेको भए जित्‍न कठिन थियो । तर यहाँका दलहरूले राम्रो गरेका छैनन् । मलाई युवाको साथ छ, वृद्धवृद्धाको साथ छ । मुख्य कुरा राजनीतिक दलसँग रुष्ट जो छन् उनीहरूको पनि साथ छ मलाई । राजनीतिक दलसँग आवद्ध धेरै मतदाताहरूले एक भोट चाहिँ तपाईंलाई दिन्छौँ भनेका छन् ।

फेरि तपाईंलाई नै किन भोट दिने ?
राजकुमार पौडेललाई जनताले जिताएर पाँच वर्ष हेरिसके । त्यस्तै अमृतकुमार खड्‌काको लामो राजनीतिक ग्याप छ यहाँ । खड्‍काको केही कुराहरूले यहाँका जनता रुष्ट छन् । पाशाङनोर्बु लामा पनि एकै पटक व्यापारबाट अहिले राजनीतिमा होमिएका व्यक्ति हुन् । यहाँ उहाँले समाजसेवा खासै गरेका छैनन् । म त २१ वर्षदेखि समाजसेवा गरेर १० वर्ष राजनीति भोगेर आएको हुँ । म युवा हुँ मसँग जोश जाँगर काम गर्न सक्‍ने क्षमता छ । जनताले बुझिसकेका छन् दिपेन्द्रलाई भोट दिँदा यस ठाउँको विकास हुन्छ भनेर । म भोटेकोशी विकासका लागि मसँग भिजन छ, कसरी विकास गर्ने भन्‍ने राम्रोसँग बुझेको छु । कुरा यत्ति हो कि भोटेकोशीमा चाहिने विकास गर्न म सक्षम छु, भोटेकोशीका जनताले बुझेका छन् 'हाम्रालाई होइन् राम्रालाई भोट' दिनुपर्छ भनेर ।

तपाईंलाई माओवादीबाट विद्रोह गरेकाको समर्थन छ । कतिपयले त माओवादीलाई हराउनका लागि उम्मेदवारी दियो भन्‍छन् नि ?
आरोप लाग्‍ने गर्छ । माओवादीलाई मात्रै होइन अरु पार्टीलाई पनि हराएर म आफैँ जित्‍न उम्‍मेदवारी दिएको हुँ । एउटा पार्टीबाट विद्रोह गरेर राम्रो काम गर्दा स्वतन्त्रबाट पनि जित्न सकिन्छ भन्‍ने सन्देश दिन्छु ।

तपाईंमाथि माओवादीका नेताहरूले लगाउने अर्को पनि आरोप छ । वडाध्यक्ष भएको केही महिनादेखि नै तपाईंले पार्टीलाई नमान्‍ने आफूखुशी काम गर्नुभयो पनि भन्छन् नि ?
म अलि अघिको समयमा फर्किएँ २०७१ सालतिर । म सधैँ पार्टीले निर्देशन पालन गरेर बसेको थिएँ । केही वर्षअघि माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाविरुद्ध आन्दोलन चर्कियो । त्यसको नेतृत्व मैले गरेको थिएँ, म त्यतिबेला माओवादीमा आवद्ध थिएँ । पार्टीले भनेअनुसार नै आन्दोलन भयो । ३५ प्रतिशत सेयर स्थानीयलाई दिनुपर्छ भनेर सुरु भएको आन्दोलन ६ प्रतिशतमा आएर टुंगियो । सबै दललाई समेट्‌‍न खोज्दा कहिले को उपस्थित नहुने कहिले नहुने भयो । ३५ प्रतिशतबाट सुरु भएको आन्दोलन पार्टीहरूकै कारण ६ प्रतिशतमा झर्दा पनि मैले पार्टीले भनेको मानेन भन्‍न मिल्छ त ? उहाँहरूले भने अनुसार नै गरेको हुँ ।

अब अर्को कुरा, संघीय र प्रदेशसभा निर्वाचनमा वाम गठबन्‍धनको निर्वाचन परिचालन समितिको संयोजक हुँ म । यहाँबाट राम्रो भोट खसेको थियो वाम गठबन्‍धनलाई । त्यो कुरा पार्टीले देख्‍नुपर्छ कि पर्दैन ? अनि अर्को कुरा म गलत कुरालाई कहिल्‍यै समर्थन गर्दिनँ । चाहे मेरो बुवा-आमा वा श्रीमती या पार्टी जो सुकैले भनेको पनि गलत कुरा म मान्दिनँ ।

तपाईं भोटेकोशी हाइड्रोको कुरा निकाल्‍नुभयो । ३५ प्रतिशतबाट सुरु भएको आन्दोलनमा ६ प्रतिशत झारेर तपाईं नै ब्याक हट्‍नुभयो भन्‍थे नि ? आन्दोलनको नेतृत्व तपाईंले गर्नुभयो तर पछि तपाईं नै व्याक हुनुभयो नि ?
युद्ध त जितिन्छ भनेर सुरु गरिन्छ । तर युद्ध लड्‍दै गर्दा हार वा जित जे पनि हुन सक्‍छ । त्यतिबेला पार्टीकै नेताहरूले मलाई समर्थन नगर्ने कुरा गर्नुभयो । त्यतिबेला ऊर्जामन्त्री एमालेकी राधा ज्ञवाली हुनुहुन्थ्यो । आन्दोलन चर्किँदै गर्दा एयरपोर्ट अगाडिको होटलमा बसेर पार्टीका नेताहरूले ५ प्रतिशत सेयर लिने भए हुन्छ तपाईंलाई समर्थन गर्न सक्दैनौँ भन्‍नुभयो । हामीलाई पनि माथिबाट कारबाही गर्छन् भन्‍नुभयो । त्यहाँ अब आन्दोलन गर्नुभयो भने तपाईंलाई जेल हाल्‍छन् भन्‍नुभयो । त्यसपछि म बाध्य भएर ५ होइन् १० प्रतिशत चैँ गरौँ भनेँ । उहाँहरूले १० प्रतिशत दिनै मान्‍नुभएन मैले ५ त हुँदै हँदैन भनेपछि बल्ल ६ प्रतिशत दिन उनीहरू तयार भए ।

तपाईं केही समयअघि कांग्रेस प्रवेश गर्न लागेको तर माओवादीकै नेताहरूको आश्वासनपछि व्याक हुनुभएको थियो भन्‍छन् नि । यो चुनावपछि कांग्रेस प्रवेश गर्नुहुन्छ भन्‍ने आरोप छ नि ?
हुन त राजनीतिमा सम्भावनाका खेलहरू हुन्‍छन् । मेरो कुरा कांग्रेससँग पनि हुन्‍छ, एमालेसँग पनि हुन्‍छ र फेरि पनि माओवादीसँग पनि हुन्‍छ । तर म ५ वर्ष कुनै पार्टीमा नलाग्‍ने सोच छ ।

छिमेकी देश चीनसँग नाका जोडिएको पालिका छ । २०७२ सालको भूकम्पदेखि बन्द भएको नाका अझै सुचारु भएको छैन । सयौंको रोजीरोटी खोसिएको छ । के भन्छन् स्थानीय ?
नाका पुरै चैँ खुलेको छैन । तर चीनबाट सामान आइरहेको छ । यता नेपालबाट मात्रै हो नगएको । मजदुरहरूले जति ज्याला पाउँथे त्यो पाइरहेका छैनन् । साना व्यापारीहरू नाङ्‌लो पसल थापेर बस्‍नुपर्ने अवस्था आइसकेको छ । युवाहरूले कुनै अवसर पाएका छैनन् । नसक्‍नेहरू खाडी मुलुक गएका छन् । कतिपय युरोप छिरेका छन् । ऋण खोजेर भए पनि ५० लाखसम्‍म तिरेर कतिपय अमेरिका गएका छन् । यो यहाँका युवाको रहर होइन् बाध्यता हो ।  

र, अन्तमा थप केही भन्नु छ ? 
राजनीतिक भनेको कुनै दलबाट टिकट पाउँदैमा त्यो पार्टीको चाहिँ सबै कुरा मान्‍ने अनि जनताको कुरा चैँ 'बाहेस' गराउने होइन । जनताले तिरेको कर जनताकै लागि सदुपयोग हुनुपर्छ भनेर लाग्‍नुपर्छ ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x