अनियमितता

उदयपुरको त्रियुगाका पूर्व मेयर चौधरी र प्रशासकीय अधिकृत कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
असोज १०, २०८० बुधबार २१:२० बजे

विराटनगर - नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं कोशी प्रदेशका अध्यक्ष समेत रहेका उदयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धि मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरी विरुद्ध ढुंगा, गिटी, ग्राभेल, रोडा र बालुवा उत्खनन् संकलन तथा विक्री गरी कर उठाउने कार्यमा मिलेमतो गरेको र बदनियतपूर्वक राजश्व हानी नोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

चौधरीले मेयर हुँदा आफ्नै संयोजकत्वमा बसेको राजश्व परामर्श समितिको बैठकको निर्णय र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विपरीत आर्थिक वर्ष २०७८/०७९ मा त्रियुगा नगरपालिकाभित्रको बरुवा, त्रियुगा र सुनकोशीको नदीजन्य पदार्थ बिक्रीमा वास्तविक उठाउनु पर्ने कर नउठाइ ठेकेदारलाई फाइदा पुर्‍याएको अख्तियारको अनुसन्धानबाट खुलेको हो । आरोप पत्रमा चौधरीले नगरपालिकाको राजश्व नोक्सानी गरेको उल्लेख छ । उनीमाथि ठेकेदारसँग मिलेमतोमा ठेक्काको न्यूनतम् रकम कायम गरेको र वास्तविक उठाउनु पर्ने ६२ लाख ९१ हजार २०४ रुपैयाँ २२ पैसा राजस्व रकम नउठाइ राजस्व चुहावट गरेको र ठेक्का नै नभएको माटो भरौट र बलौटो गैरकानूनी ढंगले उत्खनन् र बिक्री गर्न दिएको, प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याएर थप १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट गरेको आरोप अख्तियारले लगाएको छ ।


‘उक्त कार्यमा निजले जम्मा रू ८१ लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा राजस्व चुहावट गरेकोले निज बलदेव चौधरीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो रु ८१ लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा कायम गरी निजलाई सोही ऐनको दफा ७ ले निर्देश गरे बमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भए/गरेको राजश्व रकमको दोब्बर १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ ३२ पैसा जरिवाना हुन माग दाबी लिइएको छ’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले सोही अनियमितता प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की समेत संलग्न रहेको ठहर गर्दै ८१ लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा कायम बिगो कायम गरेको छ । साथै चुहावट भए/गरेको राजस्व रकमको दोब्बर रकम १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ ३२ पैसा जरिवाना हुनुपर्ने माग गर्दै दाबी गरिएको छ । नगरपालिकाकै तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालविरुद्ध पनि चुहावट भए/गरेको राजस्व रकमको दोब्बर रकम १ करोड ६२ लाख ७० हजार ७६४ सय ३२ पैसा जरिवाना हुन माग दाबी गरेको आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

आयोगका प्रवक्ता दाहालका अनुसार नदीजन्य सामग्रीको ठेक्का दिंदा ठेक्काको न्यूनतम् रकम कायम गर्न मिलेमतो गरेको कारण राजश्व चुहावट भएको जनाइएको छ । ढकालले राजस्व रकम ८१ लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा चुहावट गरेको पाइएको भन्दै उनलाई पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो ८१ लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा कायम गरी सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१)को देहाय (ज) बमोजिमको कैदको सजाय माग गरिएको छ ।

चौधरी, कार्की र ढकालले नदीजन्य वस्तु उत्खनन् विक्री वितरणका लागि भएको सम्झौताको सर्त बमोजिमको कार्य नगरी ठेकदार राजेश बछारको निश्चल ट्रेडर्स हेटौडालाई बलौटे र भरौट माटो अवैध रुपमा उत्खनन र बिक्री गरेको आरोपमा उनी विरुद्ध समेत बिगो रकम १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा राजस्व चुहावट गर्न मतियारको कार्य गरेको आरोप अख्तियारले लगाएको छ । ठेकेदार बछारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरको मतियार भएको चुहावट भएको राजस्व रकमको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ ८८ पैसा असुल उपर गर्न माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर भएको जनाइएको छ ।


Author

थप समाचार
x