गोर्बाचोभलाई सम्बोधन गरिएको ओहोदाको प्रमाणपत्र बोरिसलाई
तीन दशकअघिको कुरा गर्दै छु । सन् १९९१ मा मेरो पहिलो पोस्टिङ रुसको मस्कोमा भएको थियो । दोस्रो विश्व महाशक्ति सोभियत संघको राजधानी मस्कोमा १५० भन्दा बढी कूटनीतिक नियोग थिए । त्यस्तोमा पनि नेपालले दुई वर्षयता राजदूत पठाउन सकेको थिएन । २०४६ मा भएको राजनीतिक परिवर्तनपश्चात् मुलुकले भोगेको संक्रमणको नतिजा थियो त्यो ।
राजदूत विश्वेश्वरप्रसाद रिमाल आफ्नो कार्यकाल सकी स्वदेश फिर्ता भएपछि मस्कोमा राजदूत पदपूर्ति हुनसकेको थिएन । एक वर्षभन्दा लामो समयसम्म दूतावासका उपनियोग प्रमुख प्रह्लाद प्रसाईंले कार्यवाहकको हैसियतमा दूतावास चलाइरहेका थिए । म उनकै स्थानमा पदस्थापन भई मस्को गएको थिएँ ।
संयोग भनौँ या विडम्बना, पोस्टिङ चाहिँ दूतावासको द्वितीय सचिवमा तर जिम्मेवारी भने कार्यवाहक राजदूतको । अर्को पनि सानो कूटनीतिक प्रश्न थियो- कार्यवाहकले अर्कोलाई कार्यवाहक सुम्पिन मिल्ने कि नमिल्ने ? परराष्ट्र मन्त्रालयमा त्यस विषयमा लामो छलफल भयो । अन्त्यमा परराष्ट्र सचिव नरेन्द्रविक्रम शाह आफैँले सोभियत संघको परराष्ट्र मन्त्रालयलाई मलाई कार्यवाहक राजदूतसमेतको जिम्मेवारी दिएको नोट मस्यौदा गरिदिए । परराष्ट्र मन्त्रालयको त्यही नोट लिएर म मस्को गएको थिएँ ।
परराष्ट्रमा दूतावासमा पोस्टिङका लागि ग्रुमिङ गर्ने परम्परा थिएन, अझ हुन सकेको छैन । सरुवापत्र बुझेपछि मात्र आफ्नो गन्तव्य थाहा हुन्थ्यो । पहिल्यै थाहा हँदो हो त कम से कम एक/दुई महिना भए पनि रसियन कल्चर सेन्टरमा भाषा तालिम लिनु त हुन्थ्यो । भारतीय विदेश सेवामा पहिलो पोस्टिङमा जानुअघि भाषा तालिम अनिवार्य हुन्छ । पोस्टिङ पनि त्यहीअनुसार हुन्छ । हामीकहाँ भने भाषा तालिमलाई खासै महत्व दिएको देखिँदैन, न त त्यसले पोस्टिङमा प्राथमिकता नै पाउँछ ।
भाषाको समस्या त मस्को पुगेको भोलिपल्टबाटै सुरु भइहाल्यो । एक महिना घरैमा भाषा ट्युसन लिएपछि कामचलाउ दुई/चार शब्द हाई-हेलोसम्म गर्न सक्ने भइयो । तर रुसी वर्ण जति कोसिस गर्दा पनि टिप्न सकिनँ । दूतावासमा दैनिक कामका लागि एक जना दोभाषे- इन्टरप्रेटर र सेक्रेटरीको व्यवस्था थियो । धेरैजसो काम उनीबाटै चलाउनुपर्थ्यो । तर, आमनेसामने सीधा कुरा गरेजस्तो दोभाषेमार्फत गरेको हुन सक्दैनथ्यो । मलाई जहिले पनि त्यो कमी खट्किरहन्थ्यो ।
सोभियत परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग भने अंग्रेजीमा कुरा गर्ने सुविधा थियो । तर, परराष्ट्र मन्त्रालयसँग हुने पत्राचार भने रुसी भाषामा हुन्थ्यो । त्यहाँको परराष्ट्र मन्त्रालयबाट आउने रुसी भाषाको नोट दोभाषेको सहायताले उल्था गर्नुपर्थ्यो भने हामीले अंग्रेजीमा तयार गरेका नोट पनि रुसी भाषामा अनुवाद गरेर पठाउनुपर्थ्यो ।
टेलिभिजन, पत्रपत्रिकाको पनि त्यही हालत । रसियन टेलिभिजन च्यानलमा अंग्रेजीमा समाचार प्रसारण हुन्थेन । न त मस्कोबाट कुनै अंग्रेजी समाचारपत्र नै प्रकाशित हुन्थे । हाम्रा लागि त्यो एक हिसाबले न्युज ब्ल्याकआउट जस्तै थियो भन्दा हुन्थ्यो । ठूला शक्ति मुलुकका नियोगहरूको समाचार संकलन र विश्लेषण गर्ने आफ्नै स्रोतसाधन हुन्थे, त्यहीअनुसारको जनशक्ति पनि हुन्थ्यो । हामीजस्ता साना र सीमित स्रोतसाधनले चलिरहेका नियोगले क्रेमलिनमा घटेको घटनाबारे प्रायः कूटनीतिक समुदायमा भर पर्नुपर्थ्यो ।
प्रमुख दैनिक पत्रपत्रिकामा प्रकाशित समाचार, टिप्पणी, सम्पादकीय आदि अंग्रेजी भाषामा भद्दा अनुवाद गरिएको दैनिक प्रेस डाइजेस्टको मस्कोस्थित कूटनीतिक नियोग प्रमुख ग्राहक थिएँ । त्यसबेला कम्युनिस्ट पार्टीको मुखपत्र प्राभ्दा (Pravda) थियो, जसको शाब्दिक अर्थ ‘सत्य’ हुन्थ्यो ।
सोभियत संघको विघटनपश्चात् रुसको प्रथम राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र पेस गर्ने पहिलो विदेशी राजदूत हुन पुगेका थिए, संयोगवश राजदूत सिलवाल ।
सरकारको मुखपत्रका रूपमा दैनिक प्रकाशित इजभेस्तिया (Izvestia) अर्थ चाहिँ ‘समाचार’ हुन्थ्यो । त्यसबेला मस्कोको कूटनीतिक वृत्तमा एउटा कहावत नै थियो : There is no truth in Pravda, and no news in Izvestia ।’ त्यस्तो असहज परिवेशमा पनि अमेरिकाको केबल न्युज नेटवर्क (सीएनएन) ले केही समयअघि देखि मस्कोमा प्रसारण गर्ने अनुमति पाएको थियो । सायद राष्ट्रपति गोर्बाचोभले अवलम्बन गरेको ग्लासनोस्तका कारणले त्यो सम्भव भएको थियो । बाहिरी विश्व र सोभियत संघभित्रकै समाचारका लागि पनि हामी त्यही न्युज च्यानलमा निर्भर थियौँ ।
रेडियोमा चाहिँ बीबीसी वर्ल्ड सर्भिस लोकप्रिय थियो । सर्ट वेभमा मात्र सुनिने हुनाले गुणस्तर चाहिँ त्यति राम्रो हुन्थेन । अलि राम्रो सुन्न मैले सोनीको वल्र्ड रिसिभर रेडियो किनेँ, जुन मस्को बसुन्जेल मेरो साथीजस्तै भयो । राष्ट्रपति गोर्भाचेभले अवलम्बन गरेको ‘ग्लासनोस्त’ (खुलापनको नीतिले सोभियत संघमा केही मात्रामा भए पनि खुलापन त ल्याएको थियो तर उनको ‘पेरिसत्रोइका’ (आर्थिक पुनर्संरचनाको नीतिले भने कम्युनिस्ट अर्थव्यवस्थाको जड चक्रव्यूह तोड्न सकेको थिएन ।
सर्वसाधारण रुसी नागरिक दैनिक उपभोग्य वस्तुका लागिसमेत दिनहुँ लाइनमा बस्न बाध्य थिए । त्यसबेला रुसमा एउटा कहावत नै थियो, रसियन नागरिक लाइनमा जन्मन्छन्, लाइनमा नै हुर्कन्छन् अनि लाइनमा नै मर्छन् । त्यस्तो थियो, त्यतिखेर अर्थात् सन् १९९१ को तत्कालीन सोभियत संघको दुरवस्था ।
म मस्को आएको चार महिना पनि पुगेको थिएन । नयाँ ठाउँमा भर्खर सिक्दै थिए । त्यस्तैमा रुसको इतिहास नै बदल्ने अप्रत्याशित घटना घटित भयो, जसको धेरैले अनुमानसमेत गरेका थिएनन् । त्यो दिन १८ अगस्त १९९१ को बिहान थियो । सधैँझैँ ब्रेकफास्ट लिएर म दूतावासका लागि निस्केँ ।
हामी सधैँ हिँड्ने मस्कोको आठ लेनको चौडा भित्री रिङरोड (सादोभाय कल्सो (गार्डेन रिङ)मा सैनिक ट्यांकका कन्भोई गुडिरहेका थिए । त्यसबेला रेड स्क्वायरको सैनिक परेडमा भाग लिन राष्ट्रिय महोत्सव पनि परेको थिएन । त्यस्तै कुनै सैन्य तालिमका लागि निस्केका होलान् भनी सामान्य रूपमा लिई दूतावासतर्फ गएँ ।
हाम्रो मस्कोको दूतावास त्यहाँको परराष्ट्र मन्त्रालय नजिकै नियोपलीमभ्सकी नाउँको सानो सडकमा अवस्थित छ । सडकको नाउँ पनि नेपाल शब्दबाट सुरु भएजस्तो सुनिन्छ । परराष्ट्र मन्त्रालय अगाडिको चौडा सडकमा पुग्दा त्यस भीमकाय भवनको मुख्य प्रवेशद्वारको दुवैतिर त् ठद्द लेखिएका अजङ्गका दुईवटा ट्यांक तैनाथ थिए । त्यसपछि भने केही गडबड छजस्तो लाग्यो ।
दिउँसो दूतावासमा आन्तरिक छलफलमा बित्यो । साँझ इन्डोनेसियाको दूतावासमा राष्ट्रिय दिवसको रिसेप्सन कार्यक्रम थियो । त्यहाँ उपस्थित कूटनीतिज्ञ खासखुस सानो स्वरमा कुरा गर्दै थिए । मस्कोको कूटनीतिक समुदायमा त्यसबेला एसियन ग्रुप निकै सक्रिय थियो । उनीहरू पनि अलमलमा थिए । यति चाहिँ प्रस्ट थियो, क्रेमलिनमा केही हुँदै छ ।
भोलिपल्ट जब विश्वभरि राष्ट्रपति गोर्बाचेभविरुद्ध कू-को समाचार छ्यालब्याल भइसक्दा पनि सोभियत टेलिभिजन र समाचारपत्रले भने सफेद झुट बोलिरहेका थिए । त्यतिखेर राष्ट्रपति गोर्बाचेभ पत्नी राइसा गोर्बाचेभसँग क्राइमियाको रिसोर्टमा ग्रीष्मकालीन बिदामा थिए ।
रोलक्रमका हिसाबले प्रमाणपत्र बुझाउनेमा सात राजदूतमध्ये हाम्रा राजदूत पहिलो नम्बरमा थिए ।
कूमा संलग्न हुनेहरूले पहिले त गोर्बाचेभ अस्वस्थ भएकाले अर्को व्यवस्था गर्नुपरेको भनी झुट बोले । त्यसको केही समय नबित्दै उनबाट शासकीय काम हुन नसकेकाले क्रेमलिनबाट हटाउन बाध्यात्मक अवस्था आएको भनी ढाकछोप गर्ने प्रयत्न गरे । एकपछि अर्को झुट बोल्दै उनीहरूले आफूलाई नंग्याउने काम गरे ।
आश्चर्यको कुरा त दुई दिन बितिसक्दा पनि सोभियत परराष्ट्र मन्त्रालयले एउटा पनि प्रेस विज्ञप्ति जारी गरेन, न त विदेशी कूटनीतिक नियोगका प्रतिनिधि बोलाई कुनै ब्रिफिङ नै गर्यो । त्यसैबीच रुसी संघको भर्खरै निर्वाचित राष्ट्रपति बोरिस एल्तसिनले रुसी संसद् भवन (रसियन ह्वाइट हाउस) नजिकै तैनाथ गरिएको ट्यांकमा चढेर कू-को विरोधमा जोसिलो भाषण ठोके ।
म दूतावासबाट साँझ त्यही बाटो फर्कंदा त्यहाँ मुस्किलले चार/पाँच सय प्रदर्शनकारी थिए होलान् । अगस्त महिनाको गर्मीको साँझ (प्रदर्शनकारी, आर्मी, पुलिस सबै रमाइलो गरिरहेका थिए । कू जस्तै लाग्थेन । पछि प्रदर्शनकारीको संख्या बिस्तारै बढ्दै गएर हजारौँमा पुग्यो, जसलाई एल्तसिनले आफ्नो पक्षमा भरपुर सदुपयोग गरे ।
त्यस प्रकार राष्ट्रपति गोर्बाचेभविरुद्धको कू तीन दिनमा नै असफल भयो । जसरी अगस्त कू तीन दिन पनि टिकेन, त्यसको तीन महिनापछि नै सोभियत संघको पतन हुन पुग्यो । राष्ट्रपति गोर्बाचेभ क्रेमलिन त फर्के तर उनी त्यस तीन महिनाको अवधिमा आफ्नै लाचार छायाँजस्ता देखिन्थे ।
क्रेमलिनको पावर एल्तसिनको हातमा आइसकेको थियो । सन् १९९१ को क्रिसमसको दिन अर्थात् डिसेम्बर २५ मा सोभियत संघको रातो हँसिया हथौडासहितको झण्डा क्रेमलिनबाट सदाका लागि तल झर्यो र त्यसको ठाउँमा रुसको तीरंगा झण्डा फहराइयो ।
सोभियत संघको विघटन सामान्य घटना थिएन । सोभियत संघको पतनसँगै रुसमा ७० वर्ष लामो कम्युनिस्ट शासन प्रणाली र रुसी साम्राज्यको पनि अवसान भयो । सोभियत संघ विघटन हुनुमा धेरै कारण तेर्स्याइन्छन् ।
तीमध्ये कम्युनिस्ट केन्द्रीकृत अर्थ व्यवस्थाको.असफलता अनि त्यसले जन्माएको विकृति, विसंगति र गोर्बाचोभले अवलम्बन गरेको ग्लासनोस्तले रुसी नागरिकमा जन्माएको बढ्दो आकांक्षा पनि प्रमुख कारक मानिन्छन् । साथै क्रेमलिनको नेतृत्वको अक्षमता र एल्तसिनको पपुलिज्मलाई पनि कारक तत्व मान्ने थुप्रै छन् ।
सोभियत संघको विखण्डनले अन्तर्राष्ट्रिय सम्बन्धमा तत्कालीन र दूरगामी प्रभाव पार्ने नै भयो । सोभियत साम्राज्यको पतनसँगै शीतयुद्धको पनि विधिवत् अन्त्य भयो भने हिजोसम्मको दोस्रो ठूलो महाशक्ति मुलुक छिन्नभिन्न भएपछि रुस दोस्रो शक्तिका रूपमा खुम्चिन बाध्य भयो । त्यसपछिका केही वर्ष रुस कठिन र पीडादायक राजनीतिक र आर्थिक संक्रमणको अवस्थाबाट गुज्रियो ।
सोभियत संघको विघटनले कूटनीतिक प्रश्न पनि उत्पन्न गर्यो । पहिलो त सोभियत संघको उत्तराधिकारीका रूपमा रुसी महासंघको मान्यताको प्रश्न थियो । बाहिरी विश्वले त्यसलाई मान्यता दिएसँगै सोभियत संघका लागि नियुक्त विदेशी मुलुकका राजदूत तथा नियोग प्रमुखहरू स्वतः रुसी महासंघका लागि राजदूत हुन पुगेका थिए ।
हाम्रो परिस्थिति त्योभन्दा पनि अलि विशिष्ट थियो । राजदूतको कार्यभार सम्हाल्न यादवकान्त सिलवाल सेप्टेम्बर १९९१ मा मस्को आउँदा उनले सोभियत राष्ट्रपति गोर्बाचेभको नाउँमा सम्बोधित ओहोदाको प्रमाणपत्र ल्याएका थिए । तर, क्रेमलिनको सत्ता संघर्ष र खिचातानीका कारण नयाँ राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने समय टुंगो लाग्न सकेको थिएन । त्यसरी कुर्दाकुर्दा हप्तौँ हैन, झण्डै तीन महिना बित्न लागिसकेको थियो । ओहोदाको प्रमाणपत्र बुझाउन लाइनमा बस्ने नयाँ राजदूतको संख्या बढेर सात पुगिसकेको थियो । त्यसरी थपिनेमा चीनका नयाँ राजदूत पनि थिए ।
राजदूतको ओहोदाको प्रमाणपत्रको प्रतिलिपि परराष्ट्र मन्त्रालयलाई बुझाएपछि नयाँ राजदूतले सामान्य कूटनीतिक कार्य गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । हाम्रो राजदूतले पनि सोहीअनुरूप दैनिक कार्यसम्पादन गरिरहेका थिए । तर, चिनियाँ पक्ष त्यसो भनेर सन्तोष मान्ने पक्षमा थिएन ।
राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने मिति लामो समयसम्म यकिन नहुँदा उनीहरूले असजिलो महसुस गरिरहेका थिए । नयाँ चिनियाँ राजदूत कूटनीतिक समारोह, रिसेप्सन आदि कहीँ पनि सम्मिलित हुँदैनथे । त्यही अनिश्चितता चिनियाँ दूतावासका कार्यवाहक राजदूत मलाई भेट्न हाम्रो दूतावासमा आए । विषय थियो, उही प्रमाणपत्र बुझाउन ढिलो भएको कुरामा छलफल र समन्वय गर्न ।
तीन महिना बित्न लाग्दा पनि कुनै सुरसार नदेखिँदा उनले असन्तुष्टि जनाउँदै भने :‘यस्तै ताल हो र अरू एक/दुई हप्तामा पनि परराष्ट्र मन्त्रालयबाट कुनै संकेत आएन भने हाम्रो राजदूतले प्रमाणपत्र नबुझाइकनै स्वदेश फर्कने अवस्था पनि आउन सक्छ ।’ उनको त्यो भनाइले गम्भीर कूटनीतिक महत्व राख्थ्यो । त्यसले बाहिरी विश्वमा चीनको बढ्दै गएको वर्चस्व र सोभियत संघको दारुण अवस्था पनि प्रतिविम्बित गर्थ्यो ।
उनी छिमेकी मित्रका नाताले मात्र हामीसँग सल्लाह गर्न आएका थिएनन्, रोलक्रमका हिसाबले प्रमाणपत्र बुझाउनेमा हाम्रा राजदूत पहिलो नम्बरमा थिए । त्यसो त, हामीले पनि आफ्नो तर्फबाट पहल गर्न छाडेका थिएनौँ । हामी सातवटै दूतावासले आआफ्नै हिसाबबाट ताकेता गर्दागर्दा ठोस नतिजा निस्कने हाम्रो अपेक्षा थियो ।
त्यसको केही समय त्यस्तै अलमलमा बित्यो । त्यहीबीच एकाएक क्रेमलिनमा क्रिसमस डेको घटना घट्यो, जसले सोभियत संघलाई नै इतिहास बनायो । सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचोभ अपमानजनक रूपमा क्रेमलिनबाट बाहिरिए र उनको स्थान लिन पुगे रुसी राष्ट्रपति बोरिस एल्तसिन ।
सोभियत संघको विघटन र क्रेमलिनको सत्ता परिवर्तनले नयाँ राजदूतको प्रमाणपत्र बुझाउने विषय थप अन्योलमा पर्यो । तर, हामीले अनुमान गरेभन्दा विपरीत क्रेमलिनमा सत्ता परिवर्तनको केही समयपछि नै केही दिनको छोटो समय दिएर १९९२ जनवरीको दोस्रो हप्तामा नै नयाँ राजदूतको प्रमाणपत्र पेस गर्ने मिति तय भयो ।
त्यसबेला रुसमा एउटा कहावत नै थियो, रसियन नागरिक लाइनमा जन्मन्छन्, लाइनमा नै हुर्कन्छन् अनि लाइनमा नै मर्छन् ।
त्यो छोटो अवधिको निर्णयले हाम्रासामु एउटा प्राविधिक जटिलता आइलाग्यो । यादवकान्त सिलवाल राजदूतको कार्यभार सम्हाल्न मस्को आउँदा सोभियत संघका राष्ट्रपति गोर्बाचोभलाई सम्बोधन गरिएको बडापत्र लिई आएका थिए । अब ती दुवै इतिहास भएका थिए ।
एक हप्ता बाँकीको छोटो समयमा ओहोदाको नयाँ प्रमाणपत्र नेपालबाट आइपुग्न व्यावहारिक हिसाबले सम्भव थिएन । त्यही कारण देखाई प्रमाणपत्र बुझाउने मिति सार्नु पनि कूटनीतिक हिसाबले कच्चा ठहर्थ्यो । त्यस्तो असहज अवस्थाबाट पार पाउन केही न केही कूटनीतिक उपाय त सुझाउनु नै थियो । दूतावासमा लामो आन्तरिक छलफलपछि हामीले ‘सर्प पनि मर्ने, लौरो पनि नभाचिने’ एउटा जुक्ति निकाल्यौँ ।
ओहोदाको प्रमाणपत्रको अंग्रेजी अनुवाद नयाँ परिस्थितिअनुसार अद्यावधिक गर्न केही समस्या थिएन, जुन हामी आफैँ सजिलै गर्न सक्थ्यौँ । बाँकी रह्यो नेपाली भाषाको सक्कल बडापत्र, जुन स्वयं राजाबाट हस्ताक्षरित हुनाले त्यसमा केही गर्ने सम्भावना थिएन । ती सबै कुरालाई ध्यानमा राखी हामीले त्यहाँको परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीसमक्ष यस्तो प्रस्ताव राख्यौँ :
रुसको परिवर्तित सन्दर्भमा हाम्रो राजदूतको ओहोदाको नयाँ प्रमाणपत्र काठमाडौँबाट आइपुग्न थप केही समय लाग्ने हुँदा तोकिएको मितिमा प्रमाणपत्र बुझाउन व्यावहारिक समस्या भएकाले हाललाई पुरानै प्रमाणपत्रले काम चलाउन पाए कसो होला ? प्रमाणपत्रको अंग्रेजी अनुवादमा कुनै समस्या छैन, त्यो हामी अद्यावधिक गरिहाल्छौँ । नेपालीको सक्कल प्रमाणपत्र यथासम्भव चाँडो पेस गर्नेछौँ ।
नयाँ राजदूतको प्रमाणपत्र प्रकरणमा पहिले धेरै महिनाको अलमल र अहिले छोटो समयका कारण सिर्जित समस्या उनीहरूले बुझिहाले । हाम्रो प्रस्ताव उनीहरूलाई पनि व्यावहारिक लाग्यो र तुरुन्तै त्यसमा सहमति जनाए । त्यसप्रकार राजदूत यादवकान्त सिलवालले सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचेभको नाममा सम्बोधित आफ्नो ओहोदाको प्रमाणपत्र रुसी महासंघका राष्ट्रपति बोरिस एल्तसिनलाई बुझाए ।
संयोगवश राजदूत सिलवाल सोभियत संघको विघटनपश्चात् रुसको प्रथम राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र पेस गर्ने पहिलो विदेशी राजदूत हुन पुगेका थिए । हेर्दा सानो तर संवेदनशील विषयमा सूक्ष्म कूटनीतिक माध्यमबाट बाधा अड्काउ फुकाउने त्यो एउटा सानो उदाहरण थियो । (श्रेष्ठ पूर्वराजदूत हुन् )
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया