महाकवि

फिल्म ‘बासुदेव’मा महाकविको इन्ट्री

'कुन मन्दिरमा जान्छौ यात्री' नै रेडियो नेपालले भजन-भजन भन्दै बजाएपछि हाम्रो कला-चेत कहाँ पुग्यो त ?

सामीप्यराज तिमल्सेना |
कात्तिक २९, २०७७ शनिबार ९:१७ बजे

ध्रुवचन्द्र गौतमको चर्चित उपन्यास ‘कट्टेल सरको चोटपटक’मा नीर शाहले ‘बासुदेव’ सिनेमा मात्र बनाएनन्, महाकविको कालजयी कविता ‘यात्री’लाई महागीतका रूपमा जीवन्त बनाए । रेकर्डिङका क्रममा नीर सरको चोटपटक, गौतम सरको कोट, २४ वर्षे रबिन सरको नेपाल-भारत स्वर जस्ता प्रसंग जति रोचक छन्, रेडियो नेपालले ‘यात्री’लाई भजन क्याटगोरीमा राखेको प्रसंग उत्तिकै छक्कलाग्दो । 'बासुदेव'मा 'यात्री' कविता इन्ट्रीको अन्तर्कथाको केन्द्रमा लेखक गौतम, निर्देशक शाह र गायक शर्माले इकागजसँग तीतामीठा सयपत्रीको माला उनेका छन् ।

२०३७ सालमा ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’ छापियो । यो एक हिसाबले खुबै चर्चित पनि भयो । शिक्षकका दुःखमाथि बनेको उपन्यास छोटो समयमै लोकप्रिय भयो । अभिनयको व्यस्तताबीच नीर शाहले पनि उपन्यास पढे । फिल्म निर्देशन गर्ने सोच पालिरहेका नीर शाहलाई कथा खुब जँच्यो । उनले तुरुन्तै ध्रुवचन्द्र गौतमसँग अनुरोध गरे । ‘म तपाईंको कृतिमा फिल्म बनाउँछु । कथा र संवाद तपाईंको ?’ फिल्म बन्ने कुरालाई ध्रुवचन्द्र गौतमले नाइँनास्ती गरेनन् । थप प्रस्ताव राखे, ‘ त्यसो हो भने कथा र संवाद मात्र होइन । पटकथा पनि मै लेख्छु ।’


नीर शाहलाई गौतमको प्रस्ताव सुनमा सुगन्ध जस्तो लाग्यो । ध्रुवचन्द्र गौतमका अनुसार ९ हजार पारिश्रमिक दिने सर्तमा शाह र गौतमबीच ‘बासुदेव’ फिल्ममा काम गर्ने सहमति भयो । संगीत सिर्जना फिल्म निर्माणको प्रारम्भिक काम मानिन्छ । फिल्म बन्ने सहमति भएसँगै गीत छनोट र संगीतको काम सुरु हुन्छ । यता संगीत तयार हुँदै गर्दा कलाकार र अन्य काम अगाडि बढ्छन् । नीर शाह आफैँ स्थापित गीतकार थिए । गीतको समस्या थिएन तर संगीत सिर्जनाका लागि कुनै न कुनै संगीतकारलाई त्यो जिम्मेवारी सुम्पनु नै थियो ।  उनले त्यो काम सुम्पे, रञ्जित गजमेरलाई ।

फिल्म बनाउने निधो गरेपछि ‘कुसुमे रुमाल’को सुटिङका लागि नीर शाह कालिम्पोङ पुगेका थिए । त्यहीँ रञ्जित गजमेरसँग भेट भएपछि उनले ‘बासुदेव’मा अटाएका तीन गीत ‘यो पहाड यो क्षितिज’ र ‘जति निर्मल जति चोखो’, ‘पसिनाको जलैले’ संगीतका लागि रञ्जित गजमेरलाई जिम्मा लगाए ।

केही दिनपछि सुटिङ सकेर काठमाडौँ फर्किएर पटकथामा थप काम गरिरहँदा नीर शाहलाई अनुभव भयो, ‘बासुदेवको जीवन दर्शन बोक्ने एउटा थिम गीत पनि चाहिन्छ ।’ उनको दिमागमा दुइटा कविता पो आए । लेखनाथ पौड्यालको ‘कालमहिमा’ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ ।

कविशिरोमणि पौड्यालकी छोरी शान्ता पोखरेलसँग नीर शाहको राम्रै चिनजान थियो । शाहले यस्तो यस्तो गर्न लागेको भनेर भनेपछि शान्ताले तुरुन्तै अनुमति दिइन् । नीर शाहले गीत लिएर संगीत गर्ने जिम्मा शम्भुजित बाँस्कोटालाई लगाए । यता ‘यात्री’का लागि भने उनले महाकविका कान्छा छोरा पद् म देवकोटासँग कुरा गरे । उनले पनि सहर्ष स्वीकृति जनाएपछि ‘यात्री’को गीति अधिकार नीर शाहको पोल्टामा आइपुग्यो ।‘त्यतिबेला महाकविकी अर्धाङ्गिनी र छोरीसँग सम्झौता गरे जस्तो लाग्छ,’ नीर शाहले विगत सम्झने कोसिस गर्दै भने, ‘पैसा चैँ मैले पाँच हजार रुपैयाँ दिएको थिएँ ।’

महाकविलाई नीर शाहले भेट्ने मौका पाएनन् । तर, महाकविको यो कविता ६/७ कक्षा पढ्दादेखि नै उनको फेवरेट थियो । नेपाली नै मुख्य विषय लिएर स्नातक गरेका शाहले कोर्सको किताब ‘नेपाली पद्य संग्रह’ पढ्दा पनि यो कविता पढेका थिए । बाल्यकालदेखिको ‘यात्री’प्रेम वयस्क हुँदा झन् गाढा भएको थियो । कविताको अर्थै नबुझ्ने उमेरमा मन परेको कविता बुझ्न थालेपछि बिघ्नै मन पर्न थालेको थियो ।

‘मलाई मन पर्ने कविताको कुरा गर्ने हो भने आज पनि यो एक नम्बरमा आउँछ । फेरि यो गीतको भाव र फिल्मको मुख्य चरित्रको दर्शन मलाई एकै हो भन्ने लाग्थ्यो । यस्तै कुराले प्रेरित भएर मैले यो गीत फिल्ममा राख्ने निर्णय गरेको थिएँ,’ शाह भन्छन् ।

‘यात्री’ कवितालाई गीतिकरण गर्ने अनुमति पाए पनि कवितालाई गीत बनाउन सकिन्छ कि सकिन्न भन्नेमा शाहलाई द्विविधा भने थियो । पहिला लेखेका गीतको सिटिङका लागि शाह मुम्बई जानु थियो । उनले कविता बोकेर गए । संगीत तयार भएका गीत सुनेपछि उनले ‘यात्री’ कविता सारेको पन्ना रञ्जित गजमेरतिर तेर्स्याउँदै भने, ‘फिल्मको सिक्वेन्समा यसलाई गीत बनाएर राख्न मिल्ला त ?’ रञ्जित गजमेरले कविता पूरा नपढ्दै मिल्ने जवाफ दिए । दुई साता हाराहारीमा गजमेरले हार्मोनियममा गीत सुनाए । पहिलो भर्सन नै नीर शाहलाई ‘दामी’ लाग्यो । तर, यो गीत कसलाई गाउन दिने भन्ने कुराको निर्णय गर्न भने थोरै समय लाग्यो ।

‘बासुदेव’का अधिकांश गीत उदित नारायण झा र दीपानारायण झाले गाएका छन् । उदित उसबेला मुम्बईमा संघर्ष गरिरहेका थिए । गीत मुम्बईमा रेकर्डिङ हुने भएपछि पुरुष स्वरका लागि उदित निर्विकल्प थिए । दीपा झाले भने संयोगले गीत गाउने मौका पाएकी थिइन् । दीपा उसबेला एयरहोस्टेस थिइन् । गायनको रुचिका कारण उदितको संगतमा थिइन् । नेपालबाट गायिका बोलाउने झन्झट गर्नुको साटो नीर शाह र रञ्जित गजमेरले दीपालाई नै गाउन लाउने निर्णय गरे । तर, उदित र दीपाले गाएका सबै गीत कृष्ण मल्ल र शर्मिला मल्लमाथि पिक्चराइज हुँदै थिए । तर, नीर शाहले यात्री भने हरिहर शर्मामाथि खिच्ने सोच बनाएका थिए । सबै पुरुष स्वर उदितको हुँदा फरक नदेखिने पीर आइलाग्यो । फेरि नीर शाह र रञ्जित गजमेर बसेर निधो गरे, ‘यो गीतका लागि नयाँ गायक प्रयोग गरौँ ।’

उदितको मुखबाट यो गीत कालान्तरमा रबिन शर्माको पोल्टामा आइलाग्यो र यही गीत उनको गायकीको पर्याय बन्यो । २४ वर्षका रबिन शर्मा उसबेला त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीमा पहिलो वर्षका विद्यार्थी थिए । एक दिन कसैले उनलाई नीर शाहले भेट्न खोजेको खबर पठायो । तर, नीर शाहलाई भेटेपछि उनले थप कुरा नगरी सिधै ठमेलतिरको एउटा होटलको ठेगाना टिपाइदिए । शाहले भनेका थिए, ‘त्यहाँ गएर रञ्जित गजमेरलाई भेट्नू ।’

नीर शाहले भेट्न खोज्नुको मतलब कुनै गीतकै कुराका लागि हो भन्ने कुरामा कुनै शंका थिएन । किनकि रबिन शर्माले स्वर परीक्षा पास गरेको पहिलो गीतका रचनाकार नै नीर शाह थिए । सिके रसाइलीको संगीत रहेको ‘मेरा सिर्जनाका सम्मानहरू कसैको’ गीतबाट नै सन् १९७७ मा रबिन शर्माले रेडियो नेपालको स्वर परीक्षा पास गरेका थिए । त्यसपछि रेकर्ड भएका ‘तिमी यसै लजायौ’, ‘आफैँलाई भार भयो’ जस्ता गीतबाट रबिन शर्मा स्रोताको ढुकढुकी बन्न सफल भइसकेका थिए ।

‘मलाई मन पर्ने कविताको कुरा गर्ने हो भने आज पनि यात्री नै एक नम्बरमा आउँछ ।’ 

तर, जब ठमेल पुगेर रञ्जित गजमेरलाई भेटे, उनले  अपेक्षा नगरेको गीत गाउने अफर पाए । ‘रञ्जित दाइलाई भेटेर क्षेमकुशल सोधेपछि उहाँले हार्मोनियममा ‘कुन मन्दिरमा’ बजाउन थाल्नुभयो । पहिलो अन्तरा नसक्दै मैले लय टिपिहालेँ,’ हाल अमेरिकामा रहेका रबिन शर्माले इकागजसँगको कुराकानीमा भने । 

केही दिनपछि रञ्जित गजमेरले रबिन शर्मालाई ग्रुप थ्री नामको रेकर्डिङ स्टुडियोमा बोलाए । स्टुडियोमा शुभबहादुर सुनामसँगै नेपालका टप वाद्यवादक थिए । रञ्जित गजमेरले इसारा गरेपछि रबिन शर्मा माइक रुममा छिरे । बाजा बज्न थाले । रबिन शर्माले पनि मुडमा गाउन थाले । तर, केही बेरमै रञ्जित गजमेरले हातको इसाराले गायकी रोक्न भने । रबिन शर्मालाई लाग्यो ‘ला, मैले गाएको भएन । मेरो हातबाट गीत गयो ।’

सिसाभित्र रहेर तर्कना गरिरहँदा उनले देखे वाद्यवादकहरू बाजा पनि थन्क्याइरहेका छन् । अमिलो मुख लगाएर रबिन शर्मा रेकर्डिङ रुमबाट बाहिर निस्किए । मायालाग्दो गरी रञ्जित गजमेरलाई हेरे । रबिन शर्माको आशय बुझेका रञ्जितले उनलाई सान्त्वना दिने गरी भने, ‘हामी यो गीत मुम्बईमा रेकर्ड गर्छौं ।’ रबिन शर्माले बल्ल सन्तोषको सास फेरे ।

यसको केही समयपछि नै रबिन शर्मा ‘बासुदेव’ फिल्मका सहायक निर्देशक श्याम राईको साथ लागेर गीत रेकर्ड गर्न मुम्बई पुगे । मुम्बईको ‘रेडियो जेम्स’मा गीत रेकर्ड भयो । त्यसपछि जे भयो, मीठो इतिहास भयो । तर, यही गीतसँग नीर शाहको भने दुःख जोडिएको छ ।

जुन दिन यो गीत रेकर्ड भयो, त्यही दिन उनले सन्तान गुमाएको पीडा सहनुपर्यो । नीर शाहका अनुसार जुन दिन यो गीत रेकर्ड भयो त्यही दिन साँझ उनले काठमाडौँबाट आफ्नो बच्चा खेर गएको खबर पाए । ‘गीतको रेकर्ड सकेर होटलमा फर्किनेबित्तिकै बच्चा खेर गएको खबर पाएँ,’ नीर शाहले ३९ वर्षअघिको घटना सम्झँदै भने, ‘गीतको रेकर्डिङ हेर्न विनोद चौधरी पनि मुम्बई आउनु भएको थियो । उहाँलाई भनेर राति १२ बजेको फ्लाइट लिएर मुम्बईबाट दिल्ली आएँ र त्यहाँबाट काठमाडाँै । तर, म घर पुग्दा बच्चाको अन्तिम संस्कार भइसकेको थियो ।’

तर, रबिन शर्मा भने रेकर्डिङभन्दा अलि पहिले नै नीर शाह फर्किएको सम्झन्छन् । उनले इकागजसँग भने, ‘नीर दाइ रेकर्डिङमा भएको मलाई सम्झना छैन । बरु त्यतिबेला तुलसी घिमिरे, श्रवण घिमिरे, भारती गजमेर रेकर्डिङमा हुनुहुन्थ्यो ।’

तर, नीर शाहले यो गीतलाई भव्य बनाउन कुनै कसर छाडेका थिएनन् । गीतको म्युजिक अरेन्जमेन्ट मनोहरि सिंहले गरेका थिए जो भारतका चर्चित संगीतकार आरडी बर्मनका गीतको पनि म्युजिक अरेन्ज गर्थे । त्यसैगरी, यो गीतमा भारतमा ज्याज संगीतका गडफादर मानिने लुइस ब्यांक्सले सेक्सोफोन बजाएका थिए । नीर शाहका अनुसार यो गीत तयार गर्न दुई लाख रुपैयाँ चानचुन खर्च भएको थियो । उसबेला महँगा गीत पनि एकदेखि डेढ लाखको बीचमा बनिसक्थे ।

तर, यो गीतको मेहनतअनुसार फल पाउन भने लामै समय कुनुपर्यो । उसबेला प्रचारको एक मात्र माध्यम रेडियो नेपाल थियो । गीत चलाउने–नचलाउने यसैको तजबिजीमा चल्थ्यो । जब यो गीत रेकर्ड भएर रेडियो नेपालमा आयो, त्यहाँका कर्मचारीले यसलाई भजन गीतको क्याटगोरीमा राखिदिएको रबिन शर्मा सम्झन्छन् । 

‘पहिला त यो गीतलाई कसैले वास्तै गरेनन् । रेडियो नेपालमा दर्ता गर्दा भजन गीत भनेर दर्ता गरेका थिए । योभन्दा दुर्भाग्य के हुन्छ, जुन गीतले आत्मा नै मन्दिर हो । बाहिरका मन्दिर धाइरहनु पर्दैन भनिरहेको छ, त्यही गीत मन्दिरको गुणगान गाउने गीतसँगै बज्नुपरेको छ,’ शर्माले दिक्क मान्दै इकागजसँग भने, ‘राम्रो क्वालिटीमा पनि गीत सारिएको थिएन । जब २०५२ सालमा एफएमको सुरुवात भयो । त्यसपछि बल्ल यो गीत लोकप्रिय हुँदै गयो ।’

रेडियो नेपालले ‘यात्री’लाई भजन भनेर दर्ता गरेको थियो । योभन्दा दुर्भाग्य के हुन्छ, जुन गीतले आत्मा नै मन्दिर हो भनेको छ । ’ 

दिग्गज कलाकार हरिहर शर्मामाथि पिक्चराइज भएको यो गीत रत्नपार्क, सानो ठिमी, पुल्चोक, माली गाउँ आदि ठाउँमा खिचिएको छ । रत्नपार्कमा सुटिङ हुँदा रबिन शर्मा पनि एक दिन सुटिङ हेर्न गएका थिए । गीतमा धेरैजसो समय हरिहर शर्मा यताउता हिँडिरहेको देखिन्छ । नीर शाह गीत सुटिङ गर्दा लोकप्रियताभन्दा पनि गीतको भाव नमरोस् भन्नेमा आफू सचेत रहेको बताउँछन् । ‘लोकप्रियताको कुरा त दिमागमै थिएन । खालि गीतको जे भाव छ त्यसलाई गहिराइमा डोर्‍याउने अभिप्राय थियो,’ शाहको कथन छ ।

फिल्म हेरेपछि रबिन शर्मा भने खिन्न भएका थिए । किनकि फिल्ममा गीत टुक्राटुक्रा गरी बज्छ । रबिन शर्मालाई गीत सरसर्ती किन नबजाइदिएको होला भने पछिसम्म गुनासो थियो । तर, सन् १९९४ मा जब उनले हैदरावादको ओस्मानिया युनिभर्सिटीमा भएको ‘फिल्म एन्ड अमेरिकन कल्चर’ शीर्षकको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने अवसर पाए बल्ल त्यसबेला उनले गीतलाई टुक्रा पारेर राख्नुको अर्थ बुझे ।

‘यहाँ मैले सङ एज एन इन्टिगल पार्ट अफ स्क्रिनप्ले विद रेस्पेक्ट अफ बासुदेव एन्ड प्रेमपिण्ड’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु थियो । जब यसको तयारी गरिरहेको थिएँ त्यतिबेला बल्ल मैले यसको अर्थ बुझेँ,’ शर्माले भने । यो गीतभरि हरिहर शर्मा धर्के कोटमा देखिन्छन् । हरिहर शर्माले लगाएको यो कोट भने यसकै लेखक ध्रुवचन्द्र गौतमको हो । गौतमले आफ्ना केही संस्मरणमा महाकविको गीतमा आफ्नो कोटले अभिनय गरेको कुरा सगर्व उल्लेख गरेका छन् । नीर शाह आफूले खोजे जस्तो कोट लेखक ध्रुवचन्द्र गौतमले लगाएर हिँडेको देखेपछि आफूले मागेको बताउँछन् ।

‘बासुदेव खासमा ध्रुवचन्द्र गौतमकै छायाँ चित्र हो भन्ने मलाई लागिरहेको थियो । पटकथा लेखनका क्रममा उहाँले धेरैपल्ट यो कोट लगाउनु भएको ख्याल गरेको थिएँ । जब सुटिङको समय आयो, मैले उहाँसँग कोट मागेँ । उहाँले सरक्क उतारेर दिनुभयो,’ शाहले सम्झना गरे ।

डा. ध्रुवचन्द्र गौतम भने आफ्नो कृतिमा महाकवि जोडिन लागेको खबर सुनाउँदा नै आफू अभिभूत भएको बताउँछन् । ‘जसले कट्टेल सरको चोट पटकलाई सिनेमा बनाउँछु भनेर आँटेको थियो, त्यो चानचुने मान्छे पक्कै थिएन,’ नीर शाहको प्रशंसा गर्दै गौतमले भने, ‘उहाँले महाकविको गीत राख्न लागेको भनेपछि म खुसी र आनन्दित नै भएँ । किनकि मेरो सिर्जनामा महाकवि जोडिनु मेरा लागि गर्वको विषय थियो । अनि फिल्ममा गीत जुन ठाउँमा जसरी आएको छ, मैले कल्पना गरेभन्दा राम्ररी आएको छ ।’

सिनेमामा महाकविको कविता राख्न लागेको भनेपछि म खुसी र आनन्दित  भएँ । किनकि मेरो सिर्जनामा महाकवि जोडिनु गर्वको विषय थियो ।’ 

यही प्रसंगमा कुरा गर्दा गौतमले इकागजसँग महाकवि भेटको अर्को रोचक प्रसंग पनि सुनाए । गौतमका अनुसार २०१४ सालमा महाकवि काव्यसभाका लागि वीरगञ्ज पुगेका थिए । सभामा कार्यक्रम सञ्चालकले कविहरू पागल हुन्छन्, स्वाभिमानी हुन्छ्न, सनकी हुन्छन् आदि भनेर कविको गुणगान गरेछन् । तर, अन्त्यमा जब महाकवि देवकोटाको बोल्ने पालो आयो उनले प्रस्तोताको वर्णनको जवाफ दिँदै भनेछन्, ‘हो, दुनियाँमा धेरै थरी पागल हुन्छन् । तर, कवि-कलाकारबाहेक अरु कुनै पागल काम लाग्ने हुन्नन् ।’

गीतलाई लिएर आजसम्म न नीर शाहले देवकोटा परिवारबाट कुनै प्रतिक्रिया पाएका छन्, न रबिन शर्माले । अझ रबिन शर्माले त महाकवि देवकोटाका छोरा–छोरी दुवैसँग विभिन्न कालखण्डमा सँगै काम पनि गरेका छन् । शर्मा त्रिविको अंग्रेजी केन्द्रीय विभागमा विद्यार्थी हुँदा उनलाई महाकविका छोरा पद्म देवकोटाले पढाएका थिए ।

पछि रबिन शर्माले त्यहीँ चार वर्ष पढाए । यो बेला सहकर्मी जस्तो भए । तर, जब रबिन शर्मा पढाउन छाडेर रेडियो नेपालमा जागिर गर्न थाले, त्यहाँ उनले महाकविकी पुत्री अम्बिकादेवी रिमालसँग रेडियोमा सँगै काम गरे । ‘तर, खै औपचारिक रूपमा उहाँहरूले गीतबारे केही कुरा गरेको सम्झना छैन । यही एउटा मात्र सिर्जना कालजयी भएको भए पो उहाँहरूलाई याद होला । जे छन् सबै त विशेष छन्,’ शर्माले बिट मारे ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x