साहित्य

कथा: चुनावी चौका !

कमला राना |
जेठ ७, २०७९ २२:२६ बजे

फाइल फोटो

एक्लै वैशाखको चर्को घाम र रुखो खडेरी सहेको एक बित्ते मकैको बिरुवालाई लर्काइफर्काइ गोडिरहँदा पारी पाखाबाट  एक हुल जमातले एकैसाथ ठुल्दिदीलाई ‘नमस्कार! नमस्कार दिदी!’ भन्ने आवाजले झसङ्ग पारिदिन्छ।

नचिनेका मान्छेहरू को हुन् ? कताका हुन् ? कसरी र किन आए होलान्, साइनो लगाउँदै भन्ने कौतुहल  भए पनि अज्ञात जमातलाई हेर्दै नहेरी उनी नमस्कार नफर्काइ आफ्नै धुनमा एकोहोरो मकै गोडिरहन्छिन् तर त्यो हुल आफ्नै बारीमा आइपुगेपछि उनि अक्क न बक्क बनेर उभिरहिन।त्यो हुलको नमस्कार अझै रोकिएको थिएन। ‘म यो पाली पनि  उठेको छु भोट त मलाई नै दिनु है, जसरी पनि।माथि साइँलीको भट्टीमा खाजा भन्देको छु भिनाजु र बाबुहरूलाई नि लगेर खानु नि ! अहिले मकै गोडेर फर्केसी।’ ती अधबैंसे पुरुष निरन्तर बोलिरहेको सुनिरहिन।


आज उनी सपना हो कि विपना हो केही  छुट्याउन सकिरहेकी छैनन् ।सकुन् पनि कसरी ? अहिलेसम्म कोही कसैले न त उनलाई  ‘नमस्कार’ गरेको थियो  न त खाजा र खानाको बारेमा ख्याल नै। बारीमै आएर जिल्याउने, जादुगरी र लालीपप झैं लाग्ने बोली सुनेर दङदास हुँदै एकोहोरो सुनिरहिन। जमातका कोही त उसको कोदालो समेत खोसेर हामी गोड्दिन्छौ, तपाईंको मकै । हामी सघाउँछौ- हाम्री दिदीलाई भनेर साखुल्ले पल्टिन पनि भ्याए।

अहिलेसम्म कोदालो नछोएका, बारीको माटोको डल्लाले नचिनेका, घाम नखाइ माम पचाएकाहरूले यति धेरै चिल्लो किन घसेका होलान् भनेर ठुल्दिदीलाई खुलदुली  नलागेको होइन तर कता कता परिचित लाग्ने त्यो बोली सम्झिन थालिन । कतै देखे झैं लाग्ने, कतै बोली सुने झैं लाग्ने तिनीहरूको बोली कहीं आफ्नै आफन्तको त होइन ? भनेर उनी बारीमा बढ्दै गरेका, खडेरी खेपेका चारपाते सुइरोले टन्टालापुर घामसँग जुधेर बाँच्ने अभिलाषाका साथ परेड खेल्दै गरेका मकैका बिरुवालाई एकछिन मुसार्न छाडेर कमेडी लाग्ने ती अनुहारहरूलाई एकिन गर्न पुग्छिन् । ‘अँ साँची चिने चिने ! २०७४ सालमा पनि भोट माग्न आउनु भएको थियो हैन?’

ओहो! ठुल्दिदी कस्तो ठ्याक्कै पार्नु भो ! सम्झेर बस्नु भएको रे’छ । मेरी दिदी कति जाति, कति भद्र! अब त पक्का विश्वास भयो- हाम्री दिदीले हाम्रो पार्टीलाई नै भोट हाल्नुहुन्छ । हामीलाई जिताएर पहिले झैं पाल्नुहुन्छ ।’एकै सासमा ती पुरुषले भट्याए । मतपत्र पट्याउदै तिनले पार्टीको चिह्न पनि देखाए। लगत्तै धुलो टक्टक्याउँदै बारीबाट उकालो लाग्न थाले दुई दर्जन जति भाडाका कार्यकर्ताहरूसँगै  । के को मकै गोड्नु? के बात मार्नु ? झन्डा हल्लाउँदै भेडाको हुल झै लमतन्न हुँदै लर्को लाएर हिडे। ‘भरे साइँलीको भट्टीमा खाजा खाने बेला भेटुँम्ला है ठुल्दिदी” जसरी पनि आउनू है भन्दै।

 

यो  चुनाव त हरेक वर्षमा आउनुपर्ने। हरेक साल नयाँ जुत्ता फेर्न पाइन्थ्यो, पार्टीको झन्डा बोकेर रक्सी धोक्न पाइन्थ्यो, अनि बार्गेनिङ गरीगरी भोट ठोक्न पाइन्थ्यो। आहा चुनावी चौका ! पैसाको खोलो थेग्ने मौका !! यसरी गरिबी मानसिकता भएका नेताहरूले गरिबहरूको संवेदना चिन्ने र भोट किन्ने असली खेल बनेको छ चुनाव !

ठुल्दिदीले न त्यो हुलको कुरा बुझ्न सक्यो न ठुल्दिदीको दुख पीर सुनाउन नै पायो। एक छिनसम्म त्यो हुललाई हेर्दै फेरि लागिन आफ्नै काममा । चार ठाउँमा फाटेर टालेको चोली, अनि किनेदेखि साबुन र धारा नदेखेको गुन्यूको फेरोले निधारबाट टप्किरहेका पसिनाको बुँदहरूलाई पुछ्दै ठुल्दिदी सोच्न थालिन । पहिले चुनावको बेला यसरी नै ती हुलले म डोकोमा गाग्री बोकेर खोला छेउमा पानी भर्न जाँदा ‘दिदी हामीलाई भोट दिनुस् हामी घर-घरमा पिउने पानीको धारा  बनाइदिन्छौं, यसरी एक घण्टा लगाएर टाढा पानी लिन जानुपर्दैन’ भन्नेहरू- यिनै हुन् । त्यसपछिका पाँच वर्षसम्म पनि पानीको समस्या जस्ताको तस्तै छ ।चुनाव जितेर गएपछि फर्केर यो ठाउँमा आएन । आउनु त के तिनीहरूको अनुहारसम्म देख्न पाइएन, झन्डै-झन्डै बिर्सनै पो लागिएछ । यो पाली भोट माग्न आउँदा भनुँला भनेको झन् हाम्रै मान्छे हुन् भोट पक्का दिन्छन् भनेर ढुक्कसँग पो गए त! पख! यो पाली त के दिन्थें । के जिताउँथें र म। ठुल्दिदी आफैंसँग बात मार्दै एक मेलो सकिएको पत्तै पाइनन्।

फेरि अर्को हुल आइपुग्यो-  ‘नमस्कार हजुर ! हामीलाई चिन्नु भो नि! यो पाली म उठेको छु । मलाई भोट दिएर जिताइदिनु पर्यो । मलाई यो गाउँको मुहार फेर्ने धोको छ। हेर्नुस् त यहाँ आकासे पानीको भरमा छ- हाम्रो खेतीपाती ।मकै सुकेर परालै पो हुन आँटिसक्यो । यदि मलाई भोट दिएर जिताइदिनु भयो भने म दरौंदीको पानी लिफ्टिङ गरेर ल्याउँछु । आकासे पानीको भर पर्नुपर्दैन- तरकारी बाली लगाएर टन्न आम्दानी गर्न सकिन्छ।यसपाली त भोट मलाई नै है ठुल्दिदी !’ उसलाई अघिको हुल भन्दा असल यिनीहरू पो छन् झैं लाग्यो । आफ्नो खाँटी समस्या चिने झैं लाग्यो । अनि ‘हस’ भन्दै फ़ेरि आफ्नो मेलो सुरु गर्न थालिन ।

५ मिनेटपछि फ़ेरि अर्को हुल ‘ जिन्दावाद, जिन्दावाद ! भन्दै आफैंतिर आएको देखियो। नमस्कार, ठुल्दिदी! हामी हजुरलाई नै भेट्न आ’को, यो पालीको चुनाबमा हामीलाई भोट दिएर जिताइदिनुपर्यो, अरूले भासन गरे, कुरा बिकाए, ५ वर्ष टिकाए।अब हामीलाई तपाईंहरूको सेवा गर्ने मौका दिनुपर्यो। बेरोजगारी समस्या समाधान गरी युवाहरूलाई रोजगार र महिलाहरूलाई उद्यमी बनाउन हामीसँग धेरै योजनाहरू छन् ।हेर्नुस त- परम्परागत खेती किसानी अपनाउँदा हाम्रो जीवनस्तर सधैं जहाँको तहीं छ ।अब साना घरेलु उद्योगहरूमा हामी जुट्नुपर्छ । खेतीपाती गर्दा परिश्रम ज्यादा लाग्ने अनि उत्पादन कम हुने, ६/६ महिनालाई पुग्ने अन्न नि उब्जाउन नसकिने भइरहेको छ । सिँचाइको स्रोत छैन, आकाशे पानीकै भरमा पर्दा हामीले भनेजस्तो प्रगति गर्न सकेनौ । बरु गाउँ मै हस्तकला तथा स-साना उद्योग चलाउन पाइयो भने छोराहरूलाई रोजगार नि मिल्ने आफूहरूले नि आम्दानी गर्न सकिने । यसपालि हामीलाई जिताउनपट्टि लाग्नुस् अहिले नै हामीसँग भोट माग्न जाउँ छोड्दिनुस मकै सकै गोड्न।यता अल्झेर हुन्न।’ठुल्दिदीको अलमल परेको मन त्यो जमातको गुलियो कुराले लट्ठै पर्ने गरी भुलियो। एक जना अधबैसे महिला ठुल्दिदीको  नजिकै आएर कानैमा साउती मारिन ‘भोलिबाट हामी सङै जाने है दिदी! हामी पनि कुटो कोदालो छोडेर आका छौं- उहाँलाई जिताउन। तपाईंलाई लिन हामी बिहानै आउँछौं । बिहानैदेखि बेलुकासम्म भोट माग्न जादा एक दिन हिडेको २००० निमेक हो। बुझ्नुभो नि ?’

दङदास हुँदै हसिलो अनुहारमा ठुल्दिदीले मुन्टो हल्लाएर निम्तो स्विकारिन।

घरमा गएर श्रीमान् र छोराहरूलाई दिनभरीको घटनाबारे बेलिबिस्तार लगाइन । ‘अब मकै सकै गोड्ने हैन । अर्काको बारी जोत्न जाने हैन। छोराहरू नि बाख्रा साख्रा चराउन जाने होइन । पैसा कमाउने मौका छ, हामी चारै जना परिवार जुन पार्टीले धेरै निमेक दिन्छ उसैको भोट माग्न जाने हो। एक दिनको  दुई हजार आउँदो रे’छ।चार जनाको त एक दिनको ८००० हुने भो । ७ दिनमा ५६००० अम्म्म्म्म्म। मासु भात पनि खान पाइने, घरको चामल पनि जोगिने अझ उल्टो ५६/५६ हजार कमाइ हुने- हेर बुढा ! दुई भाइ छोरा र हामी बुढाबुढी जानपर्छ- यो पाली चौका हान्न पर्छ। ‘ठुल्दिदीले बुढालाई लोभ्याइन, अनि १५ र १७ वर्षका दुई छोराहरूलाई नारा लाउने, झन्डा हल्लाउने उनीहरू जता-जता जान्छन् त्यतै जाने र नमस्कार गर्ने आदि आदि कामको बारेमा अर्थ्याइन। त्यो पारिवारिक सरसल्लाहपछि भोलि पल्ट बिहान कहिले होला भन्दै  सबैजना सुते ।सबै जनालाई त्यो रात निकै लामो भए झैं लाग्यो।

बिहानै उनीहरू तयार हुँदै थिए पल्लो गाउँकी जुरेली दिदी आइपुगिन। ‘जाउँ जाउँ ठुल्दिदी ! आज अमलापानीसम्म पुग्ने हो।त्यहीं खाना खाने हो।’

ठुल्दिदी – ‘हामी त सबै जना तयार भाको । दिदी! मकै नि खडेरीले खायो, दिनभरि दुख गरे नि उही हो । बाख्रा नि कुँडो-ढुटो दिएर बाँध्ने हो ।यो सात दिन चराउन गोठाला नपठाउने ! दुई छोराहरू नि लैजान पाए त कमाइ राम्रै हुने रे’छ।’

जुरेली दिदी मुसुक्क हाँस्दै भनिन्- आऽऽ दिदी! यो पार्टीमा भन्दा त अर्को पार्टीमा पठाइदिने छोराहरूलाई दुई सय बढी दिन्छन् । अलि धनी छ क्या त्यो पार्टी- यो पार्टी भन्दा ।मैले नि माइलो छोरा त्यो पार्टीमा पठा’छु।अँ साँची कति वर्षका भए यिनीहरू?’

ठुल्दिदी बोलिन्- “१५ र १७”।

‘ओहो बालाखा नै रे’छ- जुरेली’

‘किन र?’ ठुल्दीदी बोलिन।

‘अलि चिचिला भन्छन् कि भनेर शतुर पार्टीले, खैर केही छैन म मिलाउँछु।’घोक्रे घोक्रे स्वर भाका ए लोर्के केटाहरू कसैले तिमीहरूको उमेर सोध्यो भने १८ वर्ष पुगिसकेको हौं भन्नू नत्र चुनावमा बालबालिका प्रयोग गरेको भनेर अर्को पार्टीले उजुरी गर्छन् ।’ मज्जाले अर्थ्याएर पाठ सिकाइन जुरेलीले।

ठुल्दिदी मख्ख परिन । ‘उसो भए भन्देउ न त कल्लाइ भन्सुन गर्ने हो?’

‘भैहाल्छ नि, मेरो छोरालाई भनेर पठाइदिन्छु- जुरेली ‘

‘अनि बैनी बुढालाई चैं कुन पार्टीमा पठाउनी त?’- ठुल्दिदीले  हतारिंदै भनिन्।

‘ह्वालाई बुढा पार्टीमा पठाउने। त्यो पार्टीमा चै अलि घोक्रो सुक्ने गरी नारा लगाउनु पर्दैन क्या । पैसा चैं कम हो तर मज्जाले मासु भात बियर दन्काउन पाइन्छ।खाउँन न हाम्रा लोग्नेहरू बरा कता गएर मेचमानी खान पाउँछन् र बाबै ! चुनावभरि खाउन, पिउन, रमाउन अनि कमाउँन पनि- जुरेली’

ठुल्दिदी आज मख्ख छिन् आजबाट केही दिन रमाएर कमाएर हिँड्न पाइयो भनेर। घरमा ताला लगाएर चारै जना छुट्टाछुट्टै पार्टीको झन्डा बोकेर हिँडे- भोट माग्न।जिन्दावाद ! जिन्दावाद ! भोट के मा ? ….. मा।

साँझ ८/९ बजे चारै जना घरमा आइपुगे । एक अर्काको अनुभव सुनाए। कान्छा छोराको त झन् घोक्रो नै सुकिसकेछ भोलि कराउन स्वर खुलाउन भनेर आमा चैं ले चामल र निबुआको पात मिसाएर चपाउन लगाइन्।बुढा मजाले बियर र रक्सी धोकेर आएछ, घरमा आएर वाक्नुसम्म वाके।

भोलिपल्ट बिहान नहुँदै उही तालिका सुरु भो- छुट्टाछुट्टै पार्टीको लागि भोट माग्ने । उनीहरू ७ दिन लगातार हिँडे। मौन अबधि सुरु हुनुभन्दा अघिल्लो दिन साँझ आ-आफ्नो निमेक पाए चारै जनाले भोट पनि आ-आफ्नै झन्डा बोकेको पार्टीलाई दिने सर्तमा। छोराहरूको भने उमेर नपुगेकाले मतदाता नामावली नै थिएन तर उनीहरूलाई एक / एक जना भोट हाल्ने मान्छे  खोजेर ल्याउने जिम्मा दिइयो। ठुल्दिदीले वर्षौंसम्म नफेरेको चोली फेरिन् गुन्यू किनेर लाइन्। श्रीमानलाई आँखा जँचाउन लान सकेको थिइनन्, चुनावपछि आँखाको अप्रेसन गर्न काठमाडौं लैजाने योजना गरिन।छोराहरूले आफूलाई मन परेको जुत्ता किनेर ल्याए।उनीहरूको घरमा हात्ती हात्तीको गड्डा ट्यान्कामा भित्र्याउन पाएकोमा खुशीयाली छाएको थियो।

गरिबीसँग बेचिएको भोटसँगै भित्रिएको पैसाले उनीहरूको शान्त घरमा चिन्ता पनि भित्र्याएको थियो । यो पैसा कसैले लुट्छ्न् कि, चोर्छन् कि वा चोरले चोर्न आउँदा चार जनाकै ज्यान पो लिन्छन् कि भनेर ।उनीहरू आलोपालो गरेर सुत्न थाले। चुनावको अघिल्लो दिन आधा रातमा ढोका ढकढक्याएको आवाज ठुल्दिदीको कानमा बज्रियो।जुरुक्क उठेर छोराहरू र लोग्नेलाई उठाइन।चारै जना चनाखो भएर ट्यान्का जोगाउन लागे। कान्छो छोराले ढोकाको प्वालबाट चियाएर हेर्यो। त्यहाँ बाहिर ८/९ जना केटाहरू र एक जना अधबैंसे पुरुष उभिएर खस्याक खुसुक पैसाको कुरा गरेको कान्छा छोराले सुन्यो।आमा बालाई झन पीर पर्‍यो ।अब ज्यान जोखिममा पारेर सो पैसा नलिने भनेर ठुल्दिदी भित्र बाट बोलिन- ‘चारजना कै दिउँला ।’

बाहिरबाट मधुरो स्वरमा आवाज आयो ‘कति?’

ठुल्दिदी बोलिन् – चार  जनाको चौका।

बाहिरबाट आवाज आयो ‘मौन अबधि सुरु भएको छ हुन्छ जति भन्नुहुन्छ तर दिन चैं पर्छ नि।’

‘ दिन्छौं क्या कस्सम यी छोराहरुको कस्सम दिन्छौ।’

‘ढोका त खोल्नुस नाम के के छ?’ बाहिरबाट केटाहरू”को आवाज आयो।

‘ढोका त हामी मरेनी खोल्दैनौ पुलिसलाई खबर गरौं ? माथिल्लो घरको छिमेकीहरूलाई बोलाइदिउँ?- चारैजनाले एकैसाथ बोल्छन् ।

‘नाइँ नाइँ पर्दैन भोलि भोट हाल्न सात बजे नै  आइपुग्नु है ! भोट त हाम्रै पार्टीको चिह्नमा दिनुपर्छ नि।’ भनेर चार/चार हजारको दरले चार जनाको चार चौका भन्दै खन्खन्ती गनेर १६००० हजारको को बिटो ढोकामनिको काठछेउबाट एउटा केटोले पसाइदियो । ठुल्दिदीको परिवारले बल्ल कुरा बुझ्यो- ओहो ! चुनावी चौका पो रे’छ हामी चैं यसै डराका- हैट ! यो  चुनाव त हरेक वर्षमा आउनुपर्ने। हरेक साल नयाँ जुत्ता फेर्न पाइन्थ्यो, पार्टीको झन्डा बोकेर रक्सी धोक्न पाइन्थ्यो, अनि बार्गेनिङ गरीगरी भोट ठोक्न पाइन्थ्यो । आहा चुनावी चौका ! पैसाको खोलो थेग्ने मौका !! यसरी गरिबी मानसिकता भएका नेताहरूले गरिबहरूको संवेदना चिन्ने र भोट किन्ने असली खेल बनेको छ चुनाव !

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार



Author

थप समाचार
ad
x