साहित्य

उज्वल थापाले जीवनकालमै तयार पारेको पुस्तक प्रकाशन हुँदै

इकागज |
असोज १०, २०७९ सोमबार २०:३८ बजे

काठमाडौँ- युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ प्रकाशन हुने भएको छ । थापाले आफ्नै जीवनकालमा तयार पारेको किताब सम्पादनपछि प्रकाशन गर्न लागिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जानकारी गराएको हो ।

‘राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृंखलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गर्न लागिएको हो,’ यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले भने, ‘किताबलाई उनले नै अन्तिम स्वरूप दिएका थिए । तर, सम्पादन जारी रहँदै उनको कोभिड संक्रमण भएर निधन भयो । हामीले सम्पादन प्रक्रिया सकेर किताब प्रकाशन गर्न लागेका हौं ।’


नेपालको उज्वल भविष्यप्रति विश्वस्त थापाले त्यसलाई विभिन्न आयामबाट गरेको विश्लेषण किताबमा पढ्न पाइने अधिकारीले बताए । उनका अनुसार किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपनाबारे सरल भाषामा पढ्न पाइनेछ । किताबमा थापाको विचार र अनुभवका साथै उनकै जीवन कथासमेत समेटिएको छ ।
‘यो किताब उज्वलको सपनाको लेख्य रूपान्तरण हो । त्यसैले उनी आफैंले यो किताबको प्रस्तुतिकरण र भाषामाथि प्रशस्तै काम गरेका थिए’, उज्वल थापा फाउन्डेसनकी अध्यक्ष तथा थापापत्नी एरिका अधिकारीले भनिन्, ‘यो किताब उज्वललाई व्यक्तिगत रूपमा चिन्नमात्रै होइन, उनको विचार र उनले परिकल्पना गरेको नेपाललाई समेत गहिरोगरी चिन्न मद्दत पुग्नेछ ।’

पुस्तकमा थापाले गरेका स्केचहरूसमेत समेटिएको छ । जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यंग्यात्मक अभिव्यक्ति रहेको यात्रा पब्लिसिङ हाउसका प्रमुख कार्यकारी अधिकृत सुवास अर्यालले बताए ।

उनका अनुसार किताबमा थापाले आफ्नै जीवनको सफलता र असफलताका कथासमेत रोचक रूपमा प्रस्तुत गरेका छन् । जसमा उनले आफूले गरेका यात्राका कथा र त्यस आधारमा गरिएको नेपाली समाजको विश्लेषणसमेत समेटिएको छ । किताबमा नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशिलताको वर्तमान अवस्था र भविष्यको सम्भावना, नेपाललाई रूपान्तरण गर्नका लागि हरेक नागरिकले सुरु गर्नुपर्ने परिवर्तनको अभियान आदिबारे विभिन्न उपशीर्षकमा व्याख्या गरिएको छ । 


Author

थप समाचार
x