साहित्य

सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिक

इकागज |
असोज १४, २०७९ शुक्रबार १२:४३ बजे

काठमाडौं- हाम्रो सुरक्षा नीति के हो ?  यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ? देशको सुरक्षाा नीतिका बारेमा  जिज्ञासा राख्‍नेहरुलाई लक्षित गरी पब्लिकेशन्स नेपालयले  नेशनल सेक्युरिटी एण्ड दी स्टेट: अ फोकस अन नेपाल' (National Security and the State: A focus on Nepal)  प्रकाशित गरेको छ ।  अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारीद्वारा लिखित पुस्तकको बिहीबार  गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रुपमा पुस्तक अनावरण गरेका थिए ।
भण्डारी राष्ट्रिय सुरक्षा परिषद सचिबालयमा रहेर कामसमेत गरिसकेका अधिकारी हुन् । राष्ट्रिय सुरक्षा विषयमै विद्यावारिधि समेत गरेका भण्डारीले देश, विदेशका विश्वविद्यालय र सुरक्षा सम्वन्धी अध्ययन केन्द्रहरुमा विद्वत प्रवचन दिँदैआएका छन् ।

 


भण्डारीका अनुसार राष्ट्रिय सुरक्षा परिषदको सचिवालय देशको सुरक्षा रणनीति बनाउने सबैभन्दा महत्वपूर्ण निकाय हो । त्यसैले यसलाई अधिकारसहितको नेतृत्व दिइनुपर्ने विचार भण्डारीले सार्वजनिक वृत्तमा राख्दैआएका छन् ।

२०४६ सालको परिवर्तनसँगै मुलुकले राष्ट्रिय सुरक्षा परिषदको आवश्यकता महशुस गरेको हो । परिषदमा कार्यरत रहँदाकै बखत भण्डारीले सुरक्षा इतिहासमै पहिलोपटक नेपालको राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार पारेका थिए ।

नेपाली समाजले सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र पहिचान जस्ता विषयहरुलाई अत्यन्त संवेदनशीलताका साथ लिने गरेको छ । यो राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष जोडिएको विषय हो । अर्कोतर्फ राष्ट्रिय सुरक्षा नीतिलाई मुख्यगरेर राष्ट्रिय हित, राष्ट्रिय मूल्य र मान्यताको जगेर्ना, राष्ट्रिय अस्तित्वको संरक्षण, अनि सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको भलाइले मार्ग निर्देशित गर्दैआएको छ । त्यसैले पनि पछिल्लो समय राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिमा सर्वसाधारणको समेत चाँसो र अभिरुची बढ्दै गइरहेको छ।
 
‘छिमेकी एवं विश्व शक्तिराष्ट्रका दीर्घकालीन स्वार्थहरु जोडिएका भूराजनीतिक अवस्थाले हाम्रो सुरक्षा र सम्वृद्धिका क्षेत्रमा अवसर र चूनौति दुवै उभ्याएको छ,’ लेखक भन्छन्, ‘त्यसैगरि धेरै मुलुकमा जस्तै हामीकहाँ पनि लगातार परिवर्तनशील आन्तरिक परिस्थितिहरुले उभ्याउने आन्तरिक सुरक्षा चुनौतीका अझ बढी जटिलता विद्यमान छन् ।’

ऐतिहासिक पृष्ठभूमिका आधारमा पनि शक्तिशाली गोर्खा राज्यको विस्तार र यसले भूराजनीतिक रुपमा व्यहोर्दै आएको सुरक्षा खतराकै परिस्थितिका माझबाट हाम्रो मुलुकको उदय हुनपुगेको देखिन्छ । त्यसरी उदाएको मुलुकले लामो समय जहानियाँ शासन, त्यसपछिको निरंकुश र फेरि प्रजातान्त्रिक व्यवस्थाहुँदै कम्युनिष्टहरुको वर्चश्व सहितका पछिल्लो परिस्थितीले धमाधम ठूला राजनीतिक फड्काहरु मारेको अवस्था छ । यसले हामी भित्रका आन्तरिक उथलपुथलहरुलाई पनि सतहमा ल्याउँदै गरेको छ ।

त्यसैगरि पुस्तककै एउटा अध्यायले नेपाली सेना, यसको भूमिका, विशेषता र सांगठनिक एवं अन्य पक्षहरुलाई निष्ठापूर्वक समेट्ने जमर्को गरेको छ । यसले नेपाली सेनाको संस्थागत स्वरुपलाई समेत आम पाठकका माझ स्पष्ट पार्ने लेखकको ठम्याइ छ ।
अन्त्यमा साना सार्वभौम राष्ट्रहरुको राष्ट्रिय सुरक्षा परिस्थितीलाई केन्द्रित गरेर यो एउटै पुस्तकले राष्ट्रिय सुरक्षाको फराकिलो सैद्धान्तिक अवधारणालाई समेत बुझाउने प्रयत्न गरेको लेखक बताउँछन् ।

विमोचन कार्यक्रममा पुस्तकले उठाएका विषयवस्तु बारे अवकाशप्राप्त रथी बालानन्द शर्माले प्रकाश पारेका थिए । ‘यो पुस्तक तयार पार्न पर्याप्त शोधकार्य गरिएको देखिन्छ,’ शर्माले भने, ‘पुस्तकालयहरुका निम्ति समेत संग्रहणीय स्तरको यो पुस्तक सन्दर्भ सामग्रीका रुपमा उल्लेख हुने लायकको छ ।’

कार्यक्रममा पुस्तककै सेरोफेरोमा रहेर सञ्चारकर्मी भूषण दहालले लेखक भण्डारीसँग वार्तालापसमेत गरेका थिए । त्यस क्रममा लेखकले मुलुकका लागि पहिलो महत्वपूर्ण दस्तावेज संविधान भएजस्तै त्यसपछिको दोश्रो महत्वपूर्ण दस्तावेज राष्ट्रिय सुरक्षा नीति हुने बताए । तर, यस्तो महत्वपूर्ण दस्तावेजलाई कार्यान्वयन गर्न अझैसम्म पनि हामीकहाँ ढिलाइ भइरहेको उक्त दस्तावेजका मस्यौदाकार एवं लेखक भण्डारीले औंल्याए ।

विमोचन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले पनि यो पुस्तकको महत्वबारे चर्चा गरेका थिए ।

‘राष्ट्रिय सुरक्षाजस्तो अत्यधिक चर्चा हुने तर कमै पढिएको विषयवस्तुलाई यसपाला हामीले प्राथमिकताका साथ पाठकसमक्ष राखेका छौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘हाम्रो सुरक्षा र सुरक्षा नीतिका फराकिलो विषयवस्तुलाई सम्वन्धित विज्ञद्वारा सरल भाषामा बुझाउन खोजिएको यो संभवत पहिलो प्रयास हो ।’

चार सय २६ पृष्ठको पुस्तकलाई ९ सय ९५ रुपैयाँ मूल्य राखिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।


Author

थप समाचार
x