साहित्य

‘डेजा भू’ : बाघखोर प्रज्ञा—४

लिलाराज खतिवडा |
मंसिर ६, २०७७ शनिबार १८:४६ बजे

निष्पट्ट अँध्यारो थियो । 
कैयौँ घण्टा भावातीत ध्यान गरेर गुफाबाट बिस्तारै बाहिरिएँ, म । चारैतिर कालोनिलो थियो । तर अगाडि बढ्दै जाँदा अनायासै सबतर्फ चहकिलो हुँदै गयो । मस्त पाकेको पहाडे कागतीको बोक्रो जस्तो रंगप्रकाशले वरपरको वातावरण नुहाइरहेको थियो । यकिन नै हुन सकिरहेको थिएन कि मेरा आँखामा ‘रेडियम कोटेड कन्टेक्ट लेन्स’ जडिएको हो वा सम्पूर्ण वातावरणमा नै रातको त्यस नीरवतामा कुनै अज्ञातबाट ‘लाइमलाइट’ जस्तै देखिने ‘रेडियम’ नामक तत्व मिसिएको प्रकाशको घनघोर वर्षा भइरहेको हो ?
 
जंगलमा म अगाडि बढ्दै गएँ । मेरा गोडा स्वचालित भएर एउटा निश्‍चित दिशामा बत्तिरहेका थिए । मलाई शरीरमा अत्यधिक अप्ठ्यारो महसुस भइरहेको थियो । कताकता सारा शरीरमा आगोले पोलेजस्तो पीडा पनि व्याप्त थियो । पछाडि मेरुदण्डको तल्लो भागमा कुनै तीखो भालाले छेडेजस्तो दुःखद् संवेदनाले पनि उत्तिकै सताइरहेको थियो ।

यद्यपि मेरो गतिचाहिँ अपेक्षाकृत रूपमा बढि नै रहेको थियो । कुनै अज्ञात शक्तिशाली ऊर्जा मभित्र नजाने कहाँबाट हठात टप्किन पुगेको थियो । हिँड्दाहिँड्दै म कुद्न थालेको थिएँ । अनि कुद्दाकुद्दै म लगभग उड्न थालेँ । त्यतिबेला साँच्चै नै मेरो गति हेर्न लायक थियो ।


निकुञ्‍ज र गाउँबीचको ‘बफरजोन’मा पुगेपछि अचानक मेरा पाइला टक्क अडिए । मैले त्यस कागतीबोक्रे रंगप्रकाशको आवरणमा चनाखो भएर चारैतिर हेरेँ । कतै कुनै खतराको लक्षण थिएन । अनि मेरा पाइला आफसेआफ गाउँतिर मोडिए । सिमसार क्षेत्रको छिपछिपे दलदल छिचोल्दै म केही बेरमा नै गाउँमा घुसेँ । झिसमिसे बेला थियो । मान्छेहरू ओछ्यान छाड्ने तरखरमा थिए । कतिपय त उठिसकेका थिए । 

गाउँमा घुसेर एकछिन हिँडेपछि मलाई निकै सकस बढ्यो । शरीरमा खपिनसक्नु पीडा बढेको थियो । मेरुदण्डमुनि पुछारमा भाला जस्तो चुभन झन्झन् बढिरहेको थियो । 

अनायासै म एउटा खाली जस्तो लाग्‍ने घरमा घुसेँ । तर एउटा कोठामा केही मान्छे सुतिरहेका थिए । जे पर्ला सोही टर्ला भन्ठानेर अर्को कोठामा म छिरेँ । एउटा खाली खाट थियो । सुतेँ । अनि मस्त निदाएँ । नत्र मलाई भाउन्‍न भएर आएको थियो । बाटामा ढल्नुभन्दा मलाई त्यतिबेला यही उपाय सही लाग्यो । 

अचानक !
मान्छेहरूको कोलाहल र खैलाबैलाले म जाग्‍न पुगेँ । 
मान्छेहरू बडा आत्तिएर भन्दै थिए, ‘बाघ आयो, बाघ आयो ! बाघ घरमै घुस्यो !! ऊ त्यहाँ हेर त, खाटमा कस्तो आरामसँग एउटा बडेमानको बाघ सुतिरहेको छ !?’

कसलाई भनेको, यो ? के यो मलाई नै भनिएको हो ? मलाई लाग्दै थियो कि म त एक मान्छे हुँ । तर शारीरिक रूपमा भने मलाई निकै नै अनौठो महसुस भइरहेको थियो । अकस्मात् मेरो नाइटोमा एउटा सम्भावित खतराको तीव्र तरंगले वारपार छेडेर गयो ।  

अति चनाखो भएर सम्हालिँदै बिजुली गतिमा खाटबाट छलाङ लगाएर ढोकालाई पछाडि छाड्दै म फुत्त आँगनमा निस्किएँ ।

अचम्म !
म ‘भर्टिकल’ नभएर ‘होराइजन्टल’ हिँडिरहेको थिएँ । छलाङ लगाउँदा पछाडि मेरुदण्डको पुछारमा केही हल्लिएको पनि थाहा भयो । त्यसले मेरो शरीरलाई निकै मजाले सन्तुलित र हल्का राख्‍न मद्दत गरिरहेको थियो ।

बाहिर झलमल्ल घाम लागेको थियो । 
मान्छेहरू हातमा भाला, बन्चरो र लामालामा घोचाघाम्रा लिएर मतिरै दगुर्न थाले । म जंगलतर्फ हुँइकिएँ । आफूभित्र अथाह शक्तिपात भएको थाहा पाएपछि मैले लामालामा छलाङ लगाउँदै जंगलतर्फ आफ्नो गति अरु बढाएँ ।

मान्छेहरू ‘बाघ, बाघ !’ भन्दै पछिपछि उसैगरी दगुरिरहेका थिए । तर उनीहरूभन्दा मेरो गति अति तीव्र थियो । साँच्चै नै लाग्दै थियो कि म दगुरिरहेको छैन, लामालामा छलाङ लगाएर अगाडिअगाडि उडिरहेको छु । 

साथमा एउटा घनघोर आश्‍चर्यले मलाई घड्याप्पै निलेको थियो कि म रातारात एउटा बाघमा रूपान्तरित हुन पुगेको थिएँ । कताकता पहिल्यै धेरै पटक मलाई आभास पनि भएकै थियो कि यस्तो सम्भव हुन्छ । मान्छे बाघ बन्‍न सक्छ र बाघ पनि मान्छेमा रूपान्तरण हुन सक्छ । मलाई यस्तो पनि लाग्यो कि म पहिले बाघ नै थिएँ । सायद, मभित्र बाघको ‘इन्स्टिङ्ट’ दबिएर बसेकामा अहिले हठात त्यो सतहमा आएको मात्रै हो । 

तर यो एक अतिशय आश्‍चर्य नै थियो कि म चारपाउ टेकेर एउटा स्वस्थ बाघ दगुरे जसरी नै दगुर्दो थिएँ । र, मेरो पछाडि एउटा पुच्छर हल्लिरहेको थियो । जसले मेरो वजनदार शरीरलाई निकै सन्तुलित र हल्का राखिरहेको थियो ।

जोडजोडले गर्जन निकालेर वातावरणलाई थप भयानक तुल्याइरहेको थिएँ, म । वरपरका मान्छे र जनावर सम्भावित खतराको अन्दाज गरेर गायब थिए । परपर कुकुर मैतिर हेर्दै भुकिरहेका थिए । 

बाघ भएर दगुरे तापनि यथार्थमा आफू एउटा मान्छे भएको हेक्कासमेत मलाई भित्रभित्रै भइरहेको थियो । निश्‍चय नै भित्र मलाई निकै सकस पनि परिरहेको थियो । केही घण्टा अघिसम्म ‘भर्टिकल’ हिँडिरहेको मान्छे अचानक ‘होराइजन्टल’ कुद्‍ने ‘प्रिडेटर’मा कायाकल्प हुन पुगेको थियो । तर अझै केही कुरा भने यकिन हुन बाँकी भएझैँ लाग्थ्यो ।

भाग्दाभाग्दै बाटाको दायाँतर्फ एउटा सैलुन देखेर एक फेरा म त्यता लम्किएँ । मान्छेहरू निकै पछाडि नै छाडिएका थिए । छेउछाउका अरु सब कता गायब भए, यकिन भएन । केवल केही कुकुर परपर अहिर्निस भ्याउभ्याउ गरिरहेका थिए ।

सैलुन खुल्लै थियो । तर त्यहाँ कुनै मान्छे थिएनन् । समय नगुमाई म भित्र छिरेँ र कुर्सीमा फुत्त उफ्रेर आफूलाई बडेमानको ऐनामा हेरेँ ।

आफ्नो अजंगको रूप देखेर म आफैँ लगभग डराउन पुगेँ । साँच्चै नै म एउटा डरलाग्दो बाघमा रूपान्तरित भइसकेको थिएँ । मेरो सास निकै बढेको थियो । मुखबाट र्याल बगिरहेको थियो । मैले आफ्नो जिब्रो अलिक लामो भएको महसुस पनि गरेँ । मेरा अगाडिका माथितलका चारवटा दाँत निकै तीखा र अलिक लामा भएका थिए । मेरा दाँत अब दाह्रा हुन पुगेका थिए । मलाई अत्यधिक गर्मी अनुभूत भइरहेको थियो । मुखमा दनदनी आगोको ज्वाला दन्किरहेको जस्तो पनि लागिरहेको थियो । 

‘बाघ, बाघ !’ भन्दै केही मान्छे मतिरै आइरहेको चाल पाएर मैले बिजुलीको गतिमा बाटामा छलाङ लगाइहालेँ । सामुन्‍ने एउटा मान्छे भाला लिएर टप्कियो । अनि उसले समय नगुमाई प्रहार पनि गरिहाल्यो । प्रहार छलेर उसलाई आफ्ना नंग्राहरूले भरिसक्य गहिरो चोट पुर्याउँदै फुत्तै नाघेँ । ऊ चिच्याएर भुइँमा ढल्यो । म तीव्र गतिमा जंगलतिर कुदिहालेँ ।

सिमसार नाघेर ‘बफरजोन’ पनि छिचोलेपछि एकफेर पछाडि फर्केर हेरेँ । टाढा टाढासम्म कसैको अत्तोपत्तो थिएन । बस्ती निकै पर छोडिइसकेको थियो । मलाई अगाडिको देब्रे पञ्‍जामा निकै दर्द महसुस भएकाले नियाल्दा त्यहाँबाट रगत बगिरहेको थियो । अघि त्यो मान्छेले हानेको भालाले अलिकति छेड्न भ्याएको रहेछ । चाटेर हेरेँ । घाउ त्यति गहिरो थिएन ।

घाउको दुखाइभन्दा पनि अर्कै कुराले मलाई ज्यादा सताइरहेको थियो । कसरी हुन पुगेँ, म एउटा बाघ ?

म त बाघखोर गाउँको एउटा रहस्यदर्शी लेखक हुँ ।

के यो सपना हो ?
अनि यो सपना पो हो कि भनेर संशय हुँदै गर्दा म झल्याँस्स ब्यूँझिन पुगेँ । 

हैट ! 
यो त साँच्चै नै सपना रहेछ । 

कस्तो अचम्म ?
खल्खली पसिना आएर पूरै जीउ निथ्रुक्क भएको थियो । तिर्खा लागेर मुख सुकेको थियो । शरीरको तापक्रम पनि अलिक बढे जस्तो लाग्यो । थप महत्वपूर्ण कुरा, मभित्र जोडजोडसँग एउटा भयंकर भाले बाघ झन्झनाइरहेको थियो ।

मध्यरातमा ‘बाघखोर प्रज्ञा—४’ लेख्‍ने सुरमा थिएँ । झकाएँछु । अनि यो रहस्यमय सपना आयो । कस्तो भयानक ! आखिर म जे सोचिरहेको थिएँ, सपनामा आइदियो पनि त्यही ! सपनामा एउटा अनकन्टार गुफामा गहिरो भावातीत ध्यान गरेपछि मेरो स्थूल शरीरको सारा रसायन र सूक्ष्म शरीरको सम्पूर्ण आकाश क्रमशः एउटा बाघ भएर उम्लिन पुगेको थियो ।  

तर यो कुनै नियमित आकस्मिकता थिएन । प्राविधिक रूपमा भन्‍नुपर्दा, बरु यो सुनियोजित थियो । सुत्‍ने बेलामा ‘कमान्ड’ गरेर आफूले इच्छाएको ‘कन्टेन्ट’मा सपनालाई उत्पन्‍न हुन बाध्य तुल्याउन पनि सकिन्छ । प्रयास गर्दा मानवलाई के नै असम्भव ? 

आत्मसुझाव अर्थात् ‘अटोसजेसन’ पनि भनिने यो विद्या सिकेपछि धेरै अर्थमा जिन्दगीका अप्ठ्यारा समीकरण हल गर्न मद्दत पुग्ने गर्छ । धेरैले यो विद्या अज्माएर जिन्दगीलाई आफूले चाहेको दिशामा हुइँक्याएका पनि छन् । राति सुत्‍ने बेलामा आत्मसुझाव दिएर सपनामा आफूले चाहेको कुनै पनि सुदूरको पुस्तकालयमा गएर आफूले चाहेकै पुस्तक पढ्ने काममा मलाई कैयौँ पटक सफलता मिलेको थियो । निद्रा टुटेपछि त्यसरी आफूले पढ्न भ्याएको पुस्तकको स्मृति म डायरीमा सकेसम्म टिप्‍ने प्रयास पनि गर्थेँ ।  

केही बेर ओछ्यानमै बसेर त्यो भाले बाघलाई मनै मनमा झन्झनाउन दिइरहेँ । आफू एउटा बलवान बाघमा परिणत भएको ताजा सपना याद गरेर घोत्लिरहेँ । सपना याद गर्नु भनेको पुस्तकलाई अन्तिमबाट सुरुतर्फ पढ्नु जस्तै दुरुह काम हो । संगातिमा याद नभए पनि टुक्राटुक्रा स्वप्‍निल अनुच्छेदहरूलाई मनमनै जोडजाड पारेर म, मानौँ, एउटा ‘जिग्शअ पजल’ समाधान गर्ने प्रयास गरिरहेको थिएँ ।

त्यसो त ‘बाघखोर प्रज्ञा’ लेख्‍न थालेपछि मैले एउटा निश्‍चित भाले बाघको आत्माको खली बोलाउने प्रयास पनि गरिरहेकै थिएँ । देख्नु भयो ? भट्किएका आत्माहरू मानवभित्र घुसेर आफ्ना अधूरा कामहरू निब्ट्याउन कति आतूर हुँदा रहेछन् ? खली बोलाउने मन्त्र भाँती पु्र्‍याएर पढ्न पाएकै थिएन, त्यो भाले बाघको आत्मा त जेहनमा अवतरित भई नै हाल्यो ।

भोरको दुई बज्दै थियो । उठेर एक जग पानी रित्याएँ । पानीको जग बापस टेबुलमा राख्दै गर्दा देब्रे हत्केलामा रगत चुहिएको देखेँ । हल्का दर्द पनि महसुस भएर आयो । बाथरुममा गएर रगत पखालेँ । घाउ त्यति गहिरो थिएन । 
आफैँलाई प्रश्‍न गरेँ, घाउ कसरी ?

मेरो खाटछेउको टेबुलमा राखिएको सिसाको प्याला भुइँमा झरेर चकनाचुर भएको रहेछ । अनि एकपटक मैले हातको आलो घाउतर्फ हेरेँ । फिस्स मुस्कुराएँ । अनि सपनामा मलाई भाला हान्दै गरेको त्यो मान्छेलाई चिथोर्दै फुत्तै नाघेको पनि सम्झिएँ । अनि त झन् हाँसो लागेर आयो ।

फ्रेस भएर आएपछि ल्यापटपको बटन अन गरेँ । ल्यापटप खुल्दाखुल्दै मैले सिगार जलाएँ । आजकाल यता तस्करहरूकै हालीमुहाली बढेका कारण सिगार जोहो गर्न निकै सकस परिरहेको भए तापनि एक किसिमले ‘अजिंगरको आहारा दैवले जुराउँछ’ भने जस्तै भइरहेको थियो । र, कहिलेकाहीँ त बतासले उडाएर पनि ल्याइदिन्थ्यो, कामचलाउ सिगार । अनि मेरो ‘शैतानको कारखाना’मा उठ्न थाल्थ्यो, धुवाँ ! पुत्पुत धुवाँ !!

त्यसरी मारिनेमा माथिको कथाको प्रधानसेनापति गैँडा, प्रधान न्यायाधीश चितुवा र केही प्रमुख भाइभारदार पनि परे । हात्तीहरूको झुण्ड भने टार्जन केटो र उसकी दुलहीलाई लिएर नदीमा नुहाउन गएकाले सिकारीहरूबाट हताहत हुन पाएनन् ।

भन्‍न परेन, आगो बलेपछि धुवाँ त उठ्ने नै भयो । अनि शैतानको कारखाना भनेर मैले आफ्नै टाउकोलाई ‘मेटाफोर’ गरेको हुँ । भनाइ सुन्‍नुभएकै होला- खाली दिमाग, शैतानको कारखाना ! अर्थात् ‘एन एम्टी माइन्ड इज डेभिल्स वर्कसप !’

हजुर, मेरो टाउको एकदम खाली छ । त्यहाँ जुनसुकै बेला जस्तोसुकै तरंग पनि घुस्‍न सक्छ । अनि त्यसले बदलिदिन्छ, मेरो सम्पूर्ण रसायन । 

‘बाघखोर प्रज्ञा’ पहिलो शृंखलामा ‘बाघ किन घाँस खान बाध्य भयो ?’ भनेर मैले एउटा प्रेरक कथा पस्किएको थिएँ । दोस्रो शृंखलामा सोही कथाको बाँकी भागलाई निकै नाटकीय ढंगले प्रस्तुत गर्ने प्रयास पनि मैले गरेको थिएँ ।

तेस्रो शृंखलाको कथा बिल्कुलै अलग । आफूले कतै सुनेका किस्साहरूलाई ‘रिलोड’ गरेर साधारण भाषामा लेख्नुको ‘थ्रिल’ नै बेग्लै । तेस्रो कथालाई मैले निकै रोमाञ्‍चक र नाटकीय बनाएर पेसेको थिएँ । आख्यान लेख्नुको स्वतन्त्रता नै यही हो कि त्यहाँ कल्पनाको उडानमा कुनै पनि सम्झौता गरिँदैन । कल्पनाको गहिरो उडान तय भएपछि अब त्यो फगत आख्यान रहँदैन । अब त्यो कहलिन्छ, स्वैरकल्पना ।

आफू बाघमा रूपान्तर भएको त्यो अनौठो सपनाले अझै मनमा निकै मजेदार झन्झनाहट पैदा गरिरहेकै थियो । ‘बाघखोर प्रज्ञा’का अघिल्ला शृंखला लेख्दै गर्दा मलाई साँच्चै नै एउटा गहिरो अन्दाज थियो कि कुनै रात मान्छे नै सुतेको म अर्को दिन बिहान उठ्दा एउटा बाघमा परिणत हुन बेर छैन । अघिल्लो हप्ता बलिउडका ‘भट्ट क्याम्प’को ‘जुनून’ भन्‍ने सिनेमा एकपटक फेरि हेर्न समेत मैले भ्याएको थिएँ । त्यो सिनेमा हेरिरहँदा मलाई गाढा ‘डेजा भू’ पनि भएको थियो । यस्तो लागिरहेको थियो कि म कुनै दिन एउटा आदमखोर बाघ थिएँ । नभन्दै आफू बाघमा परिणत भएको सपना आएर एक पटक फेरि अवचेतन मनको शक्ति सतहमा ओर्लिएकामा निकै प्रसन्‍न पनि भएको थिएँ, म । लेख्‍ने मान्छे भएकाले अनेकानेक अनौठा र रहस्यमय अनुभवहरूको खोजीमा आफ्नै रसातलमा भट्किन मन पर्छ ।

लौ, अब फटाफट अघिल्लो कथा निब्ट्याउँछु —
हरिण र बाह्रसिंगालाई भव्य अभिनन्दन गरेको भोलिपल्टको सभामा प्रधानसेनापति गैँडा महोदयले मञ्‍चमा प्रधान न्यायधीशलाई बोलायो र केही घोषणा गर्न लगाउँदै एउटा कागज थमायो ।

प्रधान न्यायधीश थियो, एउटा बूढो चितुवा । उसले एउटा पावरवाला चश्मा पनि लगाएको थियो ।

उपस्थित भाइभारदारहरूलाई कागज पढ्दै उसले अपेक्षाकृत ठूलो आवाजमा भन्यो, ‘अर्को राजाको चयन नहुँदासम्म यस जंगलको सम्पूर्ण राजकाज प्रधानसेनापतिज्यूले नै चलाउनु हुनेछ । आदेश बमोजिम कार्य नभए प्रचलित कानुनअनुसार दण्ड दिइनेछ । बिहान प्रधानसेनापतिज्यूको ब्रेकफास्टका लागि पुरानै नियमअनुसार एउटा जनावरले हाजिर हुनैपर्ने छ । हिजो राति प्रधानसेनापतिज्यूसँग शक्ति कसले हातमा लिने भन्ने विषयमा विवाद र झडप हुँदा प्रधानमन्त्रीज्यूको असामयिक निधन भएको दुखद् खबर सुनाउनुपर्दा म अत्यन्त मर्माहत भएको छु । त्यसैले अब प्रधानमन्त्रीको काम पनि प्रधानसेनापतिले नै सम्हाल्नु हुने जानकारी म यहाँ दिन चाहन्छु । अब सबैले उठेर एक मिनेट मौन धारण गरेर मृतक प्रधानमन्त्रीलाई श्रध्दाञ्‍जली दिऊँ । उहाँको बैकुण्ठ बास होस् !’  

मौन धारण सकिएपछि प्रधानसेनापतिले जुँगामा ताउ लगाउँदै सभालाई भन्यो, ‘बरु अर्को राजा कसरी छान्‍ने हो, यसपालि ? बलको प्रयोगभन्दा पनि यसपालि निर्वाचन प्रणाली पो आजमाएर हेर्ने हो कि ? घण्टा जस्तो, ल्याइदिऊँ न जंगलमा पनि एकबाजी त्यो मान्छेहरूको जस्तो प्रजातन्त्र ! हाहाहा... कि कसो केटा हो ?’

प्रधानसेनापतिको प्रसन्‍न हाँसो र हाँसोजन्य कुरा सुनेर सबै गलल्ल हाँसे । 

तर जुक्ति लगाएर राजाबाघ सिध्याउने हरिण भने मुर्मुरियो, ‘बिहानको ब्रेकफास्टवाला नियमचाहिँ यथावत । अनि कुरा प्रजातन्त्र ल्याउने ? कमाल छ !’

सुनेर बाह्रसिंगा मुसुमुसु हाँस्यो र साथीको कानमा फुस्फुसायो, ‘प्रधानसेनापति त शाकाहारी छन् । किन चाहियो उनलाई बिहानबिहान ब्रेकफास्टमा एउटा जनावर ?’

हरिणले पनि साथीको कानैनिर मुख लगेर साउती गरे जसरी भन्यो, ‘तिमीले कुरा बुझेका छैनौ, अझै ? आफूले नखाए पनि प्रधानसेनापतिले त्यो प्रधान न्यायधीशका लागि मगाएका हुन् । शक्ति लटिपटी पार्ने खेलबाहेक केही पनि होइन, यो । हिजै यिनीहरूले सब साँठगाँठ गरिसके । यिनीहरू मिलेर नै प्रधानमन्त्रीको सफाया गरेको हुनुपर्छ । राजाबाघ त मारियो । तर अब अर्को षड्यन्त्रको दुर्गन्ध आउन थाल्यो है, साथी !’

साथीको कुरा ध्यानपूर्वक सुनेर गम खाँदै बाह्रसिंगाले सहमतिमा टाउको हल्लायो ।

अर्को दिन सबैले सोही समयमा उपस्थित हुनुपर्ने उर्दी जारी गरेर त्यस दिनको भेटघाट समापन गरियो ।  

भोलिपल्ट बिहान जंगलका सारा बासिन्दाहरू सभामा भेला भए । हात्तीहरूको झुण्डमा त्यो टार्जन केटो आफ्नी सुन्दरी दुलहीलाई समेत लिएर उपस्थित थियो । जंगलका सारा जनावर त्यो मानव जोडीलाई लम्कीलम्की हेरिरहेका थिए । 

टार्जन केटो र उसकी दुलहीले छालाको कछाड बेरेका थिए । कम्मरमाथि दुवै नांगै । केटीका स्तन उम्रिने तरखरमा थिए । उसले सेतोनिलो फूलको स्यानो मालाले आफ्नो कपाल चट्ट बाँधेकी थिई । सिकुटी त्यो केटी त्यसरी जंगलमा अति राम्री देखिएकी थिई । केटाका भने पाखुरा र छाती निकै बलिष्ठ थिए । ऊ निकै खाइलाग्दो, मजबूत र स्वस्थ नजर आइरहेको थियो ।

प्रधानसेनापतिको आगमन भएपछि सभा सुरु भयो ।
‘अब कसरी छान्ने त राजा ?’ प्रधानसेनापतिले सभामा प्रश्‍न गर्दै भन्यो, ‘लौ, सबै भाइभारदारहरूले आआफ्नो विचार व्यक्त गर्नुपर्यो । गाँठे, जंगलमा प्रजातन्त्रको थालनी त मेरै हातबाट गर्न लेख्या रहेछ । नत्र यसअघि यसरी आफ्नो विचार राख्‍न मौका पाइया थियो त ?’

लगभग सबैले एकै स्वरमा भने, ‘थिएन, महाराज !’

त्यसपछि सबैले आआफ्नो विचार राख्‍न थाले । तर प्रायः सबैले प्रधानसेनापतिले जे निर्णय लिने हो, त्यसैमा सहमति जनाउने राय ब्यक्त गरे । तर हरिण र बाह्रसिंगाले केही फरक धारणा राखे ।

हरिणले भन्यो, ‘बरु सर्वसम्मतिबाट यो टार्जन दाजुलाई राजा बनाइदिऊँ । यो मनुष्य हो र परिभाषामा भनिएअनुसार यो बुध्दिमान पनि छ ।’ 

बाह्रसिंगाले थप्यो, ‘हो, मनुष्य भएकाले जंगलमा प्रजातन्त्रको कुशल अभ्यास यो टार्जन दाजुले गर्न सक्छ ।’  

हरिण र बाह्रसिंगाको कुरा सुनेर प्रधानसेनापतिले प्रधान न्यायधीशसँग केही खासखुस गर्यो । अनि घिच्रो सफा गर्दै भन्यो, ‘यस कुराको तार्किक जवाफ दिनका लागि म प्रधान न्यायधीशज्यूलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रधान न्यायधीशले उठेर भन्यो, ‘कुरो मुनासिब हो, तपाईंहरूको । तर यो मानव बस्ती नभएर जंगल हो । यहाँ मानव भनेको यही टार्जन र उसकी दुलही मात्रै हुन् । यहाँ अरु सबै पशुपन्छीहरू छन् । त्यसैले यो टार्जन भाइलाई राज्य सञ्‍चालन गर्न कठिनाइ हुन जाने कुरालाई मध्यनजर राख्दै तपाईंहरूको प्रस्ताव हाललाई अस्विकार गरिएको छ । बरु टार्जन भाइलाई हामी मानव राज्यसँग मैत्री सम्बन्ध गाँसेर राजदूत नियुक्त गर्न सक्छौँ ।’

त्यसपछि प्रधानसेनापतिले अलिक ठूलो आवाजमा हात्तीहरूको बथानतर्फ हेर्दै भन्यो, ‘के छ त टार्जन भाइको विचार ? बन्‍ने हो राजदूत ?’

टार्जन केटाले उतैबाट अलिक तीखो आवाजमा प्रश्‍न गर्यो, ‘राजदूत भनेको के हो ?’

सुनेर जवाफमा प्रधानसेनापतिले आश्‍वस्त तुल्याउँदै भन्यो, ‘चिन्ता गर्नु पर्दैन टार्जन भाइ । हामी तालिमको व्यवस्था गर्नेछौँ ।’  

अन्ततः सभाले निर्वाचन प्रणालीबाट नै जंगलको राजा छान्‍ने घोषणा गर्यो । अनि प्रधानसेनापतिले प्रधान न्यायाधीशकै संयोजकत्वमा एउटा निर्वाचन आयोग गठन गरेर तदनुरूप कार्य गर्ने गराउने आदेश पनि दियो ।

ठीक त्यसैबेला जंगलमा ठूलो संख्यामा आपराधिक सिकारी र तस्करहरू घुसे । उनीहरू बाघ, चितुवा र हात्तीको छाला तथा दाँत, गैँडाको खाग लगायत कस्तुरीको बिना पनि तस्करी गर्थे । फटाफट उनीहरूले कैयौँ जनावरहरूलाई घेरा हालेर मारे । त्यसरी मारिनेमा माथिको कथाको प्रधानसेनापति गैँडा, प्रधान न्यायाधीश चितुवा र केही प्रमुख भाइभारदार पनि परे । हात्तीहरूको झुण्ड भने टार्जन केटो र उसकी दुलहीलाई लिएर नदीमा नुहाउन गएकाले सिकारीहरूबाट हताहत हुन पाएनन् ।

समय नगुमाइ मान्छेहरूले ती जनावरहरूका छाला पनि काढे । अनि खाग, दाँत र नंग्राहरू समेत निकालेर आफ्नो झोलामा कोच्दै जंगलबाट अलप भए ।

केही दशक यता, प्रजातन्त्रको आगमनपश्‍चात् मानव बस्तीमा भने अपराध र अराजकता अत्यधिक बढेको थियो । प्रजातान्त्रिक पध्दतिले प्रदत्त गरेका अधिकारलाई मान्छेहरूले अनेक धन्दामा गँठ्याएका थिए । मानव बस्तीमा प्रजातन्त्र कुडादानीमा मिल्किएको थियो र कुनै अज्ञात अधिनायकलाई रातो कार्पेट ओछ्याइँदै थियो । अनि उता जंगलमा भने एउटा प्रजातन्त्र संघारमा आइपुगेर पनि शेष हुन पुगेको थियो ।


Author

थप समाचार
x