साहित्य

सम्झनामा बालकृष्ण सम

इकागज |
माघ २४, २०८० बुधबार २१:५५ बजे

काठमाडौँ- नेपाली नाट्यसम्राट बालकृष्ण सम (विसं १९५९-२०३८) को १२२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जन्मजयन्तीमा उनको व्यक्तित्व र कृतिबारे चर्चा गरिएको थियो । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँको नक्सालमा आज आयोजित कार्यक्रमका सहभागीले नाट्यसम्राट समको बहुआयामिक व्यक्तित्वका बारेमा आफ्ना धारणा राखेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले उनको नाटक गर्दा छुट्टै आनन्द आउने गरेको बताइन् । उनले भनिन्, 'समको चिसोचुल्हो नाटक गर्न एकदमै रहर लागेको छ, तर गर्न सकिएको छैन ।'


स्व समले विभिन्न आयाममा लेखेका मुख्य नाटकलाई विषय बनाएर चित्र सिर्जना गर्ने तयारी गरिएको कुलपति शर्माले जानकारी दिए । उनले प्रह्लाद, भीनसेनको अन्त्य, प्रेमपिण्ड, अन्धवेग, स्वास्नी मान्छे र चिसो चुल्होलाई विषय बनाएर चित्रकला प्रतियोगिता आयोजना गरिने बताए । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सम नाट्यसम्राट भए पनि उनले बनाएका चित्र उत्कृष्ट भएका स्मरण गरे । उनले शेक्सपियर शैलीलाई नेपालमा भित्र्याएर नाटकमा नयाँ आयाम थपेको स्मरण गर्दै कुलपति हार्तम्छालीले फोटो अनुसार जस्ताको तस्तै चित्र सिर्जना गर्न सक्ने क्षमता सममा थियो भने । 

समका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा अशोक थापाले सम भर्सटायल व्यक्तित्व भएको बताए । उनी नाटककार, निर्देशकदेखि कलाकार, लेखक, कवि, चित्रकार, जीवनी र कविता लेख्नसक्ने मात्रै नभएर सैनिक पेसादेखि कुशल प्राध्यापकसमेत भएको उनले स्मरण गरे । नेपालमा दुखान्त नाटक नभइरहेको सन्दर्भमा समले शेक्सपियर शैलीलाई भित्र्याएर  नेपालमा नयाँ अभ्यासको थालनी गरेको डा थापाले बताए । 

कार्यक्रममा प्राध्यापक विष्णु ज्ञवालीले  कार्यपत्रमाथि टिप्पणी गरेका थिए । सो कार्यक्रममा कला समीक्षक रमेशनाथ खनालको लेखन तथा निर्देशन रहेको समको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले तीनवटै प्रज्ञा प्रतिष्ठानले परम्परागत शैलीलाई चिरेर दर्शनशास्त्र, समाजशास्त्र र संस्कृतिलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।

स्व समका भीमसेनको अन्त्य, अमरसिंह थापा, भक्त भानुभक्त, मोतीराम, रणदुल्लभ, ध्रुव, प्रह्लाद, तानसेनको झरी, मुटुको व्यथा, अमलेख, प्राणदान, स्वास्नीमान्छे, प्रेमपिण्ड, अन्धवेग, बोक्सी, मुकुन्द इन्दिरालगायत ऐतिहासिक नाटक रहेका छन् ।


Author

थप समाचार
x