साहित्य

तिमीलाई ह्याप्पी भ्यालेन्टाइन डे ?

कृतान्त नेपाल |
फागुन २, २०८० बुधबार १२:१४ बजे

गुलाबको हत्या गरेर 
म तिमीलाई गुलाब दिन सक्दिन
गुलाबलाई पनि म बेहद माया गर्छु
तिमीलाई जस्तै,
त्यो मायालाई निमोठेर कसरी भनु 
प्रिय,
तिमीलाई ह्याप्पी भ्यालेन्टाइन डे ?

आज चोक-चोकमा
मायाको बजार लागेको छ
प्रेमी प्रेमिकाहरू,
एक अर्काको आलिङ्गनमा हराएका छन् 
मानौँ त्यहाँ अर्को कोही मानिस छैन
अनि अर्को संसार


मेरो माया !
तिमी अरू जस्तो हुँदै होइनौँ
त्यस्तो छँदै छैनौँ 
हृदयमा राज गरेका तिमी
मेरो हृदयको राजकुमार हौ
मुटुमा सजाएको तिमीलाई,
चोक, गल्ली र पार्कहरूमा पुर्‍याएर 
तिमी अनि तिम्रो मायाको अपमान
म गर्न सक्दिनँ

तिमी र म त हरेक पल
एक नभएर पनि एकै छौँ
पल-पलमा तिमी ममा 
अनि म तिमीमा धड्कनेछौँ
किन चाहियो मायाका उपहार 
किन चाहियो गुलाब र बुके
मेरो हृदयबाट अविरल तिमीलाई
पारिजात जस्तै,
सुगन्धित माया अर्पेको छु ।


तिमी मेरो जीवनको
अनुपम उपहार हुनु
सधैंभरि सम्बन्धको सुगन्ध, 
परपरसम्म फैलाइरहनु
हे प्रिय,
हामीलाई किन चाहियो भ्यालेन्टाइन डे ?
किन चाहियो चुँडिएको गुलाब ?
माया गर्ने कुनै दिन हुँदैन 
कुनै बार हुँदैन 
यो त अविरल, अविछिन्न, अविराम छ ।


Author

थप समाचार
x