साहित्य

साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन

इकागज |
फागुन २८, २०८० सोमबार २१:२८ बजे

काठमाडौँ- साहित्यकार राम लामा ‘अविनाशी’ द्वारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ ।

सुरभि साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अविनाशीको उक्त कृतिको प्राडा खगेन्द्रप्रसाद लुईँटेलले विमोचन गरे । लामा लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील छन् ।


कार्यक्रममा बोल्दै प्राडा लुईँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेलेको भूमिका सराहनीय रहेको बताए । 'आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो,' उनले भने । उक्त कृतिमा आप्रवासको झल्को पाइएको उनको भनाइ थियो । प्राडा लुईँटेलले कृति सरल र  पठनीय रहेको उल्लेख गरे ।

पुस्तकको समीक्षा गर्दै नेपाल सरकारका पूर्वसचिव एवम् समालोचक गोपी मैनालीले प्रवासमा रहेर नेपाली साहित्य, सङ्गीत र समाज सेवामा समर्पित व्यक्ति साहित्यकार लामा भएको बताए । साहित्य मनका वेदना पोख्न लेखिने गरेको उनको भनाइ छ । 'पुस्तकमा विभिन्न क्षेत्रको वर्णन गरिएको छ, पुस्तक घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको छ, उक्त कृति म पात्रमा आधारित भएर लेखिएको छ,' उनले भने ।

व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने र सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्तिले उनलाई छुट्टै पहिचानमा उल्लेख गरेको समालोचक मैनालीले बताए । उनले पुस्तकको भाषाशैली सरल रहेको बताए ।

वरिष्ठ समालोचक एवम् पूर्व प्रशासक युवराज मैनालीले स्मृतिका विम्बहरू विमोचनसँगै नेपाली साहित्यमा नयाँ इट्टा थपिएको बताए । लेखकको मन नेपालमा र भौतिक शरीर अमेरिकामा भएको उनको भनाइ थियो । समालोचक मैनालीले किताब सरल र सहज भएको बताए । उनले कृति पठनीय भएको उल्लेख गरे ।

वरिष्ठ समालोचक लीला लुईँटेलले संस्मरण लेख्ने काम सारै गाह्रो भएको भन्दै नयाँ कृतिका लागि लेखकलाई धन्यवाद दिइन् । पछिल्लो समय संस्करण लेख्ने चलन फस्टाउँदै गएको उनको भनाए थियो ।  

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसे, वरिष्ठ पत्रकार प्रदीप चापागाईँ, दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल चलचित्र क्षेत्रका निर्देशक आकाश अधिकारी, वरिष्ठ पत्रकार तारा बराल, लेखक केनी पाण्डेलगायतले प्रवासमा बसेर नेपाली साहित्य क्षेत्रको विकासमा साहित्यकार अविनाशीले पुर्याएको योगदान सबैका लागि उदाहरणीय रहेको बताएका थिए ।

यसअघि ‘पिल्सीएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसकेका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो । उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण संग्रहित छन् ।

साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ शहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, बिरक्तिँदा खानी खोश्री, आफू गयौ नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली,  क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरू श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।  

साहित्यकार लामाले डा. एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड २०२२, रारा राष्ट्रिय म्युजिक अवार्ड २०२२, हिमालयन इन्टरनेशनल जुरी अवार्ड २०२३ लगायतका उत्कृष्ट अवार्ड तथा सम्मानपत्र र पुरस्कार प्राप्त गरिसकेका छन् ।

उनले अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा कविडाँडा अविनाशी उत्कृष्ट पुरस्कारको प्रायोजन समेत गरेका छन् । लामा माउण्टेन खबर डटकमका सल्लाहकार समेत हुन् ।


Author

थप समाचार
x