साहित्य

हाइकुहरूको संग्रह ‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक

इकागज |
चैत १७, २०८० शनिबार १७:४० बजे

काठमाडौँ- लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु संग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ शनिबार साहित्यिक जमघटका बीच विमोचन गरिएको छ ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरूमाझ यसलाई पस्केको घोषणा गरेका थिए । समारोहको सुरुवातमा विप्लवले उपस्थितहरूको स्वागतमा रचना गरेको हाइकु सुनाएका थिए ।


पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्महरू समेट्दै अघि बढेको छ भने यसले दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको ‘शाडेनफ्रोएडा’ लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।

कविता संग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरू छाड्दै आएका विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु संग्रह पहिलोपटक पाठकहरू माझ प्रस्तुत गरेका हुन् ।

‘सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ,’ समारोहमा विप्लवले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाइ यहाँ सम्मको यात्रा गराएको हो ।’

तीन हरफमा जम्मा १७ अक्षरभित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने लेखकले बताए ।

यस पुस्तकका अक्षरहरू कम्प्युटरका लिपि नभइ स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित भएकाले पाठकले त्यसको रसास्वादन पनि गर्न पाउने छन् । 

‘हाइकुको किताबले बजारलाई खासै आकर्षित नगर्ला भनेर मैले निजी संग्रहमै सीमित राखेको थिएँ,’ विप्लवले थपे, ‘तर, बजारलाई हेरेर नभइ कृतिको आधारमा प्रकाशन गर्ने तर्कका साथ पब्लिकेसन्स नेपालयका सम्पादक तथा प्रकाशकहरूले तत्परता देखाएकोमा म आभार प्रकट गर्दछु ।’

पुस्तकभित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवन ध्वनि गरी आठ खण्डमा हाइकुहरू समेटिएका छन्, जसले भावहरूको आरोह अवरोहयुक्त यात्रा गराउँछ ।

‘हामी लेखनका अन्य विधाहरूसँगै काव्य विधालाई पनि फैलाउन प्रयत्नशील छौं,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘पहिलोपटक हाइकुहरूको संग्रह प्रकाशन गर्न पाउँदा खुसी लागेको छ ।’

काव्य कलालाई पुस्तक प्रकाशनका माध्यमबाट मात्रै नभइ अभियानकै रूपमा अघि सार्न यस पब्लिकेशनले केही महिनादेखि कवि श्रवण मुकारुङको संयोजकत्वमा ‘इ कविता अभियान’ पनि सञ्चालन गर्दै आएको छ । यसमा हरेक शनिबार कविकै स्वरमा एउटा कविता संसारभर फैलिएका काव्यप्रेमीहरूले इन्टरनेटमार्फत् सुन्न सक्छन् ।

विप्लवको प्रस्तुत ‘शाडेनफ्रोएडा’ लाई पब्लिकेशन नेपालयले अडियो बुकका रूपमा पनि प्रस्तुत गर्दैछ । अर्थात्, पढ्ने पाठकहरूले विप्लवका हस्ताक्षरमै पुस्तकको रसास्वादन गरेजस्तै सुन्ने पाठकहरूले पनि कविकै स्वरमा त्यसको आनन्द लिन सक्नेछन् ।

चार सय ९५ रुपैयाँ मूल्य राखिएको यो किताबलाई नेपालयले भौतिक पुस्तक सँगसँगै ईबुकका रूपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् । यो पुस्तक मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ । 


Author

थप समाचार
x