साहित्य

कविता

प्रत्येक पाना च्यात्‍नु छ

मिलन बगाले |
असार १२, २०७८ शनिबार ६:४० बजे

हटेर हैन डटेर
दिनरात अझै खटेर
तिमीले मानेको संविधानको
प्रत्येक पाना 
एक-एक गरेर च्यात्नु छ ।

मलाई मनपरी गर्न मन पर्छ । 
मनपरी हिँड्न खोज्यो, खुट्टो अल्झिन्छ । 
मनपरी बोल्न खोज्यो, जिब्रो अल्झिन्छ । 
मनपरी लेख्‍न खोज्यो, हात अल्झिन्छ ।
तिम्रो किताबको अक्षरबाट
म कहिलेसम्म अल्झिराख्‍ने  ?
तिम्रो किताबको प्रत्येक पाना 
एक-एक गरेर च्यात्नु छ ।


संसद् मै हुँ । 
सांसद मै हुँ । 
सत्तापक्ष-प्रतिपक्ष
प्रतिनिधि सभा-राष्ट्रिय सभा
अध्यक्ष-सभामुख
सबै मै हुँ । 
छलफल मनमनै गर्दिन्छु । 
निचोड मै निकाल्छु । 
निर्णय मै गर्दिन्छु । 
हलको हल्लाखल्ला 
मलाई मन पर्दैन । 
बारम्बार भत्काएर पनि 
एक्लो संसद् चलाउन खोजिरहन्छु
मनको संसद्
एक्लै चलाउन खोज्दा
मलाई रोक्न तम्सिने
तिम्रो किताबको प्रत्येक पाना
एक-एक गरेर च्यात्नु छ । 

सरकार मै हुँ
अड्डामा बसेर ढड्डा नपल्टाउनु । 
दायाँबायाँ केही नसोच्‍नु । 
माइन्यूट बुक बोकेर 
मेरो मुख हेरिरहनु ।
म जे बोल्छु
त्यही निर्णय हो ।
तात्तातै माइन्युट गरिहाल्नु ।

लेख्‍नै नपर्ने
छाप्नै नपर्ने
कसैले पढ्नै नपर्ने
यो देशको जिउँदोजाग्दो संविधान
अब मै हुँ ।
धारा, उपधारा
ऐन, नियम, 
मापदण्ड, निर्देशिका 
सबैथोक मलाई मान्‍नु ।
छुट्टै किताब पढ्न नखोज्‍नु । 
मलाई संविधान नमान्‍ने
तिम्रो किताबको प्रत्येक पाना
एक-एक गरेर च्यात्नु छ ।


Author

थप समाचार
x