साहित्य

अन्तर्वार्ता

किताब निकालेपछि बल्ल म क्‍वेयरको रुपमा खुलेको छु

अनिष भट्टराई |
पुस १५, २०७७ बुधबार ११:१८ बजे

बिट्‍विन क्‍वीन्‍स एन्ड दि सिटीका लेखक निरन्जन कुँवर यतिबेला नेपाल लिट्रेचर फेस्टिभलका लागि पोखरा छन् । सम्भवत नेपाली साहित्यमा पहिलो पटक क्‍वेयरका बारेमा लेख्‍ने  लेखक उनै हुन् । काठमाडौंमै हुर्केका कुँवर पढ्‍न अमेरिकाको न्युयोर्क पनि गए । ७ वर्ष अगाडि नेपाल फर्किएका कुँवरले आफ्नो बाल्यकालको सपना अर्थात किताब लेखन सकेका छन् । पहिलो किताब सकाएर बजारबाट राम्रो प्रतिक्रिया पाएका कुँवरले दोस्रो किताबको तयारी सुरु गरेका छन् । उनै कुँवरसँग इकागजका गण्डकी प्रतिनिधि अनिष भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत छ दुईबीचको कुराकानी :

नेपालमा क्‍वेयर हुनुले कस्तो अर्थ राख्छ ?
यसको सिधा उत्तर नहुन सक्छ । म पढेको पनि बाहिर, बसेको पनि बाहिर भएकाले म मा पश्चिमी समाजको प्रभाव छ, यसैले म अनुसन्धान गर्दै छु । नेपालमा पनि लिखित रुपमा नआएकाले बुझ्‍न सकिएनँ । भिक्षु कश्यप , सुनिल बाबु पन्तका कुरा सुन्दा पूर्वीय दर्शन कस्तो छ भन्‍ने छनक त मिल्छ । उहाँहरुको कुरामा पश्चिमको नक्कल गर्न मिल्दैन । बरु किताब पर्काशनपछि बुझ्‍ने क्रम सुरु भएको जस्तो लाग्छ ।


भिक्षु कश्यप, सुनिल बाबु पन्तका कुरा सुनेको आधारमा बुझेको नेपाली समाज र आफैंले बुझेको न्युयोर्कको समाजमा के फरक रहेछन् त ?
मैले पश्चिमी समाज पनि पूरै बुझ्या भन्‍न मिल्दैन । ममा त्यहाँको प्रभाव बढी पर्‍यो भन्‍ने कुरा हो । यसलाई सरल रुपमा भन्दा पश्चिमा समाजमा कुराहरु जस्तै अधिकार, परिवार बढी व्यक्तिगत बनाइएको छ । इच्छा आकांक्षालाई बढी जोड दिइन्‍छ । त्यहाँ म क्‍वेयर हुँ भनेर खुल्न मिल्छ, एक्लै बस्‍न पाइन्‍छ। तर नेपाली समाजमा चाहिँ समुदाय, परिवारका कुरालाई जोड दिइन्‍छ ।

सामुदायिक रुपमा सोसाइटी हेरिएको हुन्‍छ । यहाँ त म एक्लै बसेर, प्राइड लिएर हिँड्छु भन्दा नहुने रहेछ । पूर्वीय दर्शनमा तेस्रो लिङ्गी हुनु, क्‍वेयर हुनु पहिलेबाटै आएका कुरा हुन् । यो पश्चिमबाट एक्कासी आएको कुरा होइन । पहिलेबाटै लैङ्गिक अल्पसंख्यक हुनुहुन्थ्यो, तर किन खुल्नुभएन, साहित्यमा किन ल्याउनु भएन र धर्मले के भन्‍छ भन्‍ने कुराहरु मैले बल्ल बिस्तारै बुझ्दै छु ।

तपाईं क्‍वेयरका रुपमा न्युयोर्कमै भन्दा काठमाडौंमै खुलेको भए के हुने रहेछ ?
म आफू स्वतन्त्र थिइनँ । पढ्‍नु थियो, आफ्नो करियरको बारेमा सोच्‍नुपर्ने टाइममा थिएँ । त्यसैले म परिवारमा इन्डिपेन्डेन्ट थिइनँ । न्युयोर्कमा चाहिँ बढी फ्रि हुन पाइयो । आफ्नै तरिकाले बाँच्‍न पाइयो । त्यसैले काठमाडौंमै खुल्नेबारे त सोचेकै थिइनँ ।

नेपाली समाजले पनि न्युयोर्कले झैं क्‍वेयरलाई स्वीकार गर्न के गर्नुपर्ला ?
न्युयोर्क विविधताले पूर्ण छ । बाहिरि मान्‍छे गएर बस्छन्, त्यहाँ जति फरक भयो उति राम्रो मानिन्‍छ भनौं न । त्यहाँ फरक विचारले समाज बलियो बनाउँछ भनिन्‍छ । काठमाडौंपनि विविधता भन्‍ने बुझिन्‍छ । तर मैले बुझ्दाको समयमा नेपालमा पञ्चायती शासनका कारण विविधता त्यति धेरै देखिँदैनथ्यो ।

फरक विचार भएको मान्‍छेलाई नेपाली समाजले स्वीकार्न सक्नु पर्छ । समाजमा ठाउँ दिन सक्नुपर्छ । किनकि एउटा विचार भएको मान्‍छे मात्रै राम्रो अरु नराम्रो भन्‍न लागियो भने शोसक भइन्‍छ । लोकतन्त्र पनि त हुँदैन नि अरुको विचार स्वीकार्न नसके त । जति विविधता भयो, त्यो हिसाबमा उति नै सिक्ने मौका पनि हुन्‍छ । कोही फरक छ भन्दैमा उसलाई हेला, शंका गर्नुहुँदैन । बरु उनीहरुको बारेमा उत्सुक भएर सिक्न खोजियो भने सबैलाई फाइदा हुन्‍छ ।

तपाईंको किताबमा भने अनुसार तपाईंलाई इन्टरनेटमार्फत भारतको ग्रुप हेरेर आफ्नो अस्तित्व स्वीकार्न सहज भो भनिएको छ । साँच्चै तपाइँकै बेलाका अरु क्‍वेयरहरु जोसँग बाहिरी समाजको ज्ञान थिएन, उनीहरुलाई कति सहज भो होला ?
यो एउटा संवेदनशील विषय हो । मसँग इन्टरनेट भएर अरु धेरै मजस्तासँग कुरा गर्ने मौका मिल्यो । ममा किताब पढ्‍ने बानी पनि थियो । तर अरुहरु जोसँग इन्टरनेटको एक्सेस छैन, उनीहरुका लागि के चाहिँ आउटलेट बनाउन सकिन्‍छ भन्‍नेमा फोकस हुनुपर्छ । अरुको कुरा सुन्‍ने र आफ्ना कुरा भन्‍ने प्ल्याटफर्म भएन भने एकदमै गाह्रो हुन्‍छ । आफ्नो आर्थिक हैसियतले केही फरक त पर्छ नै । तथापि कुनै दूरदराजको क्‍वेयर जो आँटिलो छ, काम गर्छ, भविष्य बनाउँदै हुन्‍छ, उसले पनि परिवारको सपोर्ट पाएमा सजिलै आफ्नो अस्तित्व स्वीकार्न सक्छ ।

तपाईंको किताब र तपाईंको भनाइ अनुसार किताब नपढ्‍ने क्‍वेयरले आफ्नो अस्तित्व स्वीकार्न गाह्रो हुन्‍छ ?
मलाई चाहिँ सहज भयो । म अलिकति पढ्‍ने कुरामा बढी फोकस हुन सक्छु । पढे मात्रै कुनै करा जानिन्‍छ भन्‍छु । पढिसकेपछि आफ्ना विचार प्रस्ट पार्न पनि सहज हुन्‍छ। तर सबैले पढ्‍नैपर्छ भन्‍ने छैन, मुभि हेरेर होला, आफ्नो हबि मानेर पनि हुन सक्छ । तर पढ्‍नै पर्छ भन्‍ने छैन तर मेरो निजी विचार राख्दा सबैले पढ्‍ने बानी बसाल्नैपर्छ भन्‍छु ।

क्‍वेयरका रुपमा खुलिसकेपछि कस्ता प्रतिक्रिया पाउनुभयो ?
मेरो साथीहरु र परिवारलाई त समाजमा खुल्नु अगाडि नै थाहा थियो । म नेपाल फर्किएर अलिअलि क्‍वेयरको विषयमा काम गरेको छु । विद्याथी, शिक्षकहरुसँग कुरा उठाइराको छु । विस्तारै क्रमिक रुपमा खुल्दै आएकाले धेरै रेस्पोन्स पाइनँ ।  किताब झिकेपछि धेरै, सबैथरि मान्‍छेहरुले पनि मेरो बारेमा थाहा पाएकाले बल्ल म बाहिर खुलें जस्तो लागेको छ । रेस्पोन्स अहिलेसम्म राम्रो छ । नेपाली साहित्यमा पनि यो नयाँ विषय जस्तो पनि भयो । आफ्नो कथा आँटिलो रुपमा भन्दा अरुलाई रोचक लागेको पनि होला ।

तपाईंको किताबमा भनिए अनुसार साथी दिनेश र सेल्टन खुलेको देखेर तपाईं पनि खुल्न चाहानुभएको रहेछ । तर बुबालाई बिरामी भएर दिल्ली लगेपछि हजुरले भन्‍ने योजना नै रोक्नुभएको रहेछ । जो लामो समयदेखि पारिवारिक समस्यामा उल्झिएको छ, उ कसरी खुल्न सक्छ ?
अस्तित्व स्वीकार गर्ने बेला केवल एउटामात्रै समस्या हुँदैन । उल्झिएका धेरै समस्या हुन्‍छन् । म काठमाडौंमा हुर्किएको क्‍वेयर र गाउँमा हुर्किएको क्‍वेयरमा सन्दर्भ र उनीहरुका समस्या नै फरक परेका हुन्‍छन । क्‍वेयर हुनुमात्र समस्या होइन, परिवारमा अझ धेरै समस्या हुन्‍छ । कोही आफ्नो पेसाका कारण खुल्न नसक्ला । आफ्नो सन्दर्भ र परिवारका इस्यु बुझेर मात्र खुल्नेबारे सोच्‍नुपर्छ ।

नेपाली समाजमा क्‍वेयरका बारेमा रहेका गलत धारणा केके छन् ?
एकदमै धेरै । सुरुमा त धेरैले क्‍वेयर भनेको के हो भन्‍ने नै बुझेका छैनन् । नेपालमा तेस्रोलिङ्गी, इन्टरसेक्स, एलजिविटिआयक्यु, क्‍वेयर सबैलाई एउटै अर्थमा बुझिन्‍छ । यो बुझ्‍नुपर्छ कि यिनीहरुको अर्थ धेरै फरक छ । अहिले इन्टरनेटमा हेर्ने हो भने सबै बुझ्‍न सकिन्‍छ, मिसइन्फरमेसन राख्‍नुभन्दा एकपटक बुझेपछि नै ठीक हुन्‍छ कि ।

तपाईंले किताब नै झिक्नुपर्ने आवश्यकता चाहिँ किन आयो ?
सबैलाई किताबको मूल्यमान्यता थाहा छ, गहिरियर लेख्‍न सकिन्‍छ । मैले किताब किन झिकें भन्दा यो मेरोमात्रै कथा होइन । आफ्नो बारेमा मात्र मेमोइर लेख्यो भन्लान् तर मैले किताबमार्फत अरु मुद्दा पनि उठाको छु जस्तै समानता । मलाई बच्चाबाट नै किताब झिक्ने मन थियो अनि आफ्नै जीवन भोगाइलाई बाहिर गएर फर्कनेलाई कस्तो हुन्‍छ भन्‍ने जोडेर किताब निकालेको हुँ । मैले किताब नेपालीमै पनि लेख्‍नु पथ्र्यो होला। तर यो आफ्नै सीपको कुरा हो । म नेपाली भन्दा अंग्रेजीमै लेख्‍न रुचाउँछु । नेपालीमै लेखेको भए धेरैले पढ्‍न पाउँथे होलान्, सायद यसको अनुवाद पो हुन्‍छ कि ।

म्यागजिनमा  लेख छाप्दा र किताब छाप्दा कस्ता प्रतिक्रिया आउने रहेछन् ?
मैले शिक्षा, कलासम्बन्धी बढी आर्टिकल लेख्छु । क्‍वेयरका बारेमा लुकेर लेख्थें । त्यसले धेरै प्रतिक्रिया आएन । अहिले आफ्नै नाम जोडेर, गहिरिएर लेख्दा बढी प्रतिक्रिया आउँछ । केहीले त इमेलहरु नै पठाइरानुभाछ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x