फिचर

कसरी मेस्सीलाई लखेटेर पुनः भित्र्याउन असफल भयो बार्सिलोना ?

इकागज |
जेठ ३१, २०८० बुधबार १३:२० बजे

काठमाडौँ- स्पेनिस आइल्यान्ड इबिजामा बिदा मनाएर सन् २०२१ को अगस्ट ४ तारिखमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी तथा उनको परिवार बार्सिलोना पुग्यो ।

बार्सिलोनाको कास्टलडेफेल्सको विद्यालयमा अर्को वर्ष पनि पढ्नका लागि मेस्सीका बच्चाहरु उत्साहित थिए, त्यससँगै मेस्सी पनि अर्को सिजन बार्सिलोनामै बिताउने भनेर ढुक्क थिए । उनका लागि त्यो बार्सिलोनामा १८ औँ वर्ष हुन्थ्यो ।


बार्सिलोनाका लागि १३ वर्षकै उमेरदेखि खेल्दै आएका मेस्सी र स्पेनिस क्लबबीच थप एक वर्षका सम्झौता गर्ने सहमति पनि भइसकेको थियो । भनौ मेस्सी बार्सिलोनामै बस्ने भनेर एक खालको अनौपचारिक सम्झौता भइसकेको इएसपीएनले उल्लेख गरेको छ ।  

तर बिदा मनाएर मेस्सी बार्सिलोना फर्किएको २४ घण्टा पनि बित्न नपाउँदै बार्सिलोनाले एक वक्तव्यमार्फत कप्तान मेस्सीले बार्सिलोनाबाट नखेल्ने जनायो ।

त्यसको तीन दिनपछि बल्ल मेस्सीले आफ्ना लागि सो निर्णय सहज नरहेको र आफू त्यसका लागि तयार नभएको बताए । मेस्सीका अनुसार उनका लागि त्यो जीवनकै सबैभन्दा दुखद क्षण थियो ।

स्पेनिस ला लिगाको ‘फाइनान्सियल फेयर प्ले’ नियमअनुसार बार्सिलोनालाई मेस्सीसँगको सम्झौता गर्न नमिल्ने अवस्था बन्यो । तर मेस्सीलाई लागेको थियो, बार्सिलोना र ला लिगाबीचको समस्या समाधान भइसक्यो ।

‘सबथोक मिलेको भन्दै मैले बार्सिलोनाबाटै खेल्छु भनेर मलाई विश्वस्त पारिएको थियो । मैले बार्सिलोनाबाटै खेल्छु भनेर पनि म विश्वस्त भएँ । मलाई कुनै शंका थिएन । हामीसँग रहने सहमति भइसकेको थियो,’ मेस्सीले भने । तर त्यसपछि भने उनी दुई वर्षका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्न पेरिस पुगे ।

उक्त निर्णयले मेस्सी तथा उनको परिवारलाई कठिन अवस्थामा पुर्‍यायो । साथै उनीहरु कम्तिमा पनि दुई वर्ष बार्सिलोना नफर्कने निश्चित जस्तै भयो ।

तर पीएसजीमा दुई सिजन खेलेपछि मेस्सी बार्सिलोना फर्किएनन्, बरु उनी अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामी पुगे । उनी मियामी पुग्नुको पछाडि बार्सिलोनाले गरेको व्यवहार नै हो भनेर मेस्सी बताउँछन् ।

‘पछिल्लो समय एकदमै नाजुक थियो । जसका कारण मैले बार्सिलोनामा फर्किने निर्णय गरिनँ,’ मेस्सीले भने ।

मेस्सीले इन्टर मियामीबाट खेल्ने बताउँदा तथा उनले दिएका अन्तर्वार्ताबाट मेस्सी बार्सिलोनामा पुनः फर्किएर दुखी हुन नचाहेको तथा बार्सिलोनामाथिको उनको विश्वास गुमेको प्रष्ट हुन्छ ।

‘म आफ्नो भविष्य अरु कसैको हातमा हेर्न चाहन्नँ । कम्तिमा पनि उनीहरुको हातमा,’ मेस्सीले भने ।

मेस्सीले पीएसजी छाड्दा दिएका अन्तर्वार्तामा उनले पीएसजी भन्दा पनि बार्सिलोना छाड्दा उनलाई लागेको दु:ख र फ्रान्समा बस्दा त्यसले पारेको प्रभावकै बारेमा धेरै कुरा गरे ।

मेस्सीले आफूहरुले बार्सिलोना कहिल्यै छाड्न नचाहेको तथा आफू पेरिस जान बाध्य भएका कारण बताउँदै मेस्सी उक्त निर्णय आफ्ना लागि निकै घिनलाग्दो रहेको समेत बताए ।

उनले पीएसजीमा आफूले दुई खराब वर्ष बिताएको तथा आफूले पीएसजीमा कहिल्यै पनि रमाउन नसकेको खुलासा पनि गरे । उनले कतारमा भएको विश्वकपका समयमा मात्र राम्रा दिनहरु बिताएको दावी समेत गरे ।

तर मेस्सीलाई भित्र्याउन पछिल्लो समय बार्सिलोनाले सक्दो प्रयास गरे पनि उनले अमेरिकी क्लब छनोट गरे ।


Author

थप समाचार
x