मनमाेहन मीमांसा

मनमाेहन मीमांसा-२

एक्लै नारा लगाउने ती मनमोहन

भैरव रिसाल |
बैशाख १३, २०७८ ११:४ बजे

हिजो अर्थात् वैशाख १२ गते आइतबार दिउँसो २:२१ बजे वरिष्ठ पत्रकार भैरव रिसाललाई उनको घरको नम्बरमा टेलिफोन सम्पर्क गरियो । फोन उनैले उठाए । भने- हजुर, म भैरव रिसाल । उनको घरमा यो पंक्तिकार जतिपटक फोन गर्छ, फोन सधैँ उनैले उठाएका छन् र सुरुमै आफ्नो परिचय पनि यसरी नै सुनाइहाल्छन् । भैरव विनम्र छन् । भैरव पत्रकारिता, लेखन र समाजसेवाका अथक योद्धा हुन् । सय वर्ष पुग्‍नै लाग्दा पनि पुराना कुराको पेटारो फुकाइरहेका छन् । उनी हातैले लेख्छन् । श्रीमती सुशीला ती लेख टाइप गरिदिन्छिन् । बूढ्यौली ऋतुले हुने होइन रहेछ !

- कस्तो छ हजुरको स्वास्थ्य ?
- म ठीक छु । भेटघाट भने पातलो छ । 
- खुसी लाग्यो बुवा । भेटघाट पातलो भन्दा पनि बन्दै गरिदिनुस् अब ।
- यो कहिलेसम्म हो बाबु महामारी ?
(जागेश्‍वर गौतम वा हृदयेश त्रिपाठी वा विश्व स्वास्थ्य संगठन कसैसँग नभएको जवाफ मसँग कसरी होस् ! मैले भनेँ- बुवा हजुरलाई केही हुँदैन । भित्रै बस्‍नुस् । भेटघाट सब छोडिदिनुस् । हुजुरलाई केही हुँदैन ।)


पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीबारे कुरा गर्न मैले उनलाई फोन गरेको थिएँ । ‘अब कति बेला फोन गरुँ ?’ भनेर सोधेको जवाफ आयो- अहिल्यै भन्छु नि, धेरै सम्झना त छैन ।

'धेरै सम्झना त छैन' भने पनि २२ मिनेट कल रेकर्ड भएछ । कुराकानीको बीचबीचमा अलिकलि प्रसंग उप्काइयो, हैन भने धाराप्रवाह बोलेका उनै हुन् । कुराकानीको बीचमा ‘बाबु कुन मिडियाबाट रे’ भनेर फेरि सोधेपछि www.ekagaj.com भन्‍नुभन्दा पहिला ‘हरिबहादुर थापा सम्पादक हुनुभएको अनलाइन’ भनेँ । इकागजको स्पेलिङसहित दुईचोटि नाम भनेँ । ‘नाम रमाइलो लाग्यो, हरिबहादुरजी अहिले अनलाइन मात्रै चलाउनुहुन्छ ?’ उनले भने, ‘ल, यो छापिएपछि भोलि फोन गर्नुस् है बाबु ।’ 

त्यसपछिका कम्युनिस्ट प्रधानमन्त्रीमा कम्युनिस्ट भन्‍न मिल्ने विशेषता धेरै देखेको छैन ।

प्रस्तुत छ, भैरव रिसालको मनमोहन सम्झना : 
म संस्कृत छात्र संघमा थिएँ । संघमा म सक्रिय भएपछि कम्युनिस्ट पार्टीले आकर्षित गर्‍यो । अनि म त्यसको समर्थकबाट सदस्य पनि बनेँ । उहाँ (मनमोहन अधिकारी) सँग २००९ सालदेखि नै मेरो चिनजान थियो । पहिलो महाधिवेशनबाट मनमोहनजी महासचिव हुनुभयो । मनमोहनको सम्झना हुँदा जहिले पनि मलाई दुई-चार वटा कुराको याद हुन्छ । म सुनाउँछु ।

उहाँलगायत तुलसीलाल अमात्य, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, पुष्पलाल श्रेष्ठहरू हामीलाई पढाउनुहुन्थ्यो । काठमाडौँका घरका बुइँगलमा कक्षा हुन्थ्यो ।

२०१० सालमै हो क्यारे । तीन दिने सम्मेलन आयोजना गरियो । त्यो म्हेपीमा भएको थियो । हामी धेरै थियौँ । ओढ्ने आफैँ ल्याउन भनिएको थियो । सुकुल त्यहीँ थियो । सिरानीका लागि दुईवटा इँटा पाइने । राति १२ बजेसम्म सम्मेलन चल्थ्यो । सुकुलमुनि इँटाको सिरानी राखेर निदाउँथ्यौँ । दिनमा एक छाक मासु पनि खान पाइन्थ्यो- झोल हालेको राँगाको मासु र उसिना चामलको भात ।

म मासुको चोक्टा खान सक्दिनथेँ, झोल भने काइदाको लाग्थ्यो । मनमोहनजी भन्‍नुहुन्थ्यो, ‘काठमाडौँमा खसीको मासु कि पैसा हुनेले खान्छ कि मूर्खले ।’ 

कम्युनिस्ट पार्टीको सदस्य भएपछि अनुशासन पालना गर्ने विषयमा कडा नियम हुन्थ्यो । २४ घण्टामा तीन घण्टा त पढ्नैपर्ने अनि पढेको विषयको रिपोर्ट गर्नैपर्ने । त्यो रिपोर्ट पछि अरूलाई पढाउन काम लाग्थ्यो । कार्यकर्ताको बुद्धि तिखार्न लगाइन्थ्यो । एउटा कम्युनिस्ट कार्यकर्ता पुँजीवादी पार्टीका दश जना समान हुन्छ भनिन्थ्यो ।

अब अर्को कुरा सुनाउँछु । यो पञ्चायतको जगजगी भएका बेलाको कुरा हो । कोट-पाइन्ट, टाईमा सजिएका मनमोहनजी नयाँसडकमा आउनेबित्तिकै एक्लै नारा लगाउन थाल्नुभयो, ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मुर्दावाद !’

मनमोहन अधिकारी पञ्चायतविरुद्ध कडा रूपमा प्रस्तुत हुनुहुन्थ्यो । पञ्चायत भने उग्र थियो । दल प्रतिबन्धित थिए । नेताहरूमा आवेग चर्को थियो । विद्यार्थी आन्दोलनले तातेको काठमाडौँमा सुरक्षाकर्मी तैनाथ थिए । चार जना पनि साथै लाग्‍न नपाइने कडा शासन थियो । कतिबेला कहाँबाट जुलुस निस्कन्छ भनेर सबैलाई चासो थियो । 

एउटा कम्युनिस्ट कार्यकर्ता पुँजीवादी पार्टीका दश जना समान हुन्छ भनिन्थ्यो ।

उहाँले ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मुर्दावाद !’ भनेर चार पटक के नारा लगाउनुभएको थियो, प्रहरीले कठालो समाइहाल्यो । झ्याइँकुटी पारेर भ्यानमा हालियो र हनुमानढोकातिर लगियो ।

अर्को घटना छ । २०३६ सालताका हो । उहाँ वीर अस्पतालतिरबाट भोटाहिटी चोकमा आउनुभयो । उसैगरी हँसिया-हथौडा अंकित झण्डा निकालेर एक्लै नारा लगाउनु भयो । प्रहरीले झण्डा खोस्यो र भ्यानमा राखेर उहाँलाई दौडाइहाल्यो । यसरी एक्लै पनि आक्रोशमा आउन सक्ने उहाँमा विद्रोहको ज्वाला कस्तो थियो, अहिले अनुमान मात्र गर्न सकिन्छ । 

एकदिन उहाँलाई असनमा बाटोमै भेटेँ । शिष्टाचारपछि मैले उहाँसँग कुरा गर्न खोजेँ । अन्तर्वार्ता लिने विचार गर्‍यो भन्‍ने उहाँलाई लागेछ । गम्भीर भएर भन्‍नुभयो, ‘हामीलाई जोगाएर राख्नुस् है । नत्र बीउ नै मासिएला !’ 

वार्ता लिएर छापेपछि उहाँ पक्राउ पर्न सक्नुहुन्थ्यो । म राष्ट्रिय समाचार समितिको प्रमुख समाचारदाता थिएँ । मैले अन्तर्वार्ता गर्न खोजेको होइन भनेपछि उहाँ सामान्य हुनुभयो । सरकारी समाचार संस्थाको पत्रकारमाथि उहाँ शंकित हुनु ठीकै थियो ।

उहाँसँग मेरो धेरै लामो संगत हुन पाएन । उहाँ एक असल राजनेता हुनुहुन्थ्यो । उहाँपछि पनि धेरै कम्युनिस्ट नेता प्रधानमन्त्री भइसक्नु भएको छ । खासमा उहाँ मात्र कम्युनिस्ट प्रधानमन्त्री हुनुभएको हो भन्‍न सकिन्छ । त्यसपछिका कम्युनिस्ट प्रधानमन्त्रीमा कम्युनिस्ट भन्‍न मिल्ने विशेषता धेरै देखेको छैन । 

उहाँलाई मेरो धेरै श्रद्धा र सम्झना छ । म त बूढो भएँ अब । यो देशमा आदर्श, अनुशासन, त्याग, सादापन किताबमा मात्र, इतिहासमा मात्र नबाँचोस्, यथार्थमा र वर्तमानमा पनि रहोस् । यत्ति छ मेरो कुरा है । 
(विमल आचार्यसँगको कुराकानी)



Author

थप समाचार
ad
x