संगीत

'दसैं धुन' जसले जाेड्यो मेची-महाकाली

फरक मालश्रीले यसरी बनायो दसैं धुनको पहिचान

सुनीता साखकर्मी |
कात्तिक ४, २०७७ ११:४० बजे

तस्बिरहरू : फोटो अफ नेपाल

संसारमा संगीतका सुर(स्वर) केबल सातवटा मात्रै छन् !

पूर्वीय शास्त्रीय संगीतमा सा, रे, ग, म, प, ध, नि, सा  र पश्चिमा संगीतमा , बी, सी, डि, इ, एफ, जि


ADVERTISEMENT

तर, यिनै सात सुरको प्रयोग गरेर संसारमा अनगिन्ती संगीत रचिएका छन् । विभिन्न रागहरु बनेका छन् । संगीतकारहरुले यिनलाई आ–आफ्नो हिसाबले प्रयोग गर्न खोज्छन् र एक–अर्काभन्दा पृथक संगीत जन्माउँछन् ।

जुन संगीत कालान्तरमा उसको वा उसको देशको पहिचानको एउटा अटुट हिस्सा बन्न पुगेका पनि छन् । यस्तै मध्येको एक हो, राग मालश्रीको धुन । 

पूर्वीय शास्त्रीय संगीतलाई आधार मानेर हेर्दा राग मालश्री निकै पहिलेदेखि नै प्रचलित राग हो । भारतलगायत विभिन्न देशमा यो राग गाइन्छ ।

राग मालश्रीको नाता नेपालसँग पनि धेरै पुरानो छ । टोलटोलमा दाफा भजनमा गुञ्जिने परम्परागत मालश्री होस्, या अचेल घरघरमा बजाइने मालश्रीका आधुनिक धुन होस्, मालश्री नगुञ्जिएसम्म दशैं आएजस्तो पनि लाग्दैन ।

कवि शशि लुमुम्बूले कवितामा भने जस्तै

खैंचेर हातमा लट्टाइको लगाम

उडाउँदै डाँडैडाँडा मायाको चंगा

डोर्‍याउँदै मलाई

बाबा

जब डुल्नुहुन्थ्यो गाउँ

पछ्याउन थाल्थे

खुशीले उफ्रिंदै शरद–फूलहरू

बज्न थाल्थे

मालश्री धुनहरू.....(कविता : ध्यानस्थ रूख र मालश्री धुन)

उपत्यकामा मात्रै नभई देशका अधिकांश भागमा मालश्री गुञ्जिन थालेका छन् । दशैंमा प्रत्येक वर्ष देवी नवदुर्गालाई आफ्नो घरघरमा डाँक्नका लागि पनि उनैको आराधना गरिएको मालश्री गीत गाइन्छ, धुन गुञ्जाइन्छ । शरद याम आएसँगै बज्न थाल्छन् मालश्री । यो नेपालको ऋतुकालीन धुन पनि हो ।

तर भारतलगायत अन्य देशमा गुञ्जिने राग मालश्री, नेपालमा गुञ्जिने राग मालश्रीको धुनभन्दा निकै फरक सुनिन्छ । संगीतकार जुगल डंगोलका अनुसार पूर्वीय शास्त्रीय संगीतमा गाइने मालश्री र हामीकहाँ गाइने मालश्री दुबै ‘काफी’ भन्ने ठाटमै गाइएको छ । तर एउटै राग र ठाटमा भए पनि यसको संरचना (कम्पोजिसन) र शैलीले यसलाई भिन्न बनाएको जुगल बताउँछन् । जसले गर्दा नेपालको मौलिक मालश्री अन्य देशको भन्दा फरक सुनिन्छ र यो नै नेपालको पहिचान पनि हो ।

कसरी फरक छ, यसको कम्पोजिसन ?

संगीतकार डंगोलका अनुसार कुनै पनि राग बन्नका लागि पाँचवटा सुर हुँनैपर्छ भन्ने मान्यता थियो पहिले । तर, मालश्री मात्रै यस्तो एउटा राग थियो, जुन ‘सा’, ‘ग’ र ‘प’ गरी जम्मा तीन सुरमा पनि उस्तादहरु मज्जाले गाइदिन्थे ।

पछि तीनवटा सुरमा मात्रै गाउन गाह्रो भयो भनेर मिठासका लागि कहिलेकाहीं प्रयोग गर्न नपर्ने सुरको हल्का छाँया देखाउन थालियो । ‘सा’, ‘ग’ र ‘प’ सुरहरु मात्रै प्रयोग हुनेमा कोमल ‘नि’ को प्रयोग हुन थाल्यो ।

जुगलका अनुसार नेपालमा गाइने मालश्रीमा पनि ‘सा’, ‘ग’ र ‘प’  बाहेक कोमल ‘ध’, शुद्द ‘नि’ र शुद्द ‘ग’ को प्रयोग भएको छ ।

‘काफी ठाटमा ‘ग’ र ‘नि’ कोमल प्रयोग हुनुपर्नेमा हाम्रोमा शुद्ध ‘नि’ लाई पनि प्रयोग गरिएको छ । एउटै रागमा ‘ग’ दुईटा, ‘ध’ दुईटा र ‘नि’ दुईटा प्रयोग भएको छ,’ जुगल भन्छन्, ‘गाउने शैलीमा पनि आरोहमा जाँदा शुद्ध ‘नि’ र अवरोहमा कोमल ‘नि’ को प्रयोग भएको देखिन्छ । कोमल ‘ग’ हुनुपर्नेमा शुद्ध ‘ग’ आरोहमा मात्रै प्रयोग भएको छ र अवरोहमा कोमल ‘ग’ को पनि प्रयोग भएको छ । यसको कम्पोजिसन यस्तो विशिष्ट तरिकाले गरिएको छ कि त्यही मालश्रीको काफी ठाटमै भएपनि आफ्नै शैलीमा गरिएको छ । रचनात्मक हिसाबले हेर्ने हो भने निकै उत्कृष्ट छ ।’ 

यसको आधारमा हेर्दा पूर्वीय शास्त्रीय संगीतभन्दा प्रयोगका हिसाबले नलाग्ने सुरहरु पनि नेपालमा गाइने मालश्रीमा सुमधुर तरिकाले प्रयोग भएका छन् ।

मालश्री सुन्दै गर्दा जुगललाई कहिलेकाहीँ लाग्छ, सयौँ वर्षपहिले जसले यसको रचना ग¥यो, त्यो शास्त्रीय संगीतमा अति नै पोख्त हुनुपर्छ । जुगल भन्छन्, ‘किनभने रागको शुद्धतालाई नहराईकन प्रयोग नहुने सुरलाई पनि प्रयोग गर्न हत्तपत्त सक्दैनन् । संयोजन मिलेन भने अर्कै रागजस्तो सुनिन जान्छ । फरक सुनिए पनि मालश्री राग र काफी ठाटको शुद्धता हाम्रो मालश्रीमा हराएको छैन ।’ 

ठाउँ अनुसार दाफामा यो मालश्री गाउँदा यसमा गरिने तालको प्रयोग पनि ठाउँ अनुसार फरक फरक भएको जुगल सुनाउँछन् । कसैले सात मात्रामा त कसैले चार मात्रामा गाइदिन्छन् ।

परम्परागत रुपमा खिं बाजा, टच्छ्या, भुच्छ्या, पोंगा, धिमेलगायत बाजाहरुमा मालश्री बजाइन्थ्यो । तर अहिले हार्माेनियम, सितारको प्रयोग गरेर बजाइएको सुनिन्छ ।

मालश्रीमा शक्तिको आराधना

अहिले मालश्रीको धुन कुनै जाति, समुदाय र क्षेत्रमा मात्रै सीमित छैन । उपत्यकाका साथै जुम्लादेखि पाल्पाको तानसेनमा मालश्री धुन गाउने बजाउने गरिन्छ । नेवार मात्रै नभई गन्धर्व लगायत अन्य जातिले यो धुनलाई दशैंको धुनको रुपमा स्वीकार गर्दै गइरहेका छन् ।

मालश्री गाउने यो परम्परा भने लिच्छवी कालदेखि नै चलिआएको हुन सक्ने संस्कृतिविद् ओम धौभडेल बताउँछन् । त्यस्तै काठमाडौं, भक्तपुर, पाटनमा देवीहरुको स्तुति गरेपछि देवीको शक्ति अझ बढ्छ र असत्यमाथि विजय प्राप्त गर्न सक्छ भन्ने धारणाका साथ प्रत्येक वर्ष येँया पुन्हीपछि दशैं अर्थात् मोहनी अगाडि मालश्री धुन बजाउँछ । मालश्री लगत्तै धनाश्री भनेर धनकी देवी लक्ष्मीको आराधना गरिन्छ । दशैंको कोजाग्रत पूर्णिमादेखि १६ दिन अर्थात् लक्ष्मी पूजासम्म हरेक दिन धनाश्री गीत गाइन्छ । र, त्यसबाट धन प्राप्त हुन्छ भन्ने मान्यता रहेको संस्कृतिविद् ओमले बताए ।

त्यस्तै समुदायपिच्छे मालश्री रागमा गाइने गीतका शब्द वा बोलहरु पनि फरक–फरक छन् । पाटनका श्रीजन महर्जनले यस्तै गीतहरु संकलन गरी पुस्तक ‘भजन म्ये मुना सफु’ समेत प्रकाशन गरेका छन् । जसमा राग मालश्रीमा गाइने गरिएका गीतहरु लेखिएका छन् । जसमा दुर्गाको बारेमा वर्णन गरिएको पाइन्छ ।

दुर्गा देवी, महामाया, खड्ग खप्परधरे,

शुमति शुभके, तालका पतिधरे, देवी गण तारे ।।

सिंहिनी व्याघ्रिनी, श्री बज्र योगिनी,

विजयानन्दन गावे ।।’

त्यस्तै पुस्तकको ३२० पृष्ठमा अष्टमातृकाको गुणगान गाइएको छ । मालश्री रागमा गाइने गीतमा प्राय नवदुर्गाको शक्तिको आराधना वा वर्णन गरिने यस गीतबाट पनि देख्न सकिन्छ ।

अष्ट मातृका ब्रम्हायणी देवी, महेश्वरी इन्द्रायणी ।।

बृष बाहिनी २ वैष्णवी कुमारी, बाराही चामुण्डा आरति ।। श्री

नेवार समुदायमा दशैंको बेलामा नवदुर्गालाई मात्रै पूजा गरिंदैन । नवदुर्गासँगै भैरव, गणेश र कुमारलाई पनि पूजा गरिन्छ । यसैको अर्काे अंशमा यसको उल्लेख भएको छ ।

नवदुर्गा भवानी भगवती, भैरव मातृका गणेश कुमार ।।

श्री महालक्ष्मी २ आदिन खड्ग ज्वस्य, रसन प्याखंन हुयाव रे ।। २ ।। श्री

मालश्रीले इतिहास बोल्छ

संगीतकार जुगलका अनुसार कुनै पनि गीतले इतिहास बोल्छ । केवल गीत हुँदैन त्यो, त्यसभित्र त्यसबेलाको समाज लुकेको हुन्छ ।

जुगल भन्छन्, ‘त्यो गीतमा प्रयोग भाषा शैलीले पनि त्यो बेलाको साहित्य कस्तो थियो भनेर थाहा हुन्छ । म्युजिकको कम्पोजिसले त्यो बेलाको संगीत कस्तो थियो थाहा हुन्छ । मालश्रीको कम्पोजिसन हेर्दा एकदम उत्कृष्ट छ । प्रयोग गर्न नहुने चिज तर अति सुन्दर तरिकाले प्रयोग भएका सुरहरु छन् नि त्यहाँ । त्यो बेलाको स्ट्याण्डर्ड कस्तो थियो भन्ने थाहा हुन्छ, यो एउटा गीत सुनेर । गीतमा समाज त एकदमै देखिन्छ ।’ 

हुन पनि हो, रणबहादुर शाहको बेलामा बिफर रोग लाग्दा कति यातना भएको थियो भनेर इतिहास कमै पढ्न पाइन्छ । तर एउटा ‘सितला माजु’को गीतले त्यतिबेलाको समाज देखाइदिएको छ ।

देख्न सक्नेहरुलाई गीतसंगीत समाजको ऐना जस्तो हो, जसले पहिलेका कुराहरु अहिले प्रष्ट देखाइदिन्छ । शासन सत्ता फेरिएसँगै समाज कसरी फेरिँदै जान्छ भनेर देख्न सकिन्छ । जुन मालश्रीका गीतहरुलाई नियाल्दा देखिन्छ ।

मालश्री रागमा गाइने नृपति रसनको गीतमा तत्कालिन यल देश अर्थात् (पाटन राज्य) को वर्णन गरिएको छ ।

नेपालया दथुस, श्री शंखमूल सिथ, नगर दथु चक्र लाक रे ।।

राजद्वार लुँया, जवस नृसिंह, खवस गणपति, लाक यल देश ।।

तलेजु देगुतले, द्वी मांजु भगवती, कृष्णजु दर्शन याये रे।।

न्ह्येवनेस भीमसेन, ध्वजस हनुमान, खनाव रिपु दको, ग्याक रे ।।

श्रीजन महर्जनको ‘भजन म्ये मुना सफु’ पुस्तकको २४१ पेजमा रहेको गीतले त्यसबेलाको नेपालको बीचमा, शंखमूलको सँगै पाटन देशमा रहेको जानकारी दिन्छ । त्यस्तै पाटन देशमा राजढोका सुनको भएकोलगायत तलेजु, भगवती, कृष्णको दर्शन गर्ने अगाडि नै रहेको उल्लेख गर्छ । त्यस्तै सहरमा भएको भीमसेन, हनुमान देखेर सबै तर्सिने पनि उल्लेख गरिएको छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेसँगै काठमाडौंको हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट फूलपाती ल्याउने प्रचलन सुरु भयो । घटस्थापनादेखि नै मालश्री धुन यहाँ पनि गुञ्जिन्छ । र, सँगै मालश्री धुनमा गाइने गीतमा पृथ्वी नारायण शाहको नाम पनि मिसिन आइपुगेको देखिन्छ ।

श्रीजनको पुस्तकको २३१ पेजमा रहेको रुद्रायणी देवीको स्तुति गर्दै गाइने गीतको अंशबाट पनि यो प्रष्ट हुन्छ ।

गीतमा भनिएको छ –

छलपोलया चरणस, चोना जि आशास, याहुन्य जिपनि उध्दार ।।

श्री जय रूप वीर श्री पृग्वी नारायण, झीसेंन दर्शन याये ।। २ ।। जय

जुन गीतको अर्थ हुन्छ – तपाईंको चरणमा बसेका छौँ, हाम्रो पनि उद्धार गरिदिनुहोस् । पृथ्वी नारायणको वीर रुप छ । आउनुस् न दर्शन गर्छौँ ।’

संस्कृतिविद् ओम धौभडेलका अनुसार पहिले राजपरिवारलाई गीतहरु चढाउने वा राजाको नाममा गीत बनाइदिन आग्रहहरु आउने गर्थे । त्यसैको परिणामस्वरुप गीत परिवर्तन हुँदै गएको हुन सक्ने उनी बताउँछन् ।

उपत्यकामा दाफा खलः मा एकै समयमा पनि फरक–फरक गीत गाइएको भेटिन्छ । एकै समय काठमाडौंमा दक्षिणकालीको गीत गाएको हुनसक्छ भने भक्तपुरमा ब्रम्हायणीको गीत गाएको हुनसक्छ । तर बजाउने धुन वा राग मालश्री नै हो ।

पहिलेको नेपाल भाषाका गीतका भाषामा पनि संस्कृत, मैथिली, उर्दू, पाली, फारसी, नेपाल भाषाका शब्दहरु भेटिन्छन् । यसले त्यसबेलाको सांस्कृतिक आदान–प्रदानको जानकारी दिने संगीतकार जुगल बताउँछन् ।

 बिग्रँदो शुद्धता

शरदयामसँगै उपत्यका गायत देशका विभिन्न ठाउँमा नेवार समुदायले दाफामा मालश्री गाउने तथा बजाउने गर्छन् । अन्य मौसममा पनि दाफामा गीतहरु गाउने र बजाउने गरिन्छ । यो गीत र कला मौखिक रुपमा मात्रै सिकाउने चलन छ । लिखित रुपमा छैन । त्यसैले समयानुसार गीतहरु अपभ्रंश हुँदै रागको शुद्धता पनि बिग्रँदै गएको संगीतकार जुगल डंगोल बताउँछन् ।

उनी भन्छन्, ‘अहिले दाफामा गीत लिखित छ, तर स्वरलिपी छैन । त्यसकारण मानिसलाई जस्तो सजिलो लाग्छ, त्यसरी नै गाउँदै गएका छन् । त्यसैले एउटै दाफाको गीत पनि टोलअनुसार फरक हुँदै गयो । हुँदाहुँदा त्यसको स्वरुप परिवर्तन हुँदै गएको छ । अहिले पनि उहाँहरु यो काफी ठाटमा है भनेर गाउनुहुन्छ, यो चाहिँ केदार ठाटमा है भनेर गाउनुहुन्छ । झलक आउँछ तर शास्त्रीयकै सुरभन्दा बाहिर गइसक्यो त्यो । अहिले गीत गाएको जस्तो गाउन थाल्यो, राग भनेर गाएनन् मानिसहरुले । त्यसैले बिग्रँदै गएको हो ।’ 

पहिले जनमानसले गाउँथे राग । नयाँ शैली शिल्प जनमानसले बनाउँथे । तर जब मानिसलाई बाँच्नका लागि संघर्ष गर्नुपर्छ, तब कला र सिर्जनाका कुराहरु गौण हुन्छ । बेलाबेलामा हुने राजनीतिक, प्राकृतिक उथलपुथलले कला र सिर्जना मार्दै लगेको हुन सक्ने संगीतकार जुगल अनुमान लगाउँछन् ।

‘पहिले प्रयोग हुन्थे, सम्हालेर राखिन्थ्यो । बिस्तारै प्रयोग हुन छोडे, महत्व नै थाहा भएन,’ संगीतकार जुगल भन्छन्, ‘त्यो बेलाको संगीत सुन्दा हाम्रो कलाको विकास उत्कृष्ट चरणमा पुगेर विस्तारै विभिन्न कारणले हामी तल झर्दै गएर हराएर गएको भान हुन्छ ।’

धेरैले नेवारी संगीतलाई लोक संगीतको रुपमा परिभाषित गर्छ । तर संगीतकार जुगल यसलाई लोक संगीत नभई नेपाली शास्त्रीय संगीत मान्नुपर्ने बताउँछन् । किताब नै लेख्ने मानिसले पनि यसबारे अध्ययन नगरेको कारणले यसबारे धेरैले नबुझेको उनले बताए । भन्छन्, ‘नेवारहरुले रागमा गाउँछन्, बजाउँछन् तर अरु झ्याउरे गीतजस्तो लोकगीतमा राखिदियो यसलाई पनि । तर त्यस्तो बिल्कुल होइन । किनभने, रचनाहरु, तालको कम्पोजिसन हेर्दा त्यो अति नै शास्त्रीय संगीतको आधारबाट गरिएका छन् । लेख्नेहरुले नबुझीकन लेखिदिए, हामीले त्यहाँभित्र के के छ भनेर खोज्दै खोजेनौँ ।’

कला जीवनसँग जोडिनुपर्छ

दुःख कसैलाई मन पर्दैन । दुःखका कुरा पनि कसैलाई सुन्न मन लाग्दैन । तर कुनै दुःखका गीत बज्यो भने मानिसलाई त्यही गीत राम्रो लाग्छ । किन त ?

कलात्मक तरिकाले जब कुनै कुरा अभिव्यक्त गर्छ, विकृत चिज पनि सुन्दर लाग्न थाल्छ । त्यसैले भनिन्छ, अभिव्यक्त गर्ने कला राम्रो हुनुपर्छ र कलामा संयोजन सही हुनुपर्छ, संसारमा नराम्रो केही पनि छैन । 

त्यस्तै कला जीवनसँग जोडिनुपर्छ, नजोडिए अर्थहीन लाग्छ । जीवनसँग नजिक छ भने राम्रो लाग्छ । संगीतकार जुगल पनि गीत संगीतमा मानिसले आफुलाई देख्न सक्नुपर्ने खालको हुनुपर्ने बताउँछन् । भन्छन्, ‘गीत र संगीतमा पात्र देखिनुपर्छ । पात्र देखिनु भनेको त्यो मैले पनि गुन्गुनाउन सक्नु हो । शास्त्रीय संगीत हराउनुको कारण पनि यही हो । रोचकता दिन सकेन सामान्य मानिसको लागि । अहिलेको पीर व्यथा बोल्दै बोल्दैन त्यो गीतले । त्यसैले समयअनुसार यसलाई परिमार्जन गर्दै लानुपर्छ ।’

त्यस्तै नेपालमा अझै पनि संगीतलाई जातियताको घेराभित्र राखेर हेरिन्छ । यो नेवारले सिक्ने, नेवारले गाउने, यो तामाङको, यो थारुको भनेर हेरिन्छ । तर नेपालमा गाइने, बजाइने सबै संगीतलाई नेपाली संगीतको रुपमा पढाउने र सिकाउने गर्नुपर्छ । यसले गर्दा यो संगीतले फैलिने मौका पाउँछ । संगीतकार जुगलका अनुसार पहिले देखि नै जातिय रुपमा आयो र एक हिसाबले हेर्दा, त्यसले पनि यो संगीतहरु बचिरहेको थियो । तर जातकै कारणले संगीतलाई हेप्न थाल्यो । अनि गर्दै आएकाले पनि छोडे । जब हेपेको अनुभूति हुन्छ, अरु व्यवसायमा लाग्न थाले मानिसहरु ।

अहिले नेपालमा सांस्कृतिक जागरण आएको छ । सम्पदा, संस्कृति, कला जोगाउन उद्धत छन् मानिसहरु । अहिले युवामा सिक्ने चाहना पनि छ । कला भनेको पनि देखाउनको लागि हो, पुरानो देखायो भने नयाँ पुस्ताले त्यसमा अरु कुरा थपेर नयाँ बनाउँछ, अनि त्यो विकास हुँदै जान्छ । यो समयमा अलिकति सिकाउने, ठाउँ दिने गरियो भने यस प्रकारका कला, संस्कृत र संगीत जीवन्त रहने जुगल बताउँछन् । उनी भन्छन्, ‘मालश्री त एउटा अंश मात्रै हो, त्योभन्दा अथाह त अरु छन् । त्यसैले परम्परागत कुरालाई व्यवसायिक कलाकारितासँग जोडेर लैजान युवालाई प्रोत्साहन गर्नुपर्छ । अनि मात्रै नेपाली संगीत अगाडि बढ्छ ।’

(केही दिनअघि प्रकाशित यो सामग्रीको विजयादशमीका सन्दर्भमा हेडलाइन परिवर्तन गरिएको छ)



Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार