प्रमुख समाचार

अक्सिजनको अभावमा बिरामीको मृत्युपछि रुपन्देहीमा तनाव

विराटनगरबाट एअरलिफ्टमार्फत अक्सिजन ल्याइँदै

विक्रम खड्का |
बैशाख २९, २०७८ बुधबार १९:३९ बजे

बुटवल : अस्पतालमा उपचार्थ बिरामी अक्सिजनको अभावमा मृत्यु भएपछि रुपन्देहीमा तनाव श्रृजना भएको छ । बुधबारमात्रै बुटवल र भैरहवाका अस्पतालका ९ संक्रमितको अक्सिजन सप्लाई रोकिएर मृत्यु भएको छ । जिल्लाका अक्सिजन उधोगले माग थेग्‍न नसकेपछि पछिल्लो चार दिनदेखि रुपन्देहीमा अक्सिजनको हाहाकार मच्चिएको छ । 

बिरामी र उनका अफन्तको अस्पतालमा रुवाबासी छ । बुटवलको धागो कारखानामा रहेको कोभिड विशेष अस्पतालमा दिउँसो ५ जना संक्रमितको अक्सिजन अभावमा मृत्यु भयो भने भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा गरि ४ जनाको अक्सिजनकै अभावमा मृत्यु भएको हो ।
 
कोभिड अस्पतालका डा. नन्दु पाठक उपाय सबै असफल भएक‍ो भन्दै मिडियाक्रमीसँग बुधबार रोए । उनले कसैले संवेदशीलता नबुझेको बताए । 


यसैबीच नेपाली सेनाको हेलिकप्टरमा अहिले अक्सिजन सिलिण्डर विराटनगरबाट रुपन्देही ल्याइदै छ । अक्सिजन अभाव नभएको पूर्वीजिल्लाका अक्सिजन प्लाण्टहरूबाट भरिएको सिलिण्डरसहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आइपुगेको छ । 

सैनिक हेलिकप्टरमा आएको अक्सिजन सिलिण्डरलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा केन्द्रित गरिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जानकारी दिए । 

बुटवल उपमहानगरपालिकाको  पहलमा खाली सिलिन्डर बिराटनगर पठाउनेगरी त्यहाँबाट अक्सिजन भरिएका ४० थान सिलिन्डर अहिले  एअरलिफ्ट मार्फत भैरहवा ल्याइएको हो । त्यसका लागि नगरपालिकाका  प्रमुख शिवराज सुवेदी अक्सिजन सिलिन्डर लिन भैरहवा विमानस्थल पुगेका छन् । खाली सिलिन्डर रिफिलका लागि फेरि विराटनगर पठाउने तयारी छ ।

विराटनगरवाट भैरहवा आइपुगेको अक्सिजनसहितको सेनाको जहाज ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x