प्रमुख समाचार

संक्रमित बढेपछि जनकपुरमा ठाउँ-ठाउँमा होल्डिङ सेन्टर

सुभाष कर्ण |
जेठ १, २०७८ शनिबार १६:४० बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमितको संख्या दिनानुदिन बढदै गएपछि धनुषाको शहरी क्षेत्रमा निषेधाज्ञामा कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रदेश-२ को अस्थायी मुकामसमेत रहेको जनकपुरधाम क्षेत्रको नगर प्रवेशद्वार र नगरभित्र होल्डिङ सेन्टर र ब्लकेज एरिया निधारण गरी आवागन बन्द गरेको छ ।

जनकपुरधाम क्षेत्रको प्रमुख प्रवेशद्वारमा नगर बाहिर ८ र नगरभित्र ७ ठाउँमा होल्डिङ सेन्टर राखिएको छ । अनावश्यक रूपमा हिलडुल गर्ने र सवारी साधन चलाउनेलाई कारबाही स्वरूप दुई घण्टासम्म होल्डिङ राख्‍ने गरिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।


त्यसैगरी पुनः निषेधाज्ञाको समयावधि थपिएपछि बिहीबारदेखि अनावश्यक आवागमन रोक्न सेक्युरिटी घेरा हाली ब्लकेज एरिया कायम गरिएको छ । नगरको बाहिर  ७ र नगरभित्र ५ ठाउँमा गरी १२ ठाउँमा ब्लकेज एरिया कायम गरिएको एसपी रानाभाटले बताए । 'पहिलो पटक जारी गरिएको निषेधाज्ञादेखि अनावश्यक आवागमन रोक्न होल्डिङ सेन्टर कायम गर्‍यौं । तर त्यसलाई छल्दै विभिन्‍न बहानामा आवागमन जारी नै रहेको कारण  खासै प्रभाव पर्न नसकेपछि दोश्रो पटक थपिएको निषेधाज्ञाका दिनदेखि ब्लकेज एरिया कायम गरेका छौं ।'

उनका अनुसार जनकपुरधाम प्रवेशद्वार मुजेलिया, कपिलेश्वर, बेला, कुआ बजार, माछा बजार, पुल्चोक, आँखा अस्पताललगायतका क्षेत्रमा नगर बाहिर र विद्यापति चोक, भानु चोक, रामानन्द चोक, पिराडी चोकसहितका नगरभित्र ब्लकेज एरिया कायम गरिएको छ ।

ब्लक गरिएका क्षेत्रभित्रबाट बाहिर र बाहिरबाट भित्र सवारी साधन आवागमन गर्न सक्दैनन् । घेरा हालिएका क्षेत्रमा एम्बुलेन्स, खाद्यान्‍न, स्वास्थ्य सामाग्री बोक्ने गाडीलगायतका अत्यावश्यक सवारी मात्र प्रवेश गर्न पाउने वा बाहिर जान सक्ने व्यवस्था गरिएको छ । अत्यावश्यक सेवाका गाडी आएपछि सुरक्षाकर्मीले ती घेरा हटाउने गरेका छन् । 

निषेधाज्ञा अवधिमा बिहान ६ देखि ९ बजेसम्म खाद्यान्‍नलगायत अत्यावश्यक वस्तुको पसल खोल्न छुट दिइएको छ । ९ बजेपछि आवागमन रोक्न नगरको प्रवेशद्वार र भित्र बजार क्षेत्रमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ भने नेपाल र सशस्त्र प्रहरीले २४ औं घण्टा गस्ती गर्दै आएको एसपी रानाभाटले बताए ।

संक्रमित हुनेको दर निरन्तर बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते राति बजेदेखि जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको छ । पहिलो चरणको निषेधाज्ञा अवधिमा अनावश्यक हिलडुल गर्ने ३ हजारभन्दा बढीलाई नियन्त्रणमा लिइ होल्डिङ सेन्टरमा राखि कारबाही गरिएको छ भने करीब २ हजार सवारी नियन्त्रणमा लिइएको बताइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x